- संसदीय व्यवस्थामा शक्ति सन्तुलनको अपेक्षा गरिए पनि प्रधानमन्त्रीले अज्ञात अभिव्यक्तिले संसद्को गरिमा अपमान गरेका छन्।
- भारत र नेपालबीचको सीमा विवादमा भ्रमपूर्ण बयानले द्वीपक्षीय सम्बन्धमा अवरोध उत्पन्न गर्न सक्छ।
- गल्ती सुधार्न, प्रधानमन्त्रीले तुरुन्तै आफ्नो अभिव्यक्ति स्पष्ट पारेर क्षमायाचना गर्नु जनविश्वास कायम राख्न आवश्यक छ।
हरेक राजनीतिक व्यवस्थामा केही मौलिक मान्यता हुन्छन्, जो सधैँ लिखित हुँदैनन्। हामीले अंगिकार गरेको संसदीय व्यवस्थामा शक्ति सन्तुलन अर्थात ‘चेक एण्ड ब्यालेन्स’को मान्यता र व्यवहार अपेक्षित हुन्छ। त्यो मान्यताको परिधिमा जननिर्वाचित संसद्को सर्वोच्चता स्वीकार गरिन्छ। र राजनीतिक, शासकीय तथा संसदीय अभ्यासका क्रममा त्यसका नेता प्रधानमन्त्रीबाट संसद्को गरिमाप्रति सचेत हुँदै उक्त सर्वोच्च संस्थालाई अपमान, अवमूल्यन र दुरुपयोग नगर्ने अपेक्षा मात्र होइन विश्वास गरिन्छ।
नवचेतनाको लहरमा संसद् र सत्तामा चुनावमार्फत आएका युवा प्रधानमन्त्री यी अपेक्षामा अपवाद हुँदैनन्। आधा या नियोजित या अति आत्मविश्वासका साथ बोलिने कुनै पनि कुरा तथ्यबाट टाढा या त्यसमा भ्रम उत्पन्न गर्ने प्रकृतिका हुनु हुँदैन। सदनमा नआएर त्यसको अपमान गर्दै आएका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आइतबार भारत र नेपालबीच रहेका सीमा विवादबारे केही भ्रमपूर्ण, केही अर्थहीन र केही तथ्यहीन अभिव्यक्ति दिएका छन्।
भारत र नेपालबीच फरक खालको भौगोलिक निकटता छ, जसलाई जति सक्यो त्यती बढी आत्मीय र निकट अनि त्यसैगरी जटील, असहज र विवादास्पद बनाउन सकिन्छ। भारतबाट भारत जान नेपाल हुँदै र नेपालबाट नेपाल जान भारत हुँदै जानुपर्ने यथार्थ साझा नियति रही आएको छ। यद्यपि, विगतका निरन्तर द्वीपक्षीय कुटनीतिक अभ्यासपछि दुवै सरकारले ९८ प्रतिशत विवादमा सहमति बनेको २ प्रतिशतमा प्रयास जारी रहेको बताएका छन्, संसद् र अन्य औपचारिक निकायमार्फत।
बालेनले संसद्मा ‘नेपालले पनि भारतीय भूमि मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएसँगै त्यो विवाद समाधानमा ‘इंगल्यान्ड’लाई पनि सामेल गर्नुपर्ने सुझाएका छन्। त्यस्तै ‘दशगजा’ अर्थात ‘नो म्यान्स ल्यान्ड’कै परिभाषा र प्रयोजनबारे प्रधानमन्त्री दुविधाग्रस्त देखिन्छन्।
संसद्मा बोलिएका गलत अभिव्यक्तिलाई सामाजिक सञ्जाल र परराष्ट्र मन्त्रालयका अभिव्यक्तिले सुधार्न सक्दैनन्। गल्ती र असावधानी मानवीय चरित्र हुन्, तर प्रधानमन्त्रीको तहबाट हुने गल्तीको मूल्य कहिलेकाहीँ अत्यन्तै भारी हुनसक्छ। बालेनले तत्काल आफ्नो अभिव्यक्तिलाई स्पष्ट पार्दै क्षमायाचना गरेर यो मुद्दालाई विश्राम दिनु आवश्यक छ। नत्र युवा पुस्ताको सान्दर्भिकता तथा आवश्यकतालाई स्वीकार्दै उनले पाएको जनविश्वास जनताले विभिन्न किसिमले खोसी उनलाई असान्दर्भिक बनाउने छन्। प्रधानमन्त्रीलाई गैरजिम्मेवार बन्ने छुट हुँदैन।
भर्खरै
लोकप्रिय
