- परराष्ट्र मन्त्रालयले जर्मनीका लागि नेपाली राजदूत डा. शैल रूपाखेतीको राजीनामा मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत गरेको जानकारी दिएको छ।
- रूपाखेतीले नयाँ निर्वाचित सरकारको अधिकारलाई सम्मान गर्दै राजदूतबाट नैतिकताको आधारमा राजीनामा दिएको उल्लेख गरेका छन्।
- उनले नेपाल फर्केदेखि राजीनामा स्वीकृत हुँदासम्मको तलब नलिई राष्ट्रहितका कार्यहरूमा प्रयोग गर्न आग्रह गरेका छन्।
काठमाडौँ- परराष्ट्र मन्त्रालयले जर्मनीका लागि नेपाली राजदूत डा. शैल रूपाखेतीको राजीनामा स्वीकृत गरेको छ।
डा. रूपाखेतीले जर्मनीका साथै चेक गणतन्त्र, पोल्याण्ड, रोमानिया, हंगेरी र युक्रेनसहित नौ मुलुकको गैर-आवासीय राजदूत पदबाट मार्ग प्रशस्त गर्नका लागि गत चैत २५ गते राजीनामा दिएका थिए। सोही दिनदेखि लागू हुने गरी मन्त्रीस्तरीय निर्णयबाट उनको राजीनामा स्वीकृत भएको जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ ।
विगतमा तत्कालीन सरकारले उहाँलाई फिर्ता बोलाउने निर्णय गरे पनि सर्वोच्च अदालतले उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो। यद्यपि, उनी नेपाल फर्केर मन्त्रालयमा हाजिर भएका थिए। नयाँ निर्वाचित सरकारलाई राजदूत नियुक्ति र फिर्ताको पूर्ण अधिकार भएको भन्दै उनले नैतिकताका आधारमा राजीनामा दिएको राजीनामापत्रमा उल्लेख गरेका छन्।
डा. रूपाखेतीले आफू नेपाल फर्केदेखि राजीनामा स्वीकृत हुँदासम्मको अवधिको कुनै पनि तलब वा सुविधाहरू नलिएको बताएका छन्। उनले सो अवधिको आफ्नो पारिश्रमिक र सुविधाहरू राष्ट्रहितका अन्य उत्तम कार्यहरूमा प्रयोग गरिदिन सरकारलाई आग्रह गरेका छन्।
आफ्नो कार्यकालमा सहयोग गर्ने सम्पूर्ण कर्मचारीहरूलाई धन्यवाद दिँदै उनले भविष्यमा पनि देशको हितका लागि आफ्नो विज्ञता र अनुभव उपलब्ध रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
भर्खरै
लोकप्रिय
