काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि चीनका राजदूत चाङ माओमिङबीच भेटवार्ता भएको छ।
गृह मन्त्रालयमा सोमबार भएको भेटमा मन्त्री गुरुङले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै नेपालको भूमिमा चीनविरोधी गतिविधि हुन नदिन सरकार सजग रहेको बताएका थिए।
गृहमन्त्री गुरुङले नेपाल आफ्नो सार्वभौमसत्ता, स्वाधीनता र भौगोलिक अखण्डताको सुरक्षा गर्न सक्षम रहेको र नेपाली भूमिलाई कुनै पनि मुलुकको अहितमा प्रयोग हुन नदिनेतर्फ सरकार सचेत रहेको बताए।
शिष्टाचार भेटको क्रममा गृहमन्त्री गुरुङले नेपालमा भिसा नवीकरण नगरी अवैध रूपमा बसेका चिनियाँ नागरिकहरूलाई निष्कासन कार्य अगाडि बढाउन आवश्यक समन्वय तथा सहजीकरणका लागि अनुरोध गरे।
यस्तै, उनले नेपालमा चिनियाँ सहयोगबाट सञ्चालित आयोजनाहरू समयमै सम्पन्न गर्नका लागि राजदूतको ध्यानाकर्षण गराए। साथै, नेपाल– चीन जोड्ने रेलमार्ग निर्माण र दुई देशबीच व्यापार सहजीकरणका लागि समेत पहल गरिदिन अनुरोध गरे।
नेपाल-चीन सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि सहकार्य गर्न गृहमन्त्री गुरुङले प्रस्ताव गरेकोमा राजदूत माओमिङले त्यसमा चीन सरकार सकारात्मक रहेको र नेपालका सुरक्षा निकायको क्षमता विकासको क्षेत्रमा समेत सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।
मन्त्री गुरुङले आफ्नो पछिल्लो भ्रमणपश्चात् सिन्धुपाल्चोक जिल्लाको तातोपानी नाका हुँदै आवतजावत गर्ने मालवाहक गाडीहरूको आवागमन असहज भएको भनी विभिन्न सञ्चार माध्यमबाट प्रसारित समाचारका सम्बन्धमा जिज्ञासा राखेका थिए। राजदूत माओमिङले सीमानाकामा चिनियाँ पक्षबाट कुनै पनि असहजता नरहेको स्पष्ट पारेका थिए।
उक्त भेटमा राजदूत माओमिङले गृहमन्त्री गुरुङलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिएका थिए।
भर्खरै
लोकप्रिय
