- पानी नपरेको र सिँचाइको अभावले हुम्ला र मुगु जिल्लामा खेतीपाती गर्न सकिएको छैन।
- स्थानीयले कर्णाली नदीको पानी प्रयोग गर्न सकेका छैनन्, जसले गर्दा खडेरीको समस्या झेल्नुपरेको छ।
- कर्णाली नदीबाट सिँचाइको व्यवस्था माग गर्दा पनि सुनुवाइ नभएको स्थानीयको गुनासो छ।
हुम्ला – मुगु जिल्लाको गुल्मा र हुम्ला जिल्लाको मकैमा खेतीपाती हुन सकेको छैन। पानी नपरेको र सिँचाइ सुविधा नभएका कारण दुई जिल्लाको सिमानासमेत रहेको ती क्षेत्रमा देखिने तर उपभोग गर्न नसकिने भएपछि कर्णाली नदीको पानी आकाशको फलजस्तै भएको हो।
अदानचुली गाउँपालिका– २ को मकै गाउँका संगीता बुढाले बगेको कर्णाली नदी हेर्नुपर्नेबाहेक आफूहरूसँग अन्य विकल्प नभएको र आकाशे पानी नपरेका कारण हालसम्म खेतीपाती गर्न नसकिएको गुनासो गरिन्।
नदी बगेको बग्यै देखिन्छ तर त्यही नदी किनारको आफ्नो जग्गा पानीको अभावमा खेती गर्न नसकिएको उनले बताइन्।
पानी नपरेकै कारण मकैको सत्तरी हल जग्गामा खेती गर्न सकेको छैन। अन्य सिँचाइ गर्ने पानी नभएको र कर्णाली नदीको पानीलाई प्रयोगमा ल्याउन नसकिएको कारण मकै गाउँका स्थानीयले बेलाबेला यस्तै खडेरीको समस्या भोग्नुपरिरहेको गुनासो स्थानीयको छ।
उता, यो समस्या हुम्ला जिल्लाको मात्र नभएर सोही क्षेत्रको छिमेकी मुगु जिल्लाको सोरु गाउँपालिका– ३ को गुल्माको पनि उस्तै छ।
सो गाउँका स्थानीय शिव परियारले बगेको कर्णाली नदी बग्यै छ तर त्यसलाई हालसम्म प्रयोगमा ल्याउन नसकिएको फल यस वर्ष भोग्नुपरिरहेको बताए।
सो गाउँको पनि ९० हल गज्जामा पानीकै अभावको कारण खेती गर्न सकिएको छैन। पानी नपरेको र सिँचाइसमेत नभएको कारण किसानले समस्या भोगिरहेको गुनासो स्थानीयको छ।
धेरै निकायसंग कर्णाली नदीको पानीबाट सिँचाइको ब्यवस्थाका लागि माग गरिएको भए पनि हालसम्म कतैबाट सुनुवाइ हुन सकेको छैन।
बीचमा कर्णाली नदी अविरल रुपमा बगिरहेको भए पनि हुम्ला र मुगुका दुई वटा वस्तीको खेतीयोग्य जमिनका लागि पुर्खौदेखि प्रयोगमा ल्याउन नसकिएको प्रतिफल स्थानीय भोग्नुपरिरहेको छ। ती दुई गाउँका लागि कर्णाली नदीको पानी आकाशको फलजस्तै भएको छ।
भर्खरै
लोकप्रिय
