- “संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२” को पहिलो बैठक आज दिउँसो प्रधानमन्त्री कार्यालयमा बस्ने तय भएको छ।
- कार्यदलमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू र प्रशासनिक तथा कानुनी विज्ञहरूको सहभागिता सुनिश्चित गरिएको छ।
- नेपाली कांग्रेससहित केही दलले आफ्ना प्रतिनिधिको नाम सिफारिस गर्न बाँकी रहेपछि आन्तरिक छलफल जारी छ।
काठमाडौँ- नेपाल सरकार मन्त्रिपरिषद्को गत चैत १६ गतेको निर्णयअनुसार गठित “संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२” को पहिलो बैठक आज बस्दैछ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा बनेको उक्त कार्यदलको बैठक दिउँसो ३:०० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको हो।
कार्यदलमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूलाई सदस्यका रूपमा समावेश गरिएको छ। जसमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मोहन आचार्य, नेकपा (एमाले)का तर्फबाट संविधान सभाका सदस्य डा. भीष्मनाथ अधिकारी, नेकपाका तर्फबाट पूर्व कानुनमन्त्री देव प्रसाद गुरुङ्ग, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट ज्ञानेन्द्र शाही र राष्ट्रिय जनमोर्चाका तर्फबाट महासचिव मनोज भट्ट रहेका छन्।
नेपाली कांग्रेस, श्रम संस्कृति पार्टी, जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीले भने आफ्ना प्रतिनिधिहरूको नाम टुङ्गो लगाउन बाँकी रहेको छ। ती दलहरूभित्र आन्तरिक छलफल जारी रहेको र सम्भवतः आजै प्रतिनिधिहरूको नाम सिफारिस हुने बताइएको छ।
बैठकमा राजनीतिक प्रतिनिधिबाहेक प्रशासनिक तथा कानुनी विज्ञहरूको पनि सहभागिता रहनेछ। कार्यदलमा प्रधानमन्त्री कार्यालयका कानुन सचिव पुष्कर सापकोटा र नेपाल कानुन आयोगकी सचिव इन्दिरा दाहाल सदस्य छिन् भने सदस्य सचिवको जिम्मेवारी कानुन तथा फैसला कार्यान्वयन महाशाखाका प्रमुख लिलाधर सुवेदीले सम्हालेका छन्।
यस कार्यदलले संविधान संशोधनका विषयमा विस्तृत बहसपत्र तयार पार्ने मुख्य कार्यादेश पाएको छ।
भर्खरै
लोकप्रिय
