- सुदूरपश्चिम प्रदेशमा कांग्रेस र एमालेबीच बजेटमा सहमति नहुँदा प्रदेश सभाको बैठक अनिश्चित बनेको छ।
- भागबण्डा नमिल्दा मन्त्रिपरिषद् बैठक बस्न नसक्दा मुख्यमन्त्रीले बैठक नबोलाएको स्रोतले बताएको छ।
- सत्तारुढ दलका सांसदहरूले आफ्ना योजना बजेटमा समावेश गर्न दबाब दिएपछि मुख्यमन्त्री शाह अन्तिम तयारीमा छन्।
धनगढी – सुदूरपश्चिम प्रदेशमा सत्तारुढ कांग्रेस र एमालेबीच बजेटमा भागबण्डा नमिल्दा प्रदेश सभाको बैठक अनिश्चित बनेको छ। प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८३ र ८४ को बजेट सोमबार साँझ ५ बजे प्रदेश सभाको बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको थियो। प्रदेश सभा सचिवालयले ५ बजेकाे बैठक आजै राति ९ बजे बस्ने सूचना जारी गरेकाे छ।
मुख्यमन्त्री कमलहादुर शाह र मन्त्रीहरूबीच भागबण्डाअनुसार बजेट बाँडफाँट नहुँदा प्रदेश सभाको बैठक अनिश्चित भएको छ भने कर्मचारीहरु अझै बजेट लेखनमै छन्। आइतबार राति १२ बजेभित्र नै सबै योजना वार्षिक कार्यक्रम समावेश गरेर बजेट प्रणाली बन्द गर्नुपर्ने भए पनि सुदूरपश्चिममा भने अझै लेखन कार्य जारी छ।
बजेट पूर्ण नभएपछि मन्त्रिपरिषद् बैठक समेत बस्न सकेको छैन्। सोही कारण मुख्यमन्त्री कमलबहादुर शाहले अहिलेसम्म मन्त्रिपरिषद् बैठक नबोलाएको स्रोत बताउँछ। स्रोतकाअनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयमा तोकिएको सिलिङअनुसारको बजेट नपरेपछि मन्त्री सुरेन्द्र बहादुर पालले असहमति जनाएका छन्।
उनको असहमतिपछि सिलिङअनुसारकै बजेट र योजना समावेश गर्नेगरी काम भइरहेको स्रोतको दाबी छ। एमाले मात्र नभएर कांग्रेसका मन्त्रीहरुले समेत बजेटमा आफूले सिफारिस गरेका योजना नपरेको गुनासो गरेका छन्।
सत्तारुढ दलकै सांसदहरूले समेत दबाब दिन थालेपछि मुख्यमन्त्री शाह र आर्थिक मामिला मन्त्री विक्रम सिंह धामी माग सम्बोधन हुने गरी अन्तिम तयारीमा लागेका छन्। सांसदहरुले पूर्व सहमतिअनुसार आफ्नो योजना बजेटमा राख्नुपर्ने अडान लिएका छन्।
अन्य प्रदेशमा अगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा प्रस्तुत भइरहेका बेला सुदूरपश्चिममा भने सत्तारुढ दलबीचकै किचलोले अनिश्चित बनेको छ।
आर्थिक मामिला मन्त्रालयले बजेट तयार गरिसकेपछि मन्त्रिपरिषद् बैठक बसेर स्वीकृत गर्नुपर्ने प्रावधान छ। त्यसपछि मात्र बजेट वक्तव्य प्रदेश सभामा प्रस्तुत हुनेछ।
भर्खरै
लोकप्रिय
