- विषादी प्रयोगशाला सुर्खेत र सल्यानमा स्थापना गर्ने योजना अझै सफल नभएको कारण भवन बनेर पनि उपकरण र कर्मचारीको अभाव रहेको छ।
- कर्णाली प्रदेशलाई जैविक प्रदेश बनाउने उद्देश्यले विषादी परीक्षण प्रयोगशाला निर्माण गर्न लागि परे पनि कार्यान्वयनमा चुकेको छ।
- भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्रीले अग्र्यानिक कर्णालीको अवधारणा अघि सार्दै क्रमशः आधारहरू निर्माण गर्न लागिएको बताए।
काँक्रेविहार (सुर्खेत) – कर्णाली प्रदेश सरकारले स्थापना गर्ने भनिएको विषादी प्रयोगशाला अझै स्थापना हुनसकेको छैन। सल्यानको कपुरकोट र सुर्खेतको भेरीगङ्गा नगरपालिकाको हर्रेमा स्थापना गर्ने भनिएको प्रयोगशाला अझै स्थापना हुन नसकेको हो।
यी दुवै ठाउँमा भवन निर्माण भइसकेको भए पनि प्रयोगशाला स्थापना हुन सकेका छैनन्। आर्थिक वर्ष २०७५/७६ देखि सुरु गरिएको यो काम अझै सञ्चालनमा आएको छैन। प्रयोगशालामा खटिने कर्मचारी तथा आवश्यक उपकरण नहुँदा हालसम्म प्रयोगमा आउन नसकेको हो। कपुरकोटको प्रयोगशाला हाल गाउँपालिकाले प्रयोग गर्दै आएको छ।
कपुरकोटमा एक जना कर्मचारी खटाए पनि कामविहीन भएपछि ती कर्मचारी अहिले सुर्खेतमा तानिएको छ। कपुरकोट कर्णाली प्रदेशको सबैभन्दा बढी तरकारी उत्पादन हुने क्षेत्रमध्येमा पर्दछ।
कर्णाली प्रदेशमा भित्रिने विषादीयुक्त खाद्य वस्तु तथा रासायनिक मलको नियन्त्रणका लागि कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले दुई ठाउँमा प्रयोगशाला स्थापना गर्ने लक्ष्य अझै पूरा हुनसकेको छैन। कर्णाली प्रदेश सरकारको पहिलो बैठकले गरेको जैविक तथा अग्र्यानिक प्रदेश बनाउनका लागि अग्र्यानिक प्रदेश निर्माण गर्ने घोषणा गरेको थियो।
पहिलो बैठकले गरेको घोषणालाई मूर्तरूप दिन दुई ठाउँमा विषादी परीक्षण प्रयोशालाको निर्माण गर्ने भनिएको लामो समय बितेपनि पूर्णता पाउन सकेको छैन।
कर्णाली प्रदेशलाई जैविक कर्णाली बनाउने सोच र रणनीतिमा अग्र्यानिक कर्णालीको अवधारणा अगाडि सारिएको प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमन्त्री विनोदकुमार शाहले बताए।
प्रदेशलाई अग्र्यानिक बनाउनका लागि क्रमशः आधारहरू निर्माण गर्न गइरहेको र नीतिगत आधारहरू, व्यावहारिक प्रयोग र अभ्यासमा आधारित रहेको मन्त्री शाहले बताए।
भर्खरै
लोकप्रिय
