- हुम्लाको सिमकोट गाउँपालिका–७ मा महेन्द्रबहादुर शाहीको घर दियोबाट सल्केको आगलागीमा पूर्णरूपमा नष्ट भएको छ।
- आगलागीमा मानवीय क्षति नभए पनि तीन तोला सुन, सय तोला चाँदी, लत्ताकपडा र नगद जलेर नष्ट भएको छ।
- सिमकोट गाउँपालिका र रेडक्रसले आगलागी पीडित शाहीलाई राहतस्वरूप कपडा, खाद्यान्न, भाँडावर्तन छुट्याएको छ।
हुम्ला – सिमकोट गाउँपालिका– ७ को चौगानफयामा एउटा घर आगलागीबाट पूर्ण रुपमा नष्ट भएको छ। घरमा बालेको दियोबाट सल्किएको आगोले गर्दा सो आगलागी भई घर जलेर नष्ट भएको हो।
उक्त गाउँका महेन्द्रबहादुर शाहीको घरमा राति साढे दश बजे बालेको दियोबाट सल्किएको आगोले घर जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरी निरीक्षक बिष्णु श्रेष्ठले जानकारी दिए।
तीन तले सात कोठे ढुङ्गा र माटोले छापेको घर आगलागीबाट नष्ट भएको उनले बताए। आगलागी राति साढे दश बजे भएर चार घण्टापछि नियन्त्रणमा आएको थियो।
आगालागी पीडित शाहीका अनुसार घरमा श्रीमती बिरामी भएका कारण दियो बालेर छिमेकीको घरमा देवताको धामी बसाले र श्रीमतीसहित आफू सो घरमा बिन्ती गर्न गएको बेला त्यही दियोबाट नजिकैको कपडामा सल्किएर आगलागी भएको हो।
आगलागी भएको घरमा मानवीय क्षति नभए पनि तीन तोला सुन, सय तोला चाँदी, घरमा भएको लत्ताकपडा, खाद्यान्न, अन्नपात, भाँडावर्तन र दुई लाख तीस हजार रुपैयाँ नगद जलेर नष्ट भएको स्थानीय मन्दिर सिंहले बताए।
चीनको ताक्लाकोटमा काम गर्न गएका शाही श्रीमती कल्सरा शाही बिरामी भएको खबर पाएपछि ताक्लाकोटमा कमाइ भएको उक्त रुपैयाँसहित घर फर्किएका थिए।
बिरामी श्रीमतीलाई सिमकोट ल्याएर उपचारका लागि काठमाडाँै लैजाने तयारीमा रहेका उनी आगलागीबाट घर तथा नगदसहित सबै सामान जलेपछि बिचल्लीमा परेका छन्।
सिमकोट गाउँपालिकाका उपाध्यक्ष सुशीला भाम रोकायाको पहलमा तत्कालका लागि आगलागी पीडित शाहीलाई शुक्रबार सिमकोट गाउँपालिका र रेडक्रसबाट कपडा, खाद्यान्न, भाँडावर्तन राहतस्वरुप सहयोग गरिएको वडाध्यक्ष बलवीर शाहीले जानकारी दिए।
भर्खरै
लोकप्रिय
