काठमाडौँ- नेकपा एमालेबाट निर्वाचित ८ वटा वडाध्यक्षको पद गएको छ। पार्टी छाडेपछि स्वत उनीहरूको पद गएको हो।
निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ बमोजिम एमालेबाट निर्वाचित आठ जना वडा अध्यक्षको पद स्वतः रिक्त भएको निर्णय गरेको हो।
आयोगले २०८३ जेठ २६ गते गरेको निर्णयअनुसार ती जनप्रतिनिधिहरूले अन्य राजनीतिक दलमा प्रवेश गरेको भन्दै एमाले केन्द्रीय सचिवालयले निर्णयसहित आयोगलाई जानकारी गराएको थियो। राजनीतिक दलसम्बन्धी ऐनको दफा ३२(१) तथा नियमावलीको नियम २२ अनुसार दल त्याग गरेको अवस्थामा सम्बन्धित जनप्रतिनिधिको निर्वाचित पद स्वतः रिक्त हुने कानुनी व्यवस्था रहेको छ।
आयोगले सार्वजनिक गरेको सूचनाअनुसार पद रिक्त हुने जनप्रतिनिधिहरूमा कमल बहादुर बानियाँ, कमल तामाङ, सुरेश कुमार थापा, राज कुमार पन्थी, होमप्रसाद बजगाईं, राम कुमार श्रेष्ठ, महेश कुमार खनाल र मधुसुदन शर्मा रहेका छन्।
उक्त सबै जनप्रतिनिधि २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट निर्वाचित भएका थिए। आयोगले नियमावलीको व्यवस्था अनुसार सम्बन्धित निकाय तथा सरोकारवालालाई जानकारी गराउन सूचना प्रकाशित गरेको जनाएको छ।

भर्खरै
लोकप्रिय
