- अमेरिकाको प्रतिनिधिसभाले राष्ट्रपति ट्रम्पले इरानविरुद्ध सैन्य कारबाही जारी राख्न कांग्रेसको अनुमतिबिना नगर्ने प्रस्ताव पारित गर्यो।
- प्रस्तावका पक्षमा २१५ भोट र विपक्षमा २०८ भोट प्राप्त भयो, चार रिपब्लिकनले पनि पक्षमा भोट दिए।
- ट्रम्पले प्रस्तावलाई ‘भिटो’ गर्न सक्ने बताइएको छ, तर पार्टीभित्रको मतभेद र जनसमर्थनको अभावले दबाब बढेको छ।
अमेरिकाको तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’ (प्रतिनिधिसभा)ले इरानविरुद्ध जारी सैन्य अभियान रोक्न सम्बन्धी प्रस्ताव पारित गरेको छ। उक्त प्रस्तावमा राष्ट्रपति डोनाल्ड ट्रम्पले अब अमेरिकी कांग्रेसको स्वीकृतिबिना इरानविरुद्ध सैन्य कारबाही जारी राख्न नपाउने उल्लेख गरिएको छ।
प्रतिनिधिसभामा भएको उक्त प्रस्तावको मतदानमा २१५ विरुद्ध २०८ मतले पारित भयो। चार जना रिपब्लिकन सांसदले पनि डेमोक्रेट सांसदहरूसँग मिलेर मतदान गर्दै ट्रम्पविरुद्ध असहमती जनाए।
प्रस्तावअनुसार इरानविरुद्ध थप सैन्य कारबाही अघि बढाउन ट्रम्पले कांग्रेसबाट अनुमति लिनुपर्नेछ। यदि स्वीकृति प्राप्त भएन भने अमेरिकी सैन्य बल फिर्ता बोलाउनुपर्ने माग पनि प्रस्तावमा गरिएको छ। अब यो प्रस्ताव सिनेट (माथिल्लो सदन) मा जाने छ। त्यहाँबाट पनि पारित भएपछि राष्ट्रपतिको स्वीकृतिका लागि पठाइने छ। यद्यपि ट्रम्पले यस प्रस्तावमाथि ‘भिटो’ लगाउन सक्ने अनुमान गरिएको छ।
यसअघि ट्रम्पले एक पोडकास्ट अन्तर्वार्तामा इरानविरुद्ध कारबाही गर्ने निर्णय आफूले स्वतन्त्र रूपमा गरेको बताएका थिए। उनले भनेका थिए,’मलाई कसैले यसका लागि उक्साएको वा प्रभाव पारेको होइन, यो मेरो आफ्नै निर्णय थियो।’
यो मतदानलाई ट्रम्पको रिपब्लिकन पार्टीभित्र बढ्दै गएको मतभेदको संकेतका रूपमा हेरिएको छ। इरानसँगको युद्धको विषयमा अमेरिकाभित्र जनसमर्थन पनि सीमित देखिएको छ भने इन्धनको मूल्यवृद्धिले थप चिन्ता सिर्जना हुँदा ट्रम्पमाथि युद्ध अन्त गर्ने दबाब अत्याधिक बढेको छ।
भर्खरै
लोकप्रिय
