- कांग्रेस नेता अर्जुननरसिंह केसीले पार्टी संसदीय दलको नेता सहमतिमा चयन हुने दाबी गरेका छन्।
- सभामुखका रूपमा जिम्मेवारीमा रहेका कारण नेताको छनोट ढिलाई भएको भन्दै २-३ दिनभित्र टुंग्याइने बताए।
- सभामुखको पद गरिमामय भएकोले विशेषाधिकारको संरक्षण गर्ने भूमिका निर्वाह गर्नुपर्ने अनुभूति केसीले व्यक्त गरे।
काठमाडौँ – कांग्रेसका नेता अर्जुननरसिंह केसी पार्टी संसदीय दलको नेता सहमतिमा चयन हुने दाबी गरेका छन्।
सोमवार संघीय संसद भवन परिसरमा संसदीय दलको नेताको आकांक्षी नेता केसीले आफूले संघीय संसदमा ज्येष्ठ सदस्यको हैसियतले सभामुखको भुमिका निर्वाह गर्नुपरेकाले पार्टी संसदीय दलको नेता चयनमा ढिलाई भएको जानकारी दिए।
सभामुखको जिम्मेवारीमा बसेका व्यक्तिले पार्टीको गतिविधिमा भाग लिन नपाउने भएकाले पनि कांग्रेस पदाधिकारी बैठकले दलको नेता चयनका लागि आवश्यक निर्णय ढिलाई गर्नुपर्ने अवस्था आएको उनको भनाई थियो ।
नेता केसीले दलको नेतामा केही नेताहरुको दावी रहेको उल्लेख गर्दै आपसमा छलफल गरेर सहमतीमा चयन हुने जिकिर पनि गरे। केसीले २–३ दिन भित्र काँग्रेस संसदीय दलको नेता चयन हुने समेत बताए।
‘यो हप्ता भित्रै हामी हामी दलको नेता टुंगो लगाउँछौँ । भोली नै हाम्रो संसदीय दलको मिटिङ बस्दैछौ । २,३ दिन भित्रै हामी यसलाई टुंग्याउँछौँ । यो अत्यन्तै ठूलो जटिल विषय होइन । दलको नेतामा दावी हुनु स्वभाविक कुरा हो, केसीले अगाडि भने, ‘सबैको दावीलाई आपसमा बसेर एकीकृत गरेर हामी जे निर्णय गर्छौ, त्यो सहमतीमा गर्छौ । अहिले को ब्याक हुने, को अगाडि बढ्ने भन्दा पनि सहमतीमा छलफल गरेर एउटा निष्कर्षमा पुग्छौँ।’
नेता केसीले सभामुख गरिमामय पदभएकाले संसदको विशेषाधिकारको संरक्षण हुनेगरी भुमिका निर्वाह गर्नुपर्ने अनुभूति आफूले गरेको पनि प्रतिक्रिया दिए।
भर्खरै
लोकप्रिय
