- विद्यालयको विदा मनाउन नेपालगञ्ज पुगेपछि, बर्दिया राष्ट्रिय निकुञ्ज जाने योजना परिवारले बनायो र यात्रा सुरू गर्यो।
- निकुञ्जमा देखिएका नरभक्षी बाघ र टुहुरो गैँडाको कथा सुनेपछि यात्रा रोचक र ज्ञानवर्धक बन्यो।
- जनावरका कारण मानिसहरूको डर र बाँच्ने संघर्ष देखेर मानव र वन्यजन्तुको सम्बन्धबारे अन्तर्दृष्टि प्राप्त भयो।
विद्यालयको क्यालेन्डरको अन्त्य तथा गर्मीको विदा पारेर म मेरो बाबा र भाइसँग नेपालगञ्ज गएको थिएँ। त्यता पुगेपछि म, बाबा र मेरो पाँच वर्षको भाइ बर्दिया राष्ट्रिय निकुञ्ज जाने योजना बनायौं। त्यसैले हामी एक दिन बिहान सात बजे घरबाट निक्लेर हाम्रो यात्रा सुरु गर्यौँ।
हाइवेमा मोटरसाइकलमा झन्डै ६० किलोमिटर यति लामो यात्रा मेरो लागि पहिलोपटक थियो। गर्मीले गर्दा यात्रा अलि गाह्रो भएको थियो। ठाउँठाउँमा बाटो बिग्रिएकाले धुलो आँखामा परिरहन्थ्यो। फेरि मैले चश्मा पनि लगाएको थिएन। तर पनि पनि जङ्गलमा आएपछिको बाटोको दृश्य सुन्दर थियो। हाइवे पनि निकुन्जको बीचबाट गएको थियो। जंगली जनावरलाई गाडीहरुबाट बचाउन यसका गति कम गरेर चलाउन आर्मीले टाइम कार्ड पनि दिएको थियो, त्यसैले हाम्रो मोटरसाईकलको गति पनि कम थियो । मैले बाटोमा स्याल देख्दा खुसी भएँ किनकि स्याल मलाई मनपर्ने जनावर पनि हो। बाँदरहरु पनि ठाउँठाउँमा देखेँ।
केही समयपछि हामी वर्दिया निकुञ्जको गेटमा आइपुग्यौँ। म सानो हुँदा पनि धेरै वर्षअघि परिवारसँग यहाँ आएकी थिएँ। तर त्यतिबेला गोहीहरू मात्र देखेकी थिएँ। तर अहिले अरू जनावर पनि राखिएको छ भनेर थाहा पाउँदा म उत्सुक भएँ। हामी पहिले खोरमा थुनेर राखेका दुईवटा बाघ हेर्न गयौँ। यहाँ राखिएका बाघ नरभक्षी रहेछन्। जब बाघहरूले जंगलमा आफूलाई पुग्ने खाना पाउँदैनन् वा बुढा हुँदै गएका बाघहरुले जब खाना खोज्न गाह्रो मान्छन्, उनीहरू नजिकैको गाउँहरूमा गएर मानिसहरू मारेर खान्छन्। निकुन्जको खोरमा राखिएका बाघहरुको हेरचाह गर्ने व्यक्तिले भने अनुसार मान्छेको रगतमा हुने नुनले गर्दा बाघलाई मान्छेकै मासु मनपर्ने हुन्छ र एकचोटी मान्छे मारेर बानी लागेको बाघ फेरि जङ्गलमा फर्किदैन रे। यी दुई बाघहरुले मान्छेहरुलाई आक्रमण गरी घाईते बनाएको र केहीको मृत्यु पनि भएको रहेछ। यस कारणले गर्दा निकुञ्जले यी दुई बाघलाई थुनेर राखेका रहेछन्।
बाघ राखेको खोरको अर्कोपट्टि विक्रम नाम गरेको एक गैँडालाई एक्लै राखिएको रहेछ। ऊ टुहुरो गैँडा रहेछ। उसको आमाबुवा नभएर गाउँतिर डुल्ने गर्दथ्यो। गाउँघरमा घाँसपात खादा मान्छेको होहल्ला र गालीको डरले गर्दा वरिपरिको गाउँलेहरूलाई आक्रमण गरेछ। त्यसपछि मानिसहरुले उसलाई पिट्दा उसको आँखा पनि फुटाएछन् र उसले राम्ररी देख्न सक्दो रहेनछ। विक्रमले मन्दिरको एक पुजारीलाई आक्रमण गर्दा उनको मृत्यु भएपछि उसलाई निकुञ्जले पर्खालको घेराभित्र सुरक्षित रुपमा यो ठाउँमा राखेको रहेछ। उसलाई तिर्खा लागेको बेला पानी खान र त्यहा खेल्न पोखरी पनि बनाई दिएको रहेछ। ऊ एक्लै भए पनि ऊ बस्ने ठाउँ भने जंगल जस्तै रहेछ।
तर, त्यति ठूला जंगली दुई वटा बाघ खोरमा थुनेर राखेको देख्दा भने मलाई नरमाइलो लाग्यो। जंगलमा डुल्ने बाघलाई यसरी खोरमा राख्दा उनीहरुलाई पनि नराम्रो लागेको हुनुपर्छ। त्यसैले त छिन छिन मा उनीहरु डरलाग्दो आवाज निकाल्थे। मैले खोरमा रहेका बाघ रिसाएर कराएको सुन्दा यो कुनै सिनेमाको डरलाग्दो दृश्यझैँ लाग्थ्यो। मेरो सानो भाइले त बाघ कराएको सुन्दा उसले केही पहिले हेरेको मुफासा सिनेमामा देखाएको सिंहझैँ लाग्यो भन्यो।

बाघ र गैडाको कथा थाहा पाएपछि मेरो कौतुहल झन बढ्यो। यहाँका वस्तीका मान्छे बाघ र गैडाका कारण डराएर बस्नु पर्ने रहेछ। उनीहरू घाक्तेष हुने त सामान्य भयो, कतिको त यत्तिकै ज्यान पनि जाँदो रहेछ। जंगली जनवरको पक्षबाट हेर्दा हामीले पनि त उनीहरु बस्ने, खाने ठाउँ ओगटेर उनीहरुलाई अन्याय गरेका छौँ कि? जंगलमै सबै कुरा पुग्ने भए उनीहरु पनि किन मान्छे बसेको ठाउँमा आउँथे होला?
हामी त्यसपछि गोही र कछुवा राखेको ठाउँमा पनि गयौं । यो उनीहरुको ब्रिडिंग सेन्टर रहेछ। गोहीहरु हाइबरनेसनको समय भएको कारणले गर्दा शान्त थिए, त्यसैले उनीहरु हलचल गरेको देखेनौं।
बर्दिया निकुन्जको यो यात्रा मलाई रमाईलो लाग्यो र यसबाट मैले सबै जनावरहरुको पनि हामी व्यक्तिहरूको जस्तै आआफ्ना कथा हुन्छ भनेर सिके।
(ओमिसा निसर्ग बाटिका स्कूल, काठमाडौँमा कक्षा १० मा अध्ययनरत छिन्।)
भर्खरै
लोकप्रिय
