- मोरङको ग्रामथान गाउँपालिकामा एसईई परीक्षा प्रश्न पत्र बाहिर पठाएको आरोपमा सहायक केन्द्राध्यक्ष पक्राउ परेका छन्।
- शालिग्राम दाहालले आफूलाई पक्राउको विषय थाहा नभएको जनाए, तर अन्य निकायसँग बुझ्ने बताए।
- प्रहरीका अनुसार माझीले प्रश्नपत्रलाई मोबाइलमार्फत बाहिर पठाएको स्वीकारेका छन् र अनुसन्धान जारी छ।
माेरङ – माध्यमिक शिक्षा परीक्षा एसईईको प्रश्न पत्र बाहिरिएको सन्र्दभमा मोरङमा सहायक केन्द्राध्यक्ष पक्राउ परेका छन् । मोरङको ग्रामथान गाउँपालिका–६ स्थित पब्लिक माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको एसईई परीक्षा केन्द्रबाट सहायक केन्द्राध्यक्ष प्रेमलाल माझीले मोबाइल फोनको प्रयोग गर्दै प्रश्न पत्र बाहिर पठाएको देखिएपछि प्रहरीले विहीबार पक्राउ गरेको हो ।
यद्धपी, यस घटनालाई सार्वजनिक गर्न निकायले चाहेको छैन । शिक्षा विकास तथा समन्वय इकाईका मोरङ प्रमुख शालिग्राम दाहालले पक्राउको विषय आफूलाई थाहा नभएको बताएका छन् ।
उनले भने, ‘अहिले पनि म परीक्षाको अनुगमनमै छु । तर, सहायक केन्द्राध्यक्ष पक्राउको विषय मलाई थाहा भएन । अनुगमन गर्ने अरु पनि निकाय हुन्छन् । उनीहरुसँग म कुरा बुझ्छु,’। यद्धपी, प्रहरी स्रोतका अनुसार माझीलाई इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
माझीसंगको प्रारम्भिक सोधपुछका क्रममा मोबाइलमार्फत प्रश्नपत्रको फोटो बाहिर पठाएको स्वीकारेका छन् । पक्राउ परेका माझीविरुद्ध शिक्षा ऐन अन्तर्गत मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर प्रहरीले अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ । घटनामा अन्य व्यक्तिहरूको पनि संलग्नता हुन सक्ने आशंकामा त्यसतर्फ समेत अनुसन्धान केन्द्रित गरिएको प्रहरी स्रोतले बतायो ।
भर्खरै
लोकप्रिय
