कवि, समालोचक तथा जीवनीकार पण्डित कविराज नरनाथ आचार्य

कवि, समालोचक तथा जीवनीकार पण्डित कविराज नरनाथ आचार्य
+
-
देशसञ्चार AI सारांश
  • पण्डित कविराज नरनाथ शर्मा आचार्यको जीवनमा पिताजीको देहत्याग हुँदा मात्र १० महिनाको हुनुहुँदा उहाँ पितृस्नेहबाट पूर्णतया वञ्चित हुनुभयो।
  • उहाँले व्याकरण, ज्योतिष, आयुर्वेद र अन्य विधामा अध्ययन गरी समाजमा विद्वान्, शिक्षक र कुशल चिकित्सकका रूपमा परिचय बनाउनुभयो।
  • उहाँले आदिकवि भानुभक्त आचार्यको सच्चा जीवनचरित्र लेखेर उहाँको योगदानलाई व्यापक रूपमा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्नुभयो।

विषयप्रवेश

नेपाली साहित्यका इतिहासमा विशेषतः आदिकवि भानुभक्त आचार्यको जीवनीका लेखकका रूपमा प्रसिद्ध पण्डित कविराज नरनाथ शर्मा आचार्यका जीवनी, व्यक्तित्व र कृतित्वका विषयमा उहाँको १२१ औँ जन्मजयन्तीका अवसरमा यस लेखमा सङ्क्षिप्त चर्चा गर्न खोजिएको छ।

जन्म

विभिन्न काव्य-कविताका र आदिकवि भानुभक्त आचार्यको सच्चा जीवनचरित्रका रचयिता तथा समालोचक हाम्रा पूज्य पितामह सुगृहीतनामा पण्डित कविराज नरनाथ शर्मा उपाध्याय आचार्यको जन्म सौरमानअनुसार आजभन्दा ठिक १२० वर्षअघि आजकै दिनमा (विक्रमसंवत्‌का १९६२।१२।१९ मितिमा) कौण्डिन्न्यगोत्र तथा वासिष्ठ-मैत्रावरुण-कौण्डिन्न्य यी त्रिप्रवरले युक्त उच्च ब्राह्मणकुलमा भएको रहेछ। आदिकवि भानुभक्त आचार्यका पितामह श्रीकृष्ण आचार्यका धनञ्जय, काशिनाथ, पद्मनाभ, तुलसीराम, गङ्गादत्त र इन्द्रविलास ६ भाइ छोराहरूमध्ये साइँला छोरा पद्मनाभ अथवा शेखरका (आनुमानिक वि.सं.१८४५–१९१५) वंशमा पिता लोकनाथ उपाध्याय आचार्य (वि.सं.१९२७–१९६३) र माता यशोदादेवी खनाल आचार्यानी (वि.सं.१९२९–१९८५) का कनिष्ठ पुत्रका रूपमा नेपालको गण्डकी प्रदेशअन्तर्गत पर्ने तनहुँ जिल्लाको चुँदी तामाकोट गाउँमा उहाँको जन्म भएको देखिन्छ। आदिकवि भानुभक्तका कारणले श्रीकृष्ण आचार्यको कुल नेपालीहरूका माझमा सुविख्यात छ। भानुभक्तले आफ्नो परिचय कवितामा दिँदा आफ्ना पितामह (बाजे) को विद्वत्ता र उच्च कुलको विशेष रूपले उल्लेख गरेको पाइन्छ

               पाहाड्को अति बेस देश् तनहुँमा श्रीकृष्ण ब्राह्मण् थिया,
               खुप् उच्चाकुल आर्यवंशि हुन गै सत्कर्ममा मन्दिया।
               विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया,
               तिन्को नाति भानुभक्त भनि हूँ  यो जानि चिह्नीलिया।।

भानुभक्तका यसै पद्य (कविता) बाट श्रीकृष्णको विद्याको र सदाचारको परिचय पनि प्राप्त हुन्छ। श्रीकृष्णका सन्ततिहरूमा पछिपछिसम्म पनि विद्वत्ता र सदाचार वंशानुगत रूपमा आइरहेको देखिन्छ।

