काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारले ल्याएको बजेटले संविधानको मर्म, नेपाली अर्थतन्त्रको यथार्थ र किसान–मजदुरको आवश्यकता सम्बोधन गर्न नसकेको बताएका छन्।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफल उनले बजेटको आर्थिक दृष्टिकोण नै स्पष्ट नभएको बताएका हुन्। उनले बजेटले किसान, मजदुर, बेरोजगार युवा र गरिब नागरिकको अपेक्षा सम्बोधन गर्न नसकेको बताए।
उनले भीर–पहिरो र आधारभूत सेवाबाट वञ्चित हजारौँ बस्तीलाई सुरक्षित र व्यवस्थित स्थानमा पुनःस्थापना गर्न बजेटले कुनै कार्यक्रम नल्याएको बताए। बाँदर आतंकका कारण किसान बाली जोगाउन नसक्ने अवस्थामा पुगे पनि बजेटले त्यस विषयलाई बेवास्ता गरेको उनको भनाइ छ।
उत्पादनमा आधारित कृषि अनुदान, बाली तथा पशुधन बीमा, किसान पेन्सन र बाँदर नियन्त्रण कार्यक्रम आवश्यक रहेको उनले बताए। स्वास्थ्य क्षेत्रमा पहिलो पटक उपचार सेवामा प्रत्यक्ष कर लगाइएको भन्दै उनले असन्तुष्टि जनाए। सरकारी तथ्यांकअनुसार करिब ५९ लाख नागरिक निरपेक्ष गरिबीमा रहेको उल्लेख गर्दै उनले गरिबको जीवनस्तर उकास्ने ठोस कार्यक्रम बजेटमा नदेखिएको बताए।
उनले बजेटको कर प्रणाली पनि प्रगतिशील नभइ प्रतिगामी रहेको दाबी गरे। अप्रत्यक्ष कर र भ्याटको भारले गरिब किसान तथा मजदुर झन् दबाबमा पर्ने उनको भनाइ छ। विद्युत उपभोगमा भ्याट लगाएर सरकारले स्वदेशी ऊर्जाभन्दा ग्यासलाई सस्तो बनाएको उनले आरोप लगाए।
उनले मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित क्षेत्रका मागहरू पनि बजेटमा नसमेटिएको गुनासो गरे। यस्तै, उनले वैदेशिक ऋणको विषयमा विगतमा सरकारको आलोचना गर्नेहरूले अहिले झन् बढी ऋण प्रस्ताव गरेको उल्लेख गरे।
भर्खरै
लोकप्रिय
