- चालु आर्थिक वर्षको ११ महिनामा रारा ताल भ्रमण गर्ने पर्यटकहरूको संख्या ११ हजार १४६ पुग्यो, जसमा अधिकांश आन्तरिक पर्यटक थिए।
- पर्यटक प्रवेश शुल्कबाट २४ लाख १८ हजार ६३० रुपैयाँ संकलन भएको र विभिन्न शीर्षकहरूबाट कुल ४९ लाख ७३ हजार ७५ रुपैयाँ राजस्व प्राप्त भयो।
- सुधारिएको यातायात सुविधा, राराको प्राकृतिक सौन्दर्य र शान्त वातावरणले पर्यटकको आकर्षण बढाएको छ, तर होटल र सेवाहरूको विस्तार आवश्यक छ।
मुगु – कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा तालमा चालु आर्थिक वर्ष २०८२/०८३ को ११ महिनामा पर्यटक आगमन उत्साहजनक रूपमा बढेको देखिएको छ।
वैशाख १ गतेदेखि फागुन मसान्तसम्मको अवधिमा रारा राष्ट्रिय निकुञ्जमा नेपाल, सार्क तथा अन्य विदेशी गरी जम्मा ११ हजार १४६ जना पर्यटकले भ्रमण गरेका छन्। रारा राष्ट्रिय निकुञ्ज कार्यालयका मुख्य वरिष्ठ वन संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठका अनुसार उक्त अवधिमा आन्तरिक पर्यटक १० हजार ९७१, सार्क राष्ट्रबाट ६९ जना र अन्य विदेशी १०६ जना रहेका छन्।

उक्त अवधिमा पर्यटक प्रवेश शुल्कबाट मात्रै २४ लाख १८ हजार ६३० रुपैयाँ राजस्व संकलन भएको छ। त्यसैगरी दण्ड–जरिवाना, रोयल्टी, वन पैदावार बिक्री तथा अन्य शीर्षकबाट समेत उल्लेखनीय आम्दानी भएको छ। सबै शीर्षक समेट्दा ११ महिनामा कुल ४९ लाख ७३ हजार ७५ रुपैयाँ राजस्व संकलन भएको निकुञ्ज कार्यालयले जनाएको छ।

श्रेष्ठका अनुसार संकलित राजस्व सरकारी खातामा जम्मा हुने व्यवस्था रहेको छ। प्रत्येक आर्थिक वर्षमा संकलित कुल राजस्वमध्ये ३० देखि ५० प्रतिशतसम्म रकम अर्थ मन्त्रालयमार्फत विनियोजन भई आगामी वर्षमा सम्बन्धित निकुञ्जको मध्यवर्ती क्षेत्र विकासमा खर्च गरिन्छ। यसले स्थानीय समुदायको विकास, पूर्वाधार निर्माण तथा संरक्षण कार्यमा महत्वपूर्ण टेवा पुग्ने उनले बताए।
राराको मनमोहक प्राकृतिक सौन्दर्य, शान्त वातावरण तथा पछिल्लो समय सडक यातायातमा भएको सुधारका कारण पर्यटकको आकर्षण क्रमशः बढ्दै गएको हो। यद्यपि, सुविधा सम्पन्न होटलको अभाव, स्थानीय परिकारको प्रवर्द्धन र सेवा–सुविधाको थप विस्तार गर्न सके आगामी दिनमा पर्यटक संख्या अझै वृद्धि हुने विश्वास गरिएको छ।
भर्खरै
लोकप्रिय
