- बुधबार संसदमा यादवले ओलीलाई अपराधी भनेको र भूत-झाँक्रीको विषय उठाएका कारण सम्बोधन विवादित बन्यो।
- एमाले सांसदहरू यादवको सम्बोधनलाई संसदीय मर्यादाविपरीत ठहराउँदै रेकर्डबाट हटाउन माग गर्दै आपत्ति जनाए।
- स्पीकर अर्यालले आपत्ति सुन्दै संसदको ध्यानाकर्षण भएको र आवश्यक कदम उठाउने बताए।
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुरुषोतम सुप्रभाद यादवको पहिलो संसद सम्बोधन नै विवादमा परेको छ।
बुधबारको संसद बैठकमा हिरासतमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’लक्षित उनको सम्बोधन विवादमा तानिएको हो।
उनको उक्त सम्बोधन संसदीय मर्यादाअनुसार नभएको भन्दै एमालेले नियमापत्ति जनाएको छ।
यादवले संसदमा बोल्दै ओलीलाई अपराधी भनेका थिए। साथै उनले भूत, झाँक्रीको विषय पनि संसदमा उठाएका थिए। ‘जुन भूतले कमरेड ओलीलाई छलेको थियो। त्यही भूतले आज कमरेड बादललाई पनि छलेको देखिन्छ। त्यसैले सरकारसँग म जोडदार माग गर्दछु। एउटा भूत झार्ने झाँक्रीको व्यवस्था गरियोस्। किनकी आज जुन अपराधी कारागारको ढोकाभित्र हुनुपर्ने थियो। त्यो हस्पिटलको बेडमा छ। त्यो बेडबाट कूबिचार यो सम्मानित सदनसम्म पठाउँदैछ’, उनले भनेका थिए।
यसप्रति एमालेका सांसद गुरु बरालले नियमापत्ति जनाउँदै अपराधी करार गर्ने काम संसदले नगरेर न्यायलयले गर्ने र संसद भूत झाँक्रीमा विश्वास नगर्ने भन्दै यी शब्द हटाउन माग गरे। ‘एक जना मानीय सदस्यले हाम्रो पार्टी अध्यक्ष तथा पूर्वप्रधामन्त्रीलाई (केपी शर्मा ओली) अत्यन्त आपत्तिजनक शब्द प्रयोग गरेर अपराधीको संज्ञा दर्ज गर्नुभयो। यहाँ अपराधी करार गर्ने यो संसद होइन। अपराधी त न्यायलयले करार गर्छ। र प्रतिनिधि सभामार्फत झाँक्री, धामी कुरा उल्लेख गरेर त्यसको व्यवस्थाको माग गर्नुभएको छ। यो संसद अन्धविश्वास गर्ने ठाउँ होइन। साथै हाम्रो संसदीय दलको नेता रामबहादुर थापा बादलप्रति उस्तै अत्यन्त अपमानित शब्द प्रयोग भएको छ। त्यसैले त्यो शब्द संसदको रेकर्डबाट हटाइयोस्’, उनले माग गरे।
बरालको आपत्तिपछि सभामुख डोलप्रसाद अर्यालले संसदको ध्यानाकर्षण भएको बताएका थिए।
भर्खरै
लोकप्रिय
