- विकेभिएमले दिल्ली पब्लिक स्कुललाई २-१ ले हराएर एसईई कपको क्वाटरफाइनलमा स्थान बनाएको छ।
- इटहरीको सनसाइन बोर्डिङ स्कुलले जनता माविलाई २-० ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गर्यो।
- डन बस्को स्कुलले ज्ञान सारथी स्कुललाई ८-० ले पराजित गर्दै प्रभावशाली रुपमा क्वाटरफाइनलमा पुगेको छ।
मोरङ – विकेभिएम, सनसाइन बोर्डिङ स्कुल, डन बस्को स्कुल र नरग्राम मावि विराटनगरमा जारी एसईई कप अन्तरविद्यालयस्तरीय फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन्।
विराटनगरको परोपकारघाटस्थित खेलमैदानमा बुधबार भएको खेलमा बाल कल्याण विद्यामन्दिर विकेभिएमले दिल्ली पब्लिक स्कुललाई १ का विरुद्ध दुई गोलले स्तब्ध बनाउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो।
जारी प्रतियोगिताको पहिलो खेलमै जित हात पारेको विकेभिएमका लागि समिर खड्का नायक भए। २० मिनेटको पहिलो हाफको खेलमा खड्काले चौथो मिनेटमा गोल गर्दै विद्यालयलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक शुन्यले अग्रता लिएको विकेभिएमसंग दिल्ली पब्लिक खेलमा फर्कन सकेन। त्यसैगरि, खेलको २१ औं मिनेटमा विकेभिएमका लागि ब्यक्तिगत दोस्रो गोल गर्दै जित सुनिश्चित बनाएका थिए। यद्धपी दिल्ली पब्लिकका लागि खेलको २९ औं मिनेटमा रुद्रमाजीले सान्त्वना गोल फर्काएका थिए।

त्यसैगरी, इटहरीको सनसाइन बोर्डिङ स्कुलले जनता माविलाई दुई शुन्यले पराजित गरेको छ। त्यसैगरि, तेस्रो खेलमा डनवसको स्कुल विराटनगरसले ज्ञान सारथी स्कुललाई ८ शुन्यले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ। डन बस्कोको जितमा प्रकाश कामतले ४, तनोज राजबंशीले दुई, गायस बुढाथोकी र सफल कटिलले समान एक गोल गरेका थिए।
चौथो खेलमा टंकीसिनुवारीको नरग्राम माविले विराटनगरको राधाकृष्ण माविलाई पेनाल्टी सुटमा पराजित गरेको छ। प्रतियोगिताको आयोजक पोखरिया युथ केयर एकेडेमीका अनुसार बिहीबार विराटनगरको महेन्द्र मावि र सत्यनारायण मावि, दोस्रो खेल सनसाइन विराटनगर र कोशी मोडल बीच हुनेछ। तेस्रो खेल भने आदर्श मावि र सनसाइन खनार बीच आयोजक एकेडेमीले जनाएको छ।

भर्खरै
लोकप्रिय