पिताजीको देहत्याग

१९६२ संवत्‌को धानबाली थन्क्याई जागिर खान जानुभएका उहाँका पिताजी लोकनाथ आचार्य (जन्म १९२७) लाई १९६३ संवत्‌को माघकृष्ण औँसीमा (माघेसङ्क्रान्तिका दिन परेको सोमवारे औँसीका दिन) पर्ने सूर्यग्रहण नुहाउन भनी आफूले जागिर खाएको ठाउँ ताप्लेजुङ (अमिनी) बाट वाराणसी (काशी) जाँदा सूर्यग्रहण नुहाइसकेपछि पञ्चक्रोशीयात्रा गर्दा त्यहीँ विसूचिकाले (हैजाले) पक्रिएछ र त्यसैका कारणले माघशुक्ल सप्तमीका दिन (१९६३।१०।७ मा) उहाँको देहत्याग भएछ । त्यसैले उहाँले आफ्ना पिताजीको मुखसम्म पनि देख्न पाउनुभएको रहेनछ। यसरी उहाँ १० महिनाको मात्र हुँदा काशीमा पिताजीको देहत्याग भएकाले उहाँ पितृस्नेहले पूर्णतया वञ्चित हुनुभएको रहेछ।

बाल्यकाल र शिक्षादीक्षा

आर्थिक दृष्टिले विपन्न अवस्थामा रहेकी आमा यशोदादेवीले उहाँलाई बडा कष्टले हुर्काउनुभएको रहेछ। सानैदेखि खेतीपातीमा आमालाई पूर्ण सहायता गर्न पर्ने हुँदा प्रायः हिउँदका महिनाहरूमा मात्र उहाँलाई पढ्ने अवसर मिल्ने गरेको रहेछ। उहाँले जीवनमा धेरै कठिनाइहरूलाई पार गरेर आफ्नो जीवनलाई सफल बनाउनुभएको रहेछ।

उहाँलाई लिपिग्रहण (अक्षर चिनाउने काम) उहाँका आफ्नै दाजु उमानाथ उपाध्याय आचार्यले (१९५७–२०१७) गराउनुभएको रहेछ। उहाँको उपनयन (व्रतबन्ध) १९७० वैक्रमाब्दका वैशाख ५ गते भएको रहेछ। उहाँले गायत्री मन्त्र दाजु उमानाथबाटै र वेदमन्त्र तथा दीक्षामन्त्र ज्येष्ठपितृव्य (ठुलाबा) पं. विश्वनाथ उपाध्याय आचार्य (वि.सं.१९१४-१९८६) बाट सुन्नुभएको रहेछ।

उहाँले दुर्गाकवच, चण्डी, रुद्री, अमरकोश र सखिशब्दसम्म नव्यव्याकरणको प्रारम्भिक ग्रन्थ लघुकौमुदी पनि पं. विश्वनाथ आचार्यसितै चुँदीका घरैमा पढ्नुभएको रहेछ। पं. विश्वनाथ तनहुँका त्यति वेलाका ठुला विद्वान् र कवि पनि हुनुहुँदो रहेछ।

केही समयपछि उहाँ आफ्ना दाजु उमानाथ आचार्यले झिकाउँदा १९७८ संवत्‌का भदौमा पढ्न भनेर काठमाण्डौँ जानुभएको रहेछ। त्यहाँ रानीपोखरी प्रधान पाठशालाका शिक्षक मोदनाथ रेग्मीसित र आफ्ना दाजुसित गरी नौ महिनामा लघुकौमुदी सकी १९७९ संवत्‌मा प्रथम-परीक्षा (८ कक्षासरहको परीक्षा) दिई सर्वप्रथम भै उत्तीर्ण हुनुभएको रहेछ।

श्री ३ चन्द्र­सम्सेरले १९७८ संवत्‌मा १० जना योग्य विद्यार्थीलाई आयुर्वेद पढ्न भारतको वाराणसीस्थित काशी हिन्दु विश्वविद्यालय पठाउन लाग्दा व्याकरण-मध्यमा उत्तीर्ण हुनुभएका अत्यन्त मेधावी उहाँका दाजु उमानाथ आचार्य पनि छानिनुभएको र उहाँले निवेदन गर्नुभएकाले श्री ३ चन्द्रका आज्ञाले भाइ नरनाथ आचार्य १९७८ संवत्‌का पुसका १ गते रानीपोखरी पाकशालामा (संस्कृत छात्रावासमा) प्रविष्ट हुनुभएको रहेछ। यस कुराको उल्लेख संस्कृत छात्रावासका इतिहासका सन्दर्भमा गोरखापत्रमा (२०७९।४।२, पृष्ठ १) पनि भएको देखिन्छ। प्राणाचार्य (आयुर्वेदविज्ञानाचार्य ) उमानाथ आचार्यकै छोरा पूर्वमन्त्री नरहरि आचार्य हुनुहुन्छ।

