- मुख्यमन्त्री चेतनारायण आचार्यले जलवायु परिवर्तनले नदीहरू सुक्दै गएका र जमिन सुख्खा बन्दै गएकाले ठोस योजना आवश्यक रहेको बताए ।
- मुख्यमन्त्रीले सिँचाइ योजना प्रभावकारी नभएको र किसानलाई उत्पादनमा जोड्न सरकारले प्रतिबद्धता जनाएको बताए ।
- पूर्वमुख्यमन्त्री महराले सिँचाइलाई कृषि विकासको आधार मान्नुपर्छ भने र आयोजना चुनौतीका बारेमा छलफल भएको भनियो।
दाङ- लुम्बिनी प्रदेशमा सिँचाइ दिवस- २०८२ प्रभातफेरी तथा मूल समारोहका साथ मनाइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आयोजनामा सम्पन्न कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्यले सिँचाइ व्यवस्थापन र कृषि उत्पादनबीचको सम्बन्धलाई अझ प्रभावकारी बनाउन सरकारले ध्यान दिने बताए ।
मुख्यमन्त्री आचार्यले जलवायु परिवर्तनका कारण नदी तथा खोलाहरू सुक्दै जानु र जमिन सुख्खा बन्दै जानु गम्भीर चुनौतीका रूपमा देखिएको उल्लेख गरे । उत्पादनशील जमिन खण्डहर बन्न नदिन समयमै बहस, छलफल र ठोस योजना आवश्यक रहेको उनको भनाइ थियो । ‘नदीहरू सुक्दै जाँदा समस्या बढ्न सक्छ । अनुकूलनका योजनाहरूलाई प्राथमिकता दिन जरुरी छ । जलाशयहरू निर्माण गरेर पानीको स्रोत संरक्षण गर्न जरुरी छ’ उनले भने,‘भूमिगत पानी पनि घट्दै गएको छ । खोला र नदीहरू पनि सुक्दै गए । हामी संवेदनशील भएनौँ भने उत्पादनशील जमिनहरू खण्डहर हुने अवस्था रहन्छ । वैकल्पिक रुपमा ड्याम र जलाशय बनाएर अघि बढ्न जरुरी छ ।’
उनले सिँचाइ सुविधा पुगेका क्षेत्रमै पनि जमिन बाँझो रहने अवस्था अन्त्य गर्नुपर्ने बताउँदै सरकार किसानलाई उत्पादनमा जोड्न प्रतिबद्ध रहेको स्पष्ट पारे । राज्यले लगानी गरेका सिँचाइ आयोजनाबाट अपेक्षित प्रतिफल नआउनु विडम्बनापूर्ण भएको उल्लेख गर्दै त्यस्ता क्षेत्रमा खेती विस्तार गर्नुपर्नेमा जोड दिए ।
प्रदेश स्थापना हुँदाको अवस्थामा १२ महिना सिँचाइ सुविधा पुगेको जमिन २० प्रतिशत मात्रै रहेको स्मरण गर्दै अहिले त्यो ३५ प्रतिशत पुगेको जानकारी दिए । यस उपलब्धीबाट उत्साहित हुँदै वैज्ञानिक र दिगो ढंगले सिँचाइ विकासलाई अगाडि बढाउनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सीता शर्मा चौधरीले प्रदेश सरकारले बाह्रै महिना सिंचित हुने क्षेत्रको विस्तारलाई बढाइरहेको बताइन् । पूर्वमुख्यमन्त्री जोखबहादुर महराले सिँचाइ क्षेत्रलाई कृषि विकासको आधारका रूपमा प्राथमिकतामा राख्नुपर्ने बताए । पूर्व सिँचाइ मन्त्री वीरबहादुर रानाले उत्पादनमा आत्मनिर्भर बन्ने आधार तयार भइसकेको उल्लेख गर्दै किसानको मन जित्नेगरी काम गर्नुपर्ने धारणा राखे ।
प्रदेश योजना आयोगका सदस्य शान्तादेवी ढकालले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर सिँचाइ पूर्वाधारको सुदृढिकरणमा जोडदिइन् । प्रगन्ना कुलो सिँचाइ प्रणाली जल उपभोक्ता संस्था मूल समन्वय समितिका सचिव भिमलाल चौधरीले कृषि क्षेत्रको विकासकालागि सरकारले सिँचाइ क्षेत्र विस्तारकालागि ध्यान दिनुपर्ने बताए ।
मन्त्रालयका सचिव चूर्णबहादुर ओलीले हालसम्म भएका प्रगतिको विवरण प्रस्तुत गरेका थिए । बबई सिँचाइ आयोजना र नौमुरे बहुउद्देश्यीय आयोजनासँग सम्बन्धित प्रतिनिधिहरुले आयोजनाको अवस्था र चुनौतीबारे धारणा राखेका थिए ।
कार्यक्रममा प्रगन्ना कुलो सिँचाइ प्रणाली जल उपभोक्ता संस्था मूल समन्वय समिति, देउखुरीलाई उत्कृष्ट जल उपभोक्ता समितिका रूपमा सम्मान गरिएको छ ।
त्यस्तै, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बर्दियाका प्राविधिक अधिकृत हरिप्रसाद अवस्थी र गुल्मीका कार्यालय सहयोगी पोमनारायण सुवेदीलाई उत्कृष्ट कर्मचारीका रूपमा पुरस्कृत गरिएको छ ।
भर्खरै
लोकप्रिय
