- काठमाडौँ जिल्ला अदालतले पत्रकार दिलभूषण पाठकविरुद्ध हिल्टन होटल प्रकरण सम्बन्धी मुद्दा खारेज गरेको छ।
- जयवीर देउवाको उजुरीकै आधारमा प्रहरीले साइबर अपराध मुद्दा दायर गरे पनि अदालतले प्रहरीको दाबी नपुग्ने ठहर गर्यो।
- मुद्दामा सफाइ पाएपछि पाठकले न्याय पाएको भन्दै आमाको सम्झनामा सामाजिक सञ्जालमा आफ्नो विचार लेखेका छन्।
काठमाडौँ- पत्रकार दिलभूषण पाठकविरुद्ध हिल्टन होटल प्रकरणमा दायर भएको विद्युतीय कारोबारका सम्बन्धी मुद्दा काठमाडौँ जिल्ला अदालतले खारेज गरेको छ।
पाठकले बनाएको एक भिडियोबिरुद्ध विद्युतीय कारोबार ऐनमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो। प्रहरीले तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाले दिएको उजुरीका आधारमा उनको नाम उल्लेख नगरी मुद्दा दायर गरेको थियो।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुषालको एकल इजलासले बुधबार उक्त मुद्दामा प्रहरीको दाबी नपुग्ने भन्दै पत्रकार पाठकलाई सफाइ दिएको हो।
पाठकको कार्यक्रम ‘टफटक’ मा प्रसारित सामग्रीमा हिल्टनको होटलको लगानीलाई दिएर विचौलिया दीपक भट्ट र कांग्रेस नेता शेरबहादुर देउवाका छोरा जयवीर देउवा लगायतको नाम चर्चामा आएको उल्लेख गरिएपछि उनीबिरुद्ध प्रहरीले विद्याुतीय कारोबारमा मुद्दा चलाएको थियो ।
सोही प्रकरणमा पत्रकार पाठकलाई पक्राउपूर्जी जारी भएकोमा यसअघि नै पाटक उच्च अदालतले पक्राउ नगर्न आदेश दिएको थियो।
मुद्दाको सुनुवाइका क्रममा जयवीर देउवाले हिल्टन होटलसम्बन्धी समाचारको खण्डन गरेका थिएनन्। समाचारमा त्रुटि भएको दाबीसमेत नगरी केबल साइबर क्राइममा सजाय गर्नमात्रै मागदाबी गरिएको थियो।
मुद्दामा सफाइ पाएपछि पत्रकार पाठकले आफूले न्याय पाएको प्रतिक्रिया दिएका छन्।
उनले सामाजिक सञ्जालमा आफ्नी दिवंगत आमालाई सम्झना गर्दै लेखेका छन्- आमा मैले न्याय पाएँ। साइबर अपराधको मुद्दा परेपछि पहिलो तारेखको एक दिन अगाडि मात्र आमाले देहत्याग गर्नुभयो। अन्तिम अवस्थासम्म उहाँ भन्दै हुनुहुन्थ्यो – इमान नछोड्नू, आफ्नो जिम्मेवारीबाट नपन्छिनू। आफ्नो मातृभूमिलाई सधैँ माया गर्नू। देश र जनताको हितमा काम गर्नू। अन्याय हुँदैन।
भर्खरै
लोकप्रिय