त्यति वेलाका रानीपोखरी प्रधान पाठशालाका शिक्षक पं. टेकनाथ पौडेलसित सिद्धान्तकौमुदी, पं. कालिदास पराजुलीसित कुमारसम्भव महाकाव्य र पं. देवीदत्त पराजुलीसित दशकुमारचरित पढी वि.सं. १९८० मा व्याकरण-मध्यमा प्रथमखण्डको परीक्षा दिँदा उहाँ पहिला भै उत्तीर्ण हुनुभएको रहेछ। वि.सं. १९८१ मा द्वितीय खण्ड पढ्दा साउन २ गते विसूचिका (हैजा) ले पक्री अस्वस्थ हुँदा अस्वस्थालयमा (अस्पतालमा) भर्ना भै उपचार गरी त्यस रोगबाट मुक्त भए पनि शरीर दुर्बल भएकाले बिदा लिई उहाँ घर तनहुँ चुँदी-तामाकोट जानुभएको रहेछ।

यसै वर्ष अर्थात् विक्रम संवत् १९८१ फागुन १४ गते जन्ती गै उहाँको तनहुँ क्यामिन धरमपानीका एक कुलीन सरल सदाचारी वेदपाठी कृषिजीवी ब्राह्मण अनिरुद्ध उपाध्याय वाग्लेकी छोरी गङ्गामाया (पद्मा) देवी (वि.सं. १९७२-२०६८) सँग विवाह भएको रहेछ।

त्यसपछि वि.सं. १९८२ का बर्खा याममा घरै बसी खेतीपातीमै बिताएर फागुनमा काठमाण्डौँ गै रानीपोखरी-पाकशालामा बस्ता फेरि अस्वस्थ भै पच्चिस-तिस दिनमै पुनः घर फर्की घरै बसी सामान्य अध्ययन गर्नुभएछ। १९८३ संवत्‌मा माघे सक्रातिमा वाराणसी पुगी काशी हिन्दु विश्वविद्यालयमा आयुर्वेद-विज्ञानाचार्य-कक्षामा अध्ययन गर्दै बस्नुभएका आफ्ना दाजु उमानाथ आचार्यसित सिद्धान्त­कौमुदीको मध्यमाको द्वितीय खण्डमा र तृतीय खण्डमा पढ्न पर्ने भाग पढी घर फर्कनुभएको रहेछ। १९८४ संवत्‌मा आफ्नै ज्येष्ठपितृव्य पं. विश्वनाथ आचार्यसित मध्यकौमुदीको सम्बद्ध भाग पढी त्यसैका आडले मध्यमाको चतुर्थ खण्डमा पढ्न पर्ने सिद्धान्तकौमुदीको भाग आफैँ अर्थ लगाई पढेर साउनमा काठमाण्डौँ पुगी मुक्तावली इत्यादि अरू ग्रन्थ पढी व्याकरणको सम्पूर्ण मध्यमाको परीक्षण-परीक्षा (टेष्ट) दिनुभएको रहेछ। त्यसमा व्युत्पत्तिका पत्रमा सर्वाधिक अङ्क प्राप्त गरी उक्त परीक्षा समुत्तीर्ण भै वाराणसी गै बनारस-(क्वीन्स-संस्कृत)-कलेजको व्याकरण-मध्यमा परीक्षा दिई समुत्तीर्ण हुनुभएको रहेछ।

व्याकरणको अध्ययनपछि उहाँलाई ज्योतिष पनि पढ्ने इच्छा लागेछ। त्यसैले ज्योतिषको मध्यमाका ग्रन्थ पढ्न भनेर उहाँ काठमाण्डौँ जानुभएको रहेछ। तर काठमाण्डौँको त्यस समयको चीसो वातावरणले समयसमयमा स्वास्थ्यमा समस्या आएका कारण ज्योतिषको पढाइ छोडी गोरखा सिराञ्चोकमा शिक्षक (पण्डित) हुन भनी घर जानुभएछ। घरमा उहाँकी आमा यशोदादेवी अस्वस्थ हुनुभएको रहेछ र १९८५ संवत्‌का लक्ष्मीपूजाका दिन उहाँ स्वर्गे हुनुभएकाले उहाँको अन्त्येष्टिक्रिया सकी १९८५ संवत्‌का पुस १ गतेदेखि उक्त शिक्षकको काम थाल्नुभएको रहेछ। तर १९८७ संवत्‌का बर्खामा उहाँ अस्वस्थ भै घर जानुभएको रहेछ र अस्वस्थतावकाश (बिरामी बिदा) स्वीकृत नभएर १९८७ संवत्‌का मङ्सिर महिनामा उहाँको सो जागिर छुटेको रहेछ।

