काठमाडौँ – ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले प्रष्टीकरण दिएको छ।
मन्त्रालयले आइतबार विज्ञिप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति नेपाल–भारत सीमामा विद्यमान ‘क्रस बोर्डर अकुपेसन’ (सीमा वारपारको जग्गा भोगाधिकार)सँग सम्बन्धित रहेको प्रष्टीकरण दिएको हो।
नेपाल–भारत सीमा निर्धारण गर्दा नदी सीमाक्षेत्रमा ‘फिक्स्ड बाउण्ड्री प्रिन्सिपल’ अपनाइएकाले केही स्थानमा एक देशका नागरिकले अर्को देशको भूभागभित्र पर्ने जग्गा उपयोग गर्ने तथा बसोबास गर्ने अवस्था रहेको र प्रधानमन्त्री शाहको अभिव्यक्ति त्यसैसँग सम्बन्धित रहेको परराष्ट्रको भनाइ छ।
‘नेपाल भारत सीमानाअन्तर्गत सुस्ता र लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रमा नक्साङ्कन हुन बाँकी रहेको छ। ती स्थानबाहेक अन्य केही स्थानहरूमा “क्रस बोर्डर अकुपेसन” तथा दशगजा अतिक्रमणको समस्याहरू विद्यमान छन्,’ मन्त्रालयले भनेको छ,’यसै सन्दर्भमा, सम्माननीय प्रधानमन्त्रीज्यूले संसद्मा उल्लेख गर्नुभएको विषय मूलतः दशगजा क्षेत्र अतिक्रमण र “क्रस बोर्डर अकुपेसन” (Cross-Border Occupation) अर्थात् ‘सीमा वारपारको जग्गा भोगाधिकार’ सँग सम्बन्धित छ।’
प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतको सीमा मिचेको बताएका थिए। प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको चौतर्फी विरोध भएपछि परराष्ट्रले विज्ञिप्ति जारी गर्दै प्रष्टीकरण दिएको हो।

भर्खरै
लोकप्रिय
