- चलचित्र ‘काजी’ ले नेपाली समाजका परम्परागत मुद्दा र प्रेमको गहिराइलाई फरक दृष्टिकोणमा प्रस्तुत गरेको छ।
- कथानकमा सन्तानको अभावले जन्माएको द्वन्द्व समाजको दबाब र व्यक्तिगत सम्बन्धका संवेदनालाई प्रकट गर्छ।
- प्राविधिक पक्ष सबल भए पनि कथाको दोहरोपनले दर्शकको धैर्यताको परीक्षा लिएको महसुस गराउँछ।
काठमाडौँ- नेपाली चलचित्र बजारमा जेठ ८ गतेदेखि प्रदर्शनरत चलचित्र ‘काजी’ ले दर्शकमाझ एउटा फरक खालको प्रेम र सामाजिक परिवेशको बहस छेडिदिएको छ ।
विसं २०४५ को पृष्ठभूमिमा आधारित यस चलचित्रले तत्कालीन सामाजिक संरचना, वैवाहिक सम्बन्ध र निःस्वार्थ प्रेमको कथालाई पर्दामा उतारेको छ ।
चलचित्रमा बहुप्रतिभाशाली अभिनेता विपिन कार्कीले ‘काजी’ र स्थापित अभिनेत्री केकी अधिकारीले उनकी श्रीमती ‘कजिनी’ को मुख्य भूमिकामा जीवन्त अभिनय गरेका छन् ।
बाल्यकालमै टुहुरो बनेको काजीले मागी विवाहबाट भित्र्याएकी श्रीमतीलाई नै आफ्नो सर्वस्व मान्छ ।
“मेरो बा, आमा सबै नै श्रीमती हुन्” भन्ने उसको संवादले कजिनीप्रतिको अगाध प्रेम र समर्पणलाई प्रस्ट्याउँछ । जहाँ त्याग, सहनशीलता र मौनताको सुन्दर संयोजन देख्न पाइन्छ ।
तर, यही सुमधुर सम्बन्धमा तब भूकम्प आउँछ, जब वंश धान्ने सन्तान नहुँदा समाजले काजीलाई दोस्रो विवाहको दबाब दिन थाल्छ । काजीले श्रीमतीबाहेक कसैलाई सोच्न नसक्ने अडान लिएकै बेला कजिनीकी बहिनी (साली गरिमा शर्मा) को प्रवेशले कथामा नयाँ मोड ल्याउँछ ।
साली र काजीको सम्बन्धलाई लिएर समाजमा चल्ने हल्ला र काजीलाई गुमाउनुपर्ने डरका कारण कजिनीले एउटा झुटको सहारा लिने योजना बुन्छिन् ।
अभिनेता विपिन कार्कीका अनुसार यो एउटा यस्तो अमर प्रेमकथा हो, जसले दर्शकलाई “यतिसम्म पनि प्रेम हुन सक्छ र?” भन्ने सोच्न बाध्य बनाउँछ ।
अभिनेत्री केकी अधिकारी पनि यसलाई समाजभन्दा माथि उठेको निःस्वार्थ समर्पणको कथा मान्छिन्, जहाँ काजीजस्तो श्रीमान् पाउनु हरेक महिलाको चाहना हुन्छ ।
चलचित्र प्राविधिक रूपमा जति उत्कृष्ट छ, पटकथाको हिसाबले त्यति नै सुस्त र फितलो महसुस हुन्छ ।
निर्देशक लक्ष्मण रिजालले कथालाई सरल रूपमा प्रस्तुत गरे पनि चलचित्रको सबैभन्दा कमजोर पक्ष नै यसको पटकथा बन्न पुगेको छ ।
एउटै लयमा बग्ने घटनाक्रम र दोहोरिने दृश्यहरूले गर्दा दर्शकले धैर्यता गुमाउन सक्छन् । कजिनीले सम्बन्ध जोगाउन बोलेको झुटपछि काजीले परिस्थितिसँग जुध्नुको साटो सहज बाटो रोज्दा चलचित्रको मुख्य द्वन्द्व फितलो बन्न पुगेको छ । पात्रले समस्यासँग डटेर सामना नगर्दा दर्शकमा केही खिन्नता पैदा हुन्छ ।
तर, प्राविधिक रूपमा भने चलचित्र निकै सबल छ । छायाँकार चिन्तनराज भण्डारीले तीन दशकअघिको बिजुली नभएको युग—लालटिन र टुकी बत्तीको समयलाई असाध्यै कलात्मक शैलीमा क्यामेरामा कैद गरेका छन् । साथै, चलचित्रको पार्श्व ध्वनि र सङ्गीत पनि उत्तिकै कर्णप्रिय र बिर्सनै नसकिने खालको छ ।
भर्खरै
लोकप्रिय