त्यसपछि १९८७ संवत्‌को धानबाली थन्क्याई काठमाण्डौँ गै ठमेलका ज्योतिषी मनोहर लामिछानेसित एक महिना ज्योतिष पढ्नुभएको रहेछ। त्यसपछि उहाँ आयुर्वेद पढ्न थाल्नुभएछ र १९८९ संवत्‌मा “काशि-आयुर्वेद-सम्मिलनी” को आयुर्वेदशास्‍त्री परीक्षामा उत्तीर्ण हुनुभएको रहेछ।

जागिरे जीवन र पारिवारिक स्थिति

त्यसपछि काठमाण्डौँमै आयुर्वेदीय विद्यालय (नरदेवी) मा आयुर्वेदाचार्य कक्षामा पढ्दापढ्दै आफ्नै घरपाइमा तनहुँ जिल्लाको केन्द्र बन्दिपुरमा कविराजको पद प्राप्त भएकाले सो पदमा नियुक्त भै १९९० संवत्‌का जेठ १ गते उहाँले सो पदको कार्यारम्भ गर्नुभएको रहेछ। त्यसपछि २००४ संवत्‌का असार १ गते लमजुङ तार्कुघाटमा, २००६ संवत्‌का माघ २१ गते तनहुँ म्याग्देमा, २००९ संवत्‌का पुस १ गते तनहुँ स्याम्घामा, २०१३ संवत्‌का मङ्सिरमा पुनः तनहुँ म्याग्देमा, त्यसै अवधिका बिचमा २०१५ संवत्‌का माघ-फागुनतिर दुई महिना गोरखा मनकामनामा, २०१७ संवत्‌का असार ९ गते पाल्पा जबगादीमा र २०१८ संवत्‌का वैशाख १८ गते तनहुँ चुँदी टुहुरे-पसलमा सरुवा भै उक्त पदमा बसी उहाँले २०३०।८।२९ मितिसम्म कार्य गर्नुभएको रहेछ। यसरी कविराज भएर कार्य गर्दा उहाँले आफ्नो स्वास्थ्यरक्षा गर्न त पाउनु नै भयो, साथैसाथै ग्रामीण जनताको सामान्यदेखि गम्भीर रोगसम्मको उपचार गरेर उनीहरूलाई पनि स्वास्थ्यलाभ पुर्याउनुभएको रहेछ। यसै अवधिमा बिचबिचमा घरायसी रूपमा संस्कृत-व्याकरणको शिक्षण गर्ने काम पनि उहाँले गर्ने गर्नुभएको रहेछ।

उहाँका १० छोराछोरीमध्ये ७ छोराछोरी चिरजीवी हुनुभयो। उहाँका ज्येष्ठ पुत्र अतिमेधावी भोजराज आचार्य (१९९२–२०१०) को मध्यम-परीक्षामा समुत्तीर्ण भै साहित्य विषय लिएर शास्त्रि-कक्षामा (स्नातक तहमा) पढ्दापढ्दै अट्ठार वर्षका वयमा (उमेरमा) आँपका रुखबाट लडी अकस्मात् निधन भएको थियो। त्यसपछिका पुत्रको बालक-कालमा नै निधन भएको थियो। उहाँकी जेठी छोरी हरिमाया देवी पौडेल (१९९६) सामाजिक कार्यमा संलग्न हुनुहुन्थ्यो। कान्छी छोरी दुर्गा (२००५२०१४) को सानै उमेरमा निधन भएको थियो। उहाँका आठ भाइ पुत्रमध्ये चारभाइ शिवराज आचार्य (१९९७–२०७४), साम्बराज आचार्य (२०००), विश्वराज आचार्य (२००२) र जयराज आचार्य (२००८) त्रिभुवन विश्वविद्यालयमा क्रमैले वेदान्त, ज्योतिष, नेपाली साहित्य र अङ्ग्रेजी साहित्यको प्राध्यापन गर्नुहुन्थ्यो। एक भाइ विजयराज आचार्य (२०११) कलकत्ताबाट अध्ययन गरी दन्तचिकित्सक हुनुहुन्थ्यो भने कान्छा भाइ सोमराज आचार्य (२०१४) भवनादिनिर्माणविद्या (आर्किटेक्चर) रुड्की विश्वविद्यालयबाट अध्ययन गरी सम्बद्ध विषयको विशेषज्ञ बन्नुभएको थियो।

