- लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेका चार मन्त्री फेरिने भएका छन्, उनीहरूले चाँडै राजीनामा दिने योजना छ।
- मन्त्री फेरबदलको निर्णय नेपाली कांग्रेससँगको सञ्चर्चापछि भएको हो, जसले सरकार पुनर्गठनमा अडान राखेको थियो।
- नयाँ मन्त्रीका लागि एमालेले डिल्लीराज भुसाल, रामजी घिमिरे, तुलसीप्रसाद चौधरी र रत्न खत्रीलाई सिफारिस गरेको छ।
दाङ- लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी चार मन्त्री फेरिने भएका छन्। मुख्यमन्त्री चेतनारायण आचार्यको निर्देशनपछि एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले राजीनामा बुझाउने तयारी गरेका हुन्।
नेपाली कांग्रेससँगको सत्ता साझेदारी तथा सरकार पुनर्गठनको विषयमा लामो समयदेखि छलफल भइरहेका बेला एमालेले आफ्ना मन्त्रीहरू परिवर्तन गर्ने निर्णय गरेको हो। यसअघि जेठको पहिलो सातामै मन्त्री हेरफेरको प्रयास भए पनि कांग्रेस संसदीय दलले मुख्यमन्त्रीसहित एकैपटक सरकार पुनर्गठन गर्नुपर्ने अडान लिएपछि प्रक्रिया केही समय रोकिएको थियो।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनपछि मुख्यमन्त्री आचार्यले एमालेका मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरेका हुन्।
हाल एमालेबाट सरकारमा सहभागी भएका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, स्वास्थ्य मन्त्री खेम सारुमगर र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री सीता शर्मा चौधरीले राजीनामा बुझाउने तयारी गरेका छन्।
एमाले स्रोतकाअनुसार नयाँ मन्त्रीका लागि गुल्मीका डिल्लीराज भुसाल, अर्घाखाँचीका रामजी घिमिरे, रूपन्देहीका तुलसीप्रसाद चौधरी र बाँकेका रत्न खत्रीको नाम सिफारिस गरिएको छ। खत्री यसअघि सामाजिक विकास मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् भने भुसाल, घिमिरे र चौधरी मन्त्रीका लागि नयाँ अनुहार हुन्।
प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालयको संख्या घटाएर ८ कायम गर्ने निर्णय गरिसकेको छ। उक्त विषय सरकारको नीति तथा कार्यक्रममा समेत समेटिएको छ।
मन्त्रीहरूले आज साँझसम्म दिने तयारी रहेको जनाइएको छ।
भर्खरै
लोकप्रिय
