मोरङ – मध्यपूर्वमा जारी रहेको युद्धका कारण नेपालमा उत्पादन हुँदै आएका सलाइनजन्य औषधिको उद्योगमा प्रभाव परेको छ।
मोरङको बुढीगंगा गाँउपालिकास्थित एलेक्सा लाइफ साइन्सेस पनि जारी युद्धबाट प्रभावित भएको छ। सलाइन उद्योग एलेक्साका निर्देशक दिनेश ठाकुरका अनुसार बढ्दो युद्धका कारण कच्चा पदार्थको मूल्यमा भारी वृद्धि भएको छ।
निर्देशक ठाकुरले सरकारको पुरानो मूल्य नीतिका कारण मुलुकमा रहेका तीन वटा यही प्रकारका उद्योग संकटमा पर्दै गएको बताए। औषधिजन्य सलाइनको उत्पादन गर्दै आएका तीन वटा उद्योग नै हाल विभिन्न समस्याका कारण लागत मूल्यभन्दा सस्तो मूल्यमा बिक्री वितरण गर्नुपर्ने अवस्थामा रहेको उनले बताए।
उनका अनुसार औषधि व्यवस्था विभागले २०६४ सालमा ९६ प्रकारका औषधिको मूल्य निर्धारण गरेको थियो। सोही सूचीमा पाँच सय एमएलको सामान्य सलाइनको मूल्य ४५ रुपैयाँ तोकिएको थियो। उनका अनुसार सो समयको मूल्य नै हाल १८ वर्षपछि पनि कायम रहेको छ।
उनले भने, ‘एउटा सामान्य सलाइन उत्पादन गर्न ३५ रुपैयाँ जति खर्च लाग्ने गर्थ्यो। त्यसलाई बजारमा ४५ रुपैयाँमा बिक्री गर्दासमेत उद्योग चलाउन सकिन्थ्यो। तर, अब भने उत्पादन लागत नै बढेर प्रतिबोतल ५० रुपैयाँ बढी भइसकेको छ। यो अवस्थामा कसरी उद्योग चलाउन सकिन्छ?’
यसबीच विदेशबाट आयात गर्नुपर्ने कच्चा पदार्थको मूल्य वृद्धि हुँदा उत्पादनमा असर पर्दै गएको उनको भनाइ छ। सलाइनजन्य उत्पादनका कच्चा पदार्थ दक्षिण कोरियाबाट आयात हुँदै आएकोमा हाल रोकिएपछि भारतबाट कच्चा पदार्थ ल्याउन खोज्दा नेपालको व्यापार नीतिका कारण समस्या भएको निर्देशक ठाकुरले बताए।
अर्कोतर्फ औषधि व्यवस्था विभागका सूचना अधिकारी किरण सुन्दर बज्राचार्यले भने केही समययता विश्वबजारमा बढ्दै गएको तनावले औषधि र कच्चा पदार्थ आयातमा समस्या देखिएको हो।
भर्खरै
लोकप्रिय