उहाँका चिरजीवी पुत्रहरूमध्येका ज्येष्ठ पुत्र हाम्रा पिताजी सुगृहीतनामा शिवराज आचार्य कौण्डिन्न्यायन हुनुहुन्छ। उहाँ वेद-वेदाङ्गादि शास्त्रको भारतवर्षकै विशिष्ट विद्वान् हुनुहुन्थ्यो। उहाँ संस्कृत-विद्वान्, वैदिक (शुक्लयजुर्वेदी), शिक्षाशास्‍त्री (ध्वनिशास्‍त्री तथा शिक्षणशास्‍त्री), कल्पशास्त्रमर्मज्ञ (श्रौत तथा स्मार्त कर्मकाण्डशास्त्रज्ञ), उत्कृष्ट भाषाशास्‍त्री, वैयाकरण, कोषकार, छन्दश्शास्‍त्री, वेदाङ्ग­ज्योतिषविद्, गणितज्ञ, पुराणविद्, इतिहासज्ञ, धर्मशास्‍त्री, मीमांसक, वेदान्तज्ञ, आयुर्वेदज्ञ, कवि, समालोचक र काव्यशास्‍त्रीसमेत हुनुहुन्थ्यो। उहाँले विद्याका उक्त सबैजसो विधामा विशिष्ट ग्रन्थहरू समेत लेखेर जनसमक्ष राख्नुभएको छ। एस प्रकार एकै व्यक्तिमा प्राच्य वाङ्मयका प्रायः सबै विषयहरूको वा यति धेरै विधाको विशिष्ट विज्ञता संस्कृत वाङ्मयको इतिहासमा नै अन्यत्र देखिएको छैन।

पण्डित कविराज नरनाथ शर्मा आचार्यका कृतिहरू।

वानप्रस्थतुल्य जीवन र अन्त्यकाल

आफ्ना सबै सन्तातिलाई आआफ्ना उद्योगमा लाग्न छोडिदिएर पछिल्लो समय पण्डित कविराज नरनाथ आचार्यले आफ्नो पुर्ख्यौली घर तनहुँ जिल्लाको चुँदी-तामाकोट बेसीमा (कविराम बेसीमा) बग्रे खोलाका तिरमा रहेको एउटा सानो झुपडीमा विधवा छोरी र पत्नीलाई साथमा लिएर वानप्रस्थझैँ जीवनयापन गर्नुभएको थियो। उहाँ वि.सं. १९९० देखि जागिरका सिलसिलामा बन्दिपुरमा रहन लाग्नुभएको थियो। १९९६ वैशाख १० गते गाउँमा भएको ठुलो आगलागीमा उहाँको चुँदी तामाकोटको पुर्ख्यौली घर पनि परेको थियो। २००४ सालमा उहाँले चुँदी तामाकोट तेर्सेपानी गाममा नयाँ घर बनाउनुभयो र त्यहाँ ३० वर्षसम्म बसोबास गर्नुभयो। २०३४ मा बेसीमा घर बनाएर बस्न थाल्नुभयो।  २०४४ को अन्त्यतिर अस्वस्थ हुनुभएका उहाँ २०४४।१२।७ मा छोराहरूद्वारा काठमाण्डौँ ल्याइनुभएको थियो। त्यसको केही समयपछि  २०४५।१।२५ मितिमा ८३ वर्षका वयमा पशुपति आर्यघाटमा उहाँले पाञ्चभौतिक देह त्याग गर्नुभयो।

