- प्रधानमन्त्री बालेन्द्र शाहले चैत १३ मा शपथ खाँदै सानो मन्त्रिपरिषद गठन गरे, तर वरियता सच्याउनुपऱ्यो।
- सच्याइएको मन्त्रिपरिषद्मा अर्थमन्त्री वाग्लेको वरियतामा विवाद भएको छ, अन्यत्र पनि अपूर्णता रहेको चर्चा छ।
- कानुनमन्त्री गौतमलाई वरियतामा सुधार गर्दै सातौँ स्थानमा राखिए, जसले पहिले असन्तुष्टि व्यक्त गरेकी थिइन्।
काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाहले चैत १३ गते आफ्नो शपथसँगै १५ सदस्यीय मन्त्रिपरिषद पनि गठन गरे।
रास्वपाले एकल बहुमत ल्याएको अवस्थामा सरकारका काम कारबाहीलाई प्रभावकारी बनाउने भन्दै अघिल्ला प्रधानमन्त्रीले भन्दा सानो आकारको मन्त्रिपरिषद गठनमा जोड दिए।
तर, मन्त्रिपरिषद्मा वरियता भद्रगोल भएपछि चैत २४ गते प्रधानमन्त्री शाहले सच्याए। मन्त्रीहरु र रास्वपाभित्रको असन्तुष्टि सम्बोधन गर्न प्रधानमन्त्री शाहले मन्त्रीहरुको वरियताक्रम हेरफेर गरे। सच्याएको मन्त्रिपरिषद पनि अपुरो रहेको टिकाटिप्पणी राजनीतिक र प्रशासनिक वृत्तमा भइरहेको छ।
यसअघि सांसद र मन्त्री भइसकेको भन्दा पहिलोपटक सांसद भएर मन्त्री बनेकाहरुको वरियता माथि हुँदा सरकारको कामकाजमै असर परेपछि मंगलबार वरियता सच्याइयो। तर त्यो पनि अपुरो रहेको पूर्व मुख्यसचिव विमल कोइराला बताउँछन्। उनले भने, ‘मैंले सरकार गठन हुने वित्तिकै वरियता मिलेन। यसले कामकाजमा असर गर्न सच्याउनुपर्छ भनेको थिए। सच्चियो। तर अपुरो भएको छ।’
सच्याइएको मन्त्रिपरिषद्को वरियतामा अर्थमन्त्री स्वर्णिम वाग्लेको वरियता दोस्रो नम्बरमा यथावत राखिएको छ। प्रचलित अभ्यासअनुसार उनी पहिलोपटक मन्त्री भएकाले यसअघि नै मन्त्री भइसकेका शिशिर खनाल र विराजभक्त श्रेष्ठको वरियता माथि हुनुपर्ने एकथरीको दाबी छ।
प्रचलित अभ्यासअनुसार प्रधानमन्त्री शाहपछिको वरियतामा परराष्ट्रमन्त्री खनाल हुनुपर्ने हो। उनी २०७९ माघ मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री भएका थिए। सच्चिएको वरियतामा उनलाई तेस्रोमा राखिएको छ। त्यस्तै तेस्रो नम्बरमा हुनुपर्ने दोस्रोपटक मन्त्री भएका श्रेष्ठ चौथो नम्बरमा परेका छन्। उनी पनि २०८० फागुनमा युवा तथा खेलकुद मन्त्री भएका थिए।
दोस्रो वरियतामा रहेका रास्वपाका उपाध्यक्ष समेत रहेका वाग्ले यसअघि २०७४ मा राज्यमन्त्री सरहको राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र त्यसअघि २०७० र २०७३ सालमा आयोगको सदस्यका रुपमा काम गरेका थिए। स्वभाविक हिसाबले उनको वरियता चौथोमा हुनुपर्ने कोइरालाको बुझाइ छ।
‘विगतमा त पहिलेको पृष्ठभूमिका आधारमा वरियता कामय हुन्थ्यो। पहिले मन्त्री भइसकेका व्यक्ति स्वत: माथि हुन्थे। यसपटक केका आधारमा गरियो, जानकारी भएन,’ पूर्वमुख्यसचिव कोइराला अगाडि भन्छन्, ‘पार्टीको उपाध्यक्ष हुँदैमा सरकारमा माथिल्लो वरियता हुनुपर्छ भन्ने लाग्दैन।’
सच्चिएका मन्त्रिपरिषदको वरियतामा गृहमन्त्री सुधन गुरुङलाई पाँचौँ नम्बरमा राखिएको छ।
त्यस्तै कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमलाई १२औँ नम्बरबाट सातौँमा वढुवा गरिएको छ। उनले चैत १३ गते मन्त्रि नियुक्त हुने बेलामै आफ्नो वरियताप्रति चासो राख्दै माथिल्लो तहमा मागेकी थिइन्।
त्यसपछि पनि निरन्तर असन्तुष्टि व्यक्त गर्दै आएकी गौतमलाई सातौँमा राखिएको हो। उनी दोस्रोपटक सांसद भएर पहिलोपल्ट मन्त्री बनेकी हुन्। स्वभाविक रुपमा उनी गुरुङभन्दा माथि हुनुपर्ने हो।
भर्खरै
लोकप्रिय
