- सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरूको अनुपस्थिति कारण यसलाई महत्व नदिएको प्रश्न उठेको छ।
- श्रम संस्कृति पार्टीले बैठक बहिष्कार गर्नुको कारण खुल्न सकेको छैन भने राप्रपाका अध्यक्ष लिङ्देन सहभागी भए।
- प्रमुख नेताहरूको गैरहाजिरीका बाबजुद रास्वपाका सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणको अनुभव र मुद्दाहरूमा चर्चा गरे।
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मंगलबार सर्वदलीय बैठक आह्वान गरेपनि प्रतिपक्षी दलका शीर्ष नेताहरू भने सहभागी भएनन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी भएनन्।
श्रम संस्कृति पार्टीले बैठक नै बहिष्कार गर्यो। यस पार्टीबाट एक जना प्रतिनिधि पनि बैठकमा सहभागी भएनन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन भने बैठकमा सहभागी भए।
बैठकमा विशेषत: लामिछानेको भारत भ्रमण, राष्ट्रिय राजनीति र संसद्मा प्रतिपक्षी दलहरूले गरेको अवरोधका विषयलाई लिएर छलफल भएको थियो। उक्त छलफलमा राप्रपाका अध्यक्षबाहेक अन्य दलका शीर्ष नेताहरू सहभागी नभएपछि सर्वदलीय बैठकलाई किन महत्व नदिएको भन्ने प्रश्न उठेको छ।
नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बिरामी भएका कारण उनी बैठकमा सहभागी नभएको यसअघि सार्वजनिक भएको थियो। यद्यपि नेकपाबाट सह-संयोजक माधवकुमार नेपाल र नेता वर्षमान पुन सहभागी भएका थिए।
कांग्रेसबाट संसदीय दलका नेता भीष्मराज आङ्देम्बे सहभागी भएका थिए। कांग्रेसका प्रवक्ता देवराज चालिसेले सभापति थापा कार्यव्यस्तताका कारण सर्वदलीय बैठकमा सहभागी हुन नपाएको बताए।
उनले पार्टी नेतृत्वभन्दा पनि पार्टीको प्रतिनिधि सहभागी भए कि भएनन् भन्ने महत्वपूर्ण हुने भन्दै त्यसका लागि संसदीय दलका नेता आङ्दाम्बे नै सहभागी भएको बताए।
सर्वदलीय बैठकमा को गयो भन्ने त्यति महत्वपूर्ण नहुने उनको भनाइ छ। ‘पार्टी सभापति सहभागी हुनुभयो कि भएन भन्ने महत्वपूर्ण कुरा होइन। पार्टीबाट प्रतिनिधित्व भयो कि भएन भन्ने हो। हाम्रोतर्फबाट संसदीय दलकै नेता सहभागी हुनुभयो’, उनले भने ‘पार्टी सभापति नजाने भन्ने पनि होइन। कार्यव्यस्तताका कारण उहाँ सहभागी नहुनुभएको हो।’
एमालेबाट प्रमुख सचेतक ऐन महर सहभागी थिए। एमालेले संसदीय दलका नेतासमेत सहभागी गराउन उचित ठानेन। एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ हुन्।
महरले पार्टी अध्यक्ष ओली स्वास्थ्यका कारण सार्वजनिक ठाउँमा सहभागी हुन नसकेको बताए। ‘उहाँ स्वास्थ्यका कारण पनि बाहिरी कार्यक्रममा सहभागी हुनु भएको छैन। फेरि पार्टी नेतृत्व भन्दा पनि संसद्भित्रको कुरा भएकाले पनि म सहभागी भएको हुँ’, उनले भने।
उनले एमालेले युवालाई प्राथामिकता दिएको भन्दै युवा नै सहभागी भएको तर्कसमेत गरे। ‘एमालेले युवालाई प्राथामिकता दिएको छ नि’, महरले भने।
श्रम संस्कृति पार्टीले किन सर्वदलीय बैठक बहिष्कार गर्यो भन्ने विषयमा खुलेको छैन। पार्टी अध्यक्ष हर्क साम्पाङ, प्रमुख सचेतक आरेन राईलाई देशसञ्चारले सम्पर्क गरे पनि उनीहरू सम्पर्कमा आएनन्।
सर्वदलीय बैठकमा विशेत: रास्वपा सभापति लामिछानेले भारतमा आफ्नो स्वागतको बयान गरेका थिए। आजसम्म कसैलाई नदिएको सम्मान आफूले पाएको भन्दै उनले बैठकमा जानकारी गराएको एमालेका प्रमुख सचेतक महरले बताए।
सर्वदलीय बैठकमा नेपाल भारतबीच सन्धि सम्झौतादेखि सम्बन्धको सबै पक्षमा छलफल गर्न गठित विज्ञहरू सम्मिलित ‘प्रबुद्ध व्यक्ति समूह’ (ईपीजी) को प्रतिवेदनको विषय एमालेले उठाएको थियो।
‘उहाँ (लामिछाने)ले भारत भ्रमणको विषयलाई बढी उठाउनु भयो। हामीले पुरक प्रश्न पनि उठायौँ’, महरले भने ‘ईपिजीको कुरा उठाउनुभयो कि भएन? अर्को कुरा तपाईं (लामिछाने) भारत भ्रमणको अघिल्लो दिन प्रधानमन्त्रीले दिएको सीमा विवादसम्बन्धि भनाइका विषय पनि उठायौँ।’
सर्वदलीय बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको सीमा विवादसम्बन्धी स्पष्टीकरण संसद्मा आउनुपर्ने माग विपक्षीले राखे पनि सभापति लामिछानेले यससम्बन्धी जवाफ परराष्ट्रमन्त्री शिशिर खनालले दिने प्रस्ताव नेताहरूसँग राखेका थिए। यद्यपि विपक्षी नेताहरूले सीमा विवादसम्बन्धी अभिव्यक्तिमा प्रधानमन्त्री शाहको स्पष्टीकरण संसद्मा आउनुपर्ने जिकिर सभापति लामिछानेसँग गरेका थिए।
भर्खरै
लोकप्रिय