बहुआयामिक व्यक्तित्व

उहाँ व्यावहारिक वैदिक कर्मकाण्ड, सप्ताह-कथा-पुराण, धर्मशास्‍त्रीय निर्णय, व्यावहारिक ज्योतिष, संस्कृत व्याकरणादि विषयको शिक्षण, लेखापढी, ऐन-स्रेस्ता, व्यवहारनीति इत्यादि विषयको व्यावहारिक ज्ञानले सम्पन्न हुनुहुन्थ्यो। साथै उहाँ कुशल वैद्य, विशिष्ट समालोचक र प्रतिभासम्पन्न सहज कविसमेत हुनुहुन्थ्यो। त्यसैले कविराजभन्ने उपाधि उहाँका निम्ति द्व्यर्थक र सार्थक पनि भएको देखिन्छ। उहाँले आफ्ना गाउँमा बाटो चिठाउने, चौतारो लगाउने, आँपको सानो बगैँचा लगाउने, आफ्नी आमा यशोदादेवीले बनाउनुभएको ठाँटीको पुनर्निर्माण गर्ने इत्यादि धार्मिक तथा सामाजिक काम पनि गर्नुभएको रहेछ।

कृतिहरू

उहाँले समयसमयमा रचना गर्नुभएका सामयिक कविता धेरै छन्। उहाँका कविताहरू सर्वप्रथम वधूरक्षा, हरिश्‍चन्द्रकथा तथा सुभाषितसङ्ग्रह (२०१६) पुस्तकमा प्रकाशित भएका थिए। उहाँका कवितामध्ये १९९६ संवत्‌का वैशाखमा आफ्ना गाउँ तामाकोट-तेर्सेपानीमा आगलागी भै आफ्ना समेत नौ घर जल्दा शार्दूलविक्रीडित वृत्तमा (छन्दमा) उहाँले रचना गर्नुभएका १८ ओटा पद्य अत्यन्त हृयस्पर्शी छन्। ती पद्य सुनाई बन्दिपुर बजारका साहुजीहरूसित सहायताका रूपमा काम्ला-कपडाहरू माग्दा धेरै नै प्राप्त भएकाले ती वस्तुहरू उहाँले अग्निपीडित बन्धुहरूमा वितरण गर्नुभएको रहेछ। नो लङ्घनीयाः कुलदेशधर्माः’ (आफ्नो कुलधर्म र देशधर्मको उल्लङ्घन गर्न हुँदैन) भन्ने शीर्षकका २७ ओटा उपजाति वृत्तका पद्यहरूमा उहाँले नयाँ हावाहुरीबाट स्वधर्म जोगाउनुपर्ने सन्देश दिनुभएको छ। जस्तै त्यसको एउटा पद्य–

नाघेर पूज्यस्थितिको स्वकूल,
गरी जथाभावि गरेर भूल।
अल्पज्ञका ती गफकै त भर्मा
नो लङ्घनीयाः कुलदेशधर्माः ।।५।।

चुँदीबेसीमा वि.सं. २०१८ र २०३२ मा भएका लक्षहोमहरूको वर्णन गरी उहाँले गर्नुभएका कविता पनि प्रकाशित छन् (२०१८, २०३३)। त्यसै गरी उहाँका पद्यमय वधूरक्षा, हरिश्‍चन्द्रकथा, सुभाषितसङ्ग्रह (प्र.सं.२०१६, द्वि.सं. २०६२) पनि प्रकाशित छन्। हरिश्‍चन्द्रकथामा धेरै दुःख आइलाग्दा समेत राजा हरिश्‍चन्द्रले सत्यधर्मको पालन गरेको पौराणिक कथालाई उहाँले सुललित पद्यहरूमा काव्यात्मक शैलीले प्रस्तुत गर्नुभएको छ। उक्त हरिश्‍चन्द्रकथामा ३४० पद्य छन्। यस काव्यबाट ठुलो दुःख पर्दा पनि धैर्य गर्दै सत्यनिष्ठाबाट र वचनबद्धताबाट कत्ति पनि विचलित नभएका राजा हरिश्‍चन्द्रको चरित्र विशेष महत्त्वपूर्ण र प्रेरणास्पद भएको तथ्य बुझ्न सकिन्छ। यो कथा पढ्दा जस्तै दुःखले पीडित भएको व्यक्तिले पनि दुःख सहने र धैर्य गर्ने आधार पाउँछ। सुभाषितसङ्ग्रहचाहिँ मार्मिक संस्कृत नीतिश्लोकहरूको पद्यबद्ध अनुवाद हो।

