- मोरङ प्रहरी, प्रिन्स यादवको मृत्युपछि कारण पत्ता लगाउन अनुसन्धानमा जुटेको छ, घटनास्थलमा कुनै हतियार भेटिएन।
- न्यूरो अस्पतालले यादवको मुटु अस्वाभाविक रूपमा ठूलो देखिएको बताएको छ, थप जाँचका लागि रिपोर्ट पर्खिरहेको छ।
- यादवको दागबत्ती पश्चात् टक्सिलोजी र प्याथोलोजी रिपोर्ट आउनासाथ मृत्युको सत्यतथ्य पत्ता लाग्ने पुलिसले जानकारी दिएको छ।
मोरङ– भारतको पटनामा आपराधिक घटनाक्रमपछि लुक्न विराटनगर पसेका प्रिन्स यादवको मृत्युपछि मोरङ प्रहरी हत्या वा मृत्यु भन्ने गुत्थी सुल्झाउन लागिपरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार घटनापछि प्रहरी अनुन्धानमा जुटिरहेको छ।
मृतक यादवसँगै होटलमा बसेका अन्य ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाउँदै प्रहरी नायब उपरीक्षक मिश्रले यादवको शव परिवारलाई जिम्मा लगाइसकेको बताए।
घटनापछि प्रहरीले होटलमा समेत छानविन गरेको थियो। प्रहरीका अनुसार उनीहरू बसेको कोठामा कुनै पनि प्रकारको हातहतियार भेटिएको थिएन।
घटनाको प्रकृति
जेठ २० गते विराटनगरको बसपार्कस्थित मेट्रोसिटी होटलमा २४ वर्षीय यादवसहित बिहार सुपौलका जयराम यादव, लल्टु यादव, रोशन यादव र सहरसाका अंकित यादव बसेका थिए।
उनीहरू बिहारस्थित खान सर एकेडेमी इन्स्टिच्युटमा हुलदंगा, गोलीकाण्ड मच्चाएर विराटनगर आएका थिए। यादवका दाजु रोशन आनन्दले सञ्चालन गर्दै आएको ज्ञानविन्दु जिएस एकेडेमी र खान सर एकेडेमीबीच विवादका क्रममा यादवले घटना गराएका थिए।
त्यसपछि खान सरका सञ्चालक फैसल खानले उनीविरुद्ध एफआइआर दर्ता गराए। साथीहरूसहित यादव भागेर विराटनगर आएका थिए। विराटनगर आएको पाँच दिनपछि यादवले होटल परिवर्तन गर्दै २५ गते विराटनगर–१० स्थित शुभ होटलमा बसोबास गर्दै आएका थिए।
होटलका कर्मचारी नितेश सिंहका अनुसार उनीहरूले ठूलो कोठा र सबै अटाउने हिसाबले १ सय २ लाई रोजेका थिए। सिंहका अनुसार २५ गतेबाट बस्न आएका उनीहरू प्रायः दिउँसो र बेलुका घुम्न भनेर निस्कने गर्थे।

दैनिकजसो विराटनगर र आसपास घुम्ने गरेको बताएका ती कर्मचारीका अनुसार राति खाना करिब साढे १० पछि मात्र हुने गरेको थियो।
होटलमा मदिरा नपाइने बताएका उनले यादवसहितको टोलीले मदिरा खाने गरेको वा नगरेको यकिन नभएको प्रष्ट्याए। तथापि, घटना भएको दिन शनिबार भने अन्य चार जना साथी घुम्न बाहिर निस्किए पनि यादवलाई रुघेर अर्का एक जना साथी होटलमै बसेका थिए।
ती कर्मचारीका अनुसार प्रिन्स यादव प्रायः सुतेकै अवस्थामा भेटिन्थे। उनले भने, ‘हामीले सर्भ गर्दा प्रायः प्रिन्स सुतिरहन्थे। उनका साथीहरूका अनुसार दबाई खाने भएको हुँदा निद्रा आएको थियो। घटनाको दिन पनि उनी सुतिरहेका थिए। उनैलाई रुघेर अर्का एक जना साथी भने होटलमै बसेका थिए।’
राति एक्कासी प्रिन्सको स्वास्थ्यमा समस्या भएपछि ती साथीले होटलको सुरक्षागार्डको सहयोगमा नजिकै रहेको न्यूरो अस्पतालको एम्बुलेन्स बोलाए।
यसक्रममा उनीहरूले होटलबाहिर घुम्न निस्किएका अन्य साथीलाई समेत फोन गरी बोलाएका थिए।
सबैजना होटल पुग्दा यादवको मृत्यु भइसकेको उनको भनाइ छ।
के भन्छ अस्पताल?
न्यूरो अस्पतालले प्रिन्स यादवलाई मृत घोषित गरेपछि प्रहरीले शव पोस्टमार्टमका लागि आइतबार दिउँसो कोशी अस्पताल विराटनगर लगेको थियो।
पोस्टमार्टमको प्रारम्भिक रिपोर्टका अनुसार यादवको मुटु केही ठूलो देखिएको छ।
सामान्यतयाः ३ सय देखि ३ यस ५० ग्रामको हुनुपर्ने मुटु पोस्टमार्टम गर्दा करिब ६ सय देखि ६ सय ५० ग्रामको देखिएको अस्पतालले जनाएको छ जुन अलिक अस्वाभाविक हो। अस्पतालले प्रारम्भिक रिपोर्ट मोरङ प्रहरीलाई बुझाइसकेको जनाए पनि थप दुई वटाको रिपोर्ट भने आउन बाँकी छ।
मृतकको शरीरमा कुनै चोटपटक नदेखिएको घटनालाई नजिकबाट हेर्दै आएका चिकित्सकले बताएका छन्। अस्पतालका अनुसार अस्वाभाविक देखिएको मुटुको जाँचका लागि अस्पतालको मुटुरोग विशेषज्ञ –प्याथोलोजीमा राखिएको र अर्को एउटा रिपोर्टका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ।
अस्पतालका एक चिकित्सकका अनुसार प्याथोलोजीमा जाँचका लागि पठाइएको मुटुको रिपोर्ट आइसकेको छैन। त्यसैगरी, मृतकको खानपिनमा केही परेको वा पारिएको भन्ने जाँचका लागि टक्सिलोजी विभागमा समेत रिपोर्ट पठाइएको छ। यी दुवै रिपोर्ट आइसकेपछि मात्र घटना के भएको भन्ने खुल्ने अस्पतालले जनाएको छ।
भर्खरै
लोकप्रिय