उहाँका लक्षहोमयज्ञको वर्णन (२०१८), लक्षाहुतिपञ्चदशी (२०३३), कवितासङ्ग्रह (२०४०), पद्यमाला (२०४०) र चतुरशीतिपूजाविधिः (२०६३) पनि प्रकाशित छन्। साथै संस्कृतमा फुटकर पद्यहरूसमेत उहाँले रच्नुभएको छ र ती पद्य पनि उक्त पद्यमालामा नै समाविष्ट छन्। चतुरशीति­पूजाविधिः उहाँले परिष्कृत गर्नुभएको स्कन्दपुराणअनुसारको कर्मकाण्डको ग्रन्थ हो। यस ग्रन्थमा ८४ सिद्धहरूको पूजा गर्ने तान्त्रिक पद्धति नदेखाएर विशुद्ध सरल पौराणिक चौरासीपूजाको पद्धति दिइएको छ। शुद्ध पौराणिक विधिले ८४ पूजा गर्दा ८४ सिद्धहरुको पूजा गर्न आवश्यक हुँदैन भन्ने कुरा यहाँ उद्धृत स्कन्दपुराणको सम्बद्ध अंशबाट पनि बुझिन्छ।

आदिकवि भानुभक्त आचार्यको सच्चा जीवनचरित्र

उहाँले धेरै अनुसन्धान गरेर आदिकवि भानुभक्त आचार्यको सच्चा जीवनचरित्र वि.सं. २०१७ मा प्रकाशित गर्नुभएको थियो। त्यस ग्रन्थको परिष्कृत द्वितीय संस्करण २०३६ मा प्रकाशित गर्नुभयो। थप परिवर्धित तृतीय संस्करण हालै (२०८२) बुकहिल प्रकाशनबाट प्रकाशित भएको छ। यस ग्रन्थमा धेरै विशेषता छन् । यस जीवनचरित्रले भानुका कुलकुटुम्बको, शैक्षिक पृष्ठभूमिको र शिक्षादीक्षाको स्पष्ट परिचय दिएको छ । यसले घाँसी, गजाधर सोती आदिसँग सम्बद्ध भानुका जीवनका जेलिएका घटनालाई मोतीरामले देखाएभन्दा भिन्न रूपमा परम्पराप्राप्त र तर्कसङ्गत रूपमा अगाडि ल्याउनुका साथै भानुका व्यक्तित्वका विविध पक्षलाई विस्तृत रूपमा जनसमक्ष ल्याएको छ। साथै यसले भानुको निधनतिथिको सर्वप्रथम स्पष्ट उल्लेख गरी यससम्बन्धी भ्रम हटाउन सहयोग पनि गरेको छ। यसमा भानुका कृतिहरूको प्रथम प्रकाशनहरूको विवरण पनि दिइएको छ। भानुले बनाएका तर अरूले प्रकाशित नगरेका १८.५ ओटा नयाँ फुटकर पद्यहरूको खोजी र प्रकाशनमा यस जीवनचरित्रका रचयिताको ठुलो योगदान छ। साझाप्रकाशनको भानुभक्तीय रामायणका २०३९ देखि प्रकाशित हुन थालेका संस्करणमा यसै सच्चा जीवनचरित्रलाई आधार मानी सबै फुटकर कविता समावेश गरिएका छन्। भानुभक्तले लेखेका धेरै लिखतका प्रतिलिपि पनि सर्वप्रथम यहाँ प्रकाशित भएका हुन्। यसमा ब्रह्मसम्सेर, बाबुराम आचार्य, रामकृष्ण शर्मा, बालकृष्ण सम इत्यादि समालोचकहरूले भानुका कृतिमा गरेका

आलोचनाको प्रत्यालोचना पनि उहाँले गर्नुभएको छ। यस कार्यले उहाँलाई एउटा कुशल समालोचकका रूपमा पनि चिनाएको छ। ‘भर्जन्म घाँसतिर’ इत्यादि दुई पद्य मोतिरामले बनाएका हुन् भन्ने कतिपय समालोचकका भनाइको मिहीन रूपले विवेचना गरेर उक्त पद्य भानुभक्तकै हुन् भन्ने कुरा पनि उहाँले स्थापित गर्नुभएको छ। यस जीवनचरित्रपछि भानुभक्तका जीवनीका विषयमा विशेष नवीन कुरा प्रकाशमा आउन सकेको देखिँदैन। कालिम्पोङका महानन्द पौड्यालले र दार्जिलिङका नरा गुरुङले पनि यस जीवनचरित्रलाई महत्त्वपूर्ण भनेको देखिन्छ। साथै प्रसिद्ध समालोचक वासुदेव त्रिपाठीले पनि यस जीवनचरित्रलाई परिश्रमसाध्य, बहुखोजीपूर्ण, नवविषयवस्तुले र खण्डनमण्डनको तार्किकीले युक्त एक भानुभक्तीय आकरग्रन्थ भनेर उल्लेख गरेको देखिन्छ। यसै जीवनचरित्रका प्रारम्भमा ‘उपक्रम’ शीर्षकमा १६ पद्य र अन्त्यमा ‘भानुभक्तप्रति उपसंहारात्मक उद्गार’ भन्ने शीर्षकमा ६५ पद्य पनि समावेश भएकाले त्रिपाठीजीले यस ग्रन्थलाई ‘चम्पूमय जीवनीग्रन्थ’ भन्ने संज्ञा दिएको पनि देखिन्छ। उक्त उपसंहारात्मक उद्गारका अन्त्यमा ४ ओटा संस्कृत पद्यमध्ये पुष्पिताग्रा वृत्तमा लेखिएको अन्तिम पद्य यस्तो छ–

नृपतिनखमिते (२०१६) तु वैक्रमाब्दे
कविचरितं नरनाथशर्मणोक्तम्।
निजकविकुलजेन संविलोक्य
कविकृतिलुब्धनरा मुदं प्रयान्तु।।

उहाँले घाँसी र भानुको भेटको प्रसङ्गलाई अत्यन्त आकर्षक रूपमा शार्दूलविक्रीडित वृत्तका ११ ओटा कवितामा भानुभक्तकै शैलीमा उक्त जीवनचरित्रमा प्रस्तुत गर्नुभएको छ। ती कवितालाई सरु गुरागाईँले मधुर स्वरमा वाचन गरेर युटुबका माध्यमले प्रस्तुत गर्नाले लाखौँ श्रोताहरूका माझमा ती कविता लोकप्रिय हुन पुगेका छन्। उहाँका अरू पनि धेरै कविता चित्ताकर्षक छन्।

उपसंहार

पण्डित कविराज नरनाथ शर्मा आचार्यले नेपाली कविता र काव्यका क्षेत्रमा तथा जीवनी र समालोचनाका क्षेत्रमा दिनुभएको योगदानको सङ्क्षिप्त चर्चा यस लेखमा गरियो। उहाँ संस्कृतका पण्डित, शिक्षक, कर्मकाण्डी, ज्योतिषी, कानुनी लेखापढीका विज्ञ, अनुसन्धाता र आयुर्वेदीय चिकित्सकका रूपमा समेत समाजमा परिचित हुनुहुन्थ्यो। उहाँका वैशिष्ट्यका विषयमा हाम्रा पिताजीले ‘श्रीकृष्णाचार्यवंशवर्णन’नामको खण्डकाव्यमा वि.सं. २०३१मा संस्कृतमा लेख्नुभएका तीन पद्यको यहाँ उद्धरण गर्दै  यस लेखलाई यहीँ टुङ्ग्याउँदछु–

पित्रोः पुण्यात् पितृव्याणामनुक्रोशाच्च रक्षणात्।
अनुग्रहादग्रजस्येश्वरलीलावशादपि।।
अदृष्टवानपि पितुर् मुखमात्रमपि ह्ययम्।
पौरुषस्याऽनुगं दिष्टमिति प्रख्यापयञ् जने।।
विद्यया च कृतित्वेन सुकृतेन धनेन च।
प्रज्ञया यशसा चाऽपि सुसमृद्धो विराजते।।

(अर्थात्– पितामाताका पुण्यले तथा ठुलबा–सानाबा र दाजुका अनुग्रहले गर्दा ईश्वरका लीलाले पिताको मुखै मात्र पनि देख्न नपाउनुभएका उहाँले धेरै पुरुषार्थ गरेर आफ्ना भाग्यलाई बदलेर जनमानसमा पुरुषार्थको अनुगामी भाग्य हुन्छ भन्ने कुरा प्रख्यापित गर्नुभयो, उहाँ विद्याले, कृतिहरूले, सत्कर्मले, धनसम्पत्तिले, प्रज्ञाले र यशले पनि समृद्ध भएर विराजमान हुनुहुन्छ।)

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…