- हुम्ला जिल्लाकै मालपोत कार्यालयमा बाजुरा जिल्लाको गुम्बा गाउँका १० घरधुरीको जग्गासम्बन्धी पुराना प्रमाण फेला परेका छन्।
- गुम्बा गाउँका पुराना प्रमाणमा सात नम्बर फारम, मोठ र मोहीको लगत विवरण पुष्टि भएका छन्।
- हुम्ला र बाजुराबीचको सीमा विवादमा सहमति गर्दै तथ्य प्रमाणको आधारमा समाधान अपरिहार्य रहेको बताइएको छ।
हुम्ला – दुई जिल्लाका स्थानीयबीच सीमा विवाद भइरहेका बेला बाजुरा जिल्लाको हिमाली गाउँपालिका– ३ को गुम्बा गाउँका स्थानीयको जग्गासम्बन्धी आवश्यक प्रमाण हुम्ला जिल्लाको मालपोत कार्यालयमा भेटिएको छ।
हुम्लाका जनप्रतिनिधिसहितको टोलीले प्रमाण खोज्ने क्रममा मालपोत कार्यालय हुम्लामा पुराना प्रमाण फेला पारेको हो। हुम्लावासीले दिएको निवेदनअनुसार तत्कालीन मैला गाउँ पञ्चायतको वडा नम्बर ५ को नाममा ठेगाना रहेको हालको बाजुरा जिल्लाको हिमाली गाउँपालिका– ३ को गुम्बा गाउँका १० घरधुरीको जग्गासम्बन्धी पुराना प्रमाण मालपोत कार्यालय हुम्लाको ढड्डामा भेटिएको कार्यालय प्रमुख पविन्द्र यादवले बताए।
यी प्रमाणका आधारमा बाजुराको गुम्बा गाउँका स्थानीय हुम्ला जिल्लाअन्तर्गतको तत्कालीन मैला पञ्चायतमा पर्ने देखिएको छ।
गुम्वा गाउँका स्थानीयको मालपोत कार्यालय हुम्लाका भेटिएका जग्गासम्बन्धी पुराना प्रमाणमा सात नम्बर फारम, मोठ र मोहीको लगत विवरण रहेको छ।
उनका अनुसार कार्यालयमा हालको बाजुरा जिल्लाको गुम्बा गाउँका पुुराना जग्गामा प्रमाण भएका जग्गा धनीमा नर्वु गुरुङ, डबल्या गुरुङ, छिरिङ थकाली, टसी गुरुङ, फुर्वु गुरुङ, (हाल बाजुराको हिमाली गाउँपालिका– ३ का वडा सदस्य पेमागारा गुरुङ उनका नाति छन्), याङ्वेला गुरुङ, धर्मसिंह गुरुङ, तुण्डुप गुरुङ र निखु गुरुङ रहेका छन्।
ती प्रमाणमध्ये सात नम्बर फारममा हालको विवादित कवाडीदेखि चिन्दु, लाम्पाटा,च्याचौर, गुम्वा, फुल सैनालगायत क्षेत्रको नाम उल्लेख छ। ती जग्गाका प्रमाण मालपोत कार्यालय हुम्लामा रहेका गुम्वावासीको ठेगाना तत्काली मैला पञ्चालय वडा नम्बर ५ उल्लेख गरिएको छ।
दुई जिल्लाका स्थानीयबीच विवादभन्दा पनि आवश्यक तथ्य प्रमाण र भोगचलनका आधारमा सीमा विवाद टुंग्याउनुपर्ने भनाइ खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलको छ। यो कुरा सरकारद्वारा गठित सीमा विवाद अध्ययन समितिलाई पनि प्रमाण पनि दिने र जानकारी पनि गराउने उनले बताए।
यता, गुम्बा गाउँवासीले २०५० सालमा नापी भएको नक्शा देखाउने गरेको प्रति सात नम्बर फारमबिनै नापी भएको सिमकोट गाउँपाकिलाका अध्यक्ष विजय भण्डारीले बताए। त्यसको पनि आवश्यक अध्ययन र जाँचबुझका लागि हुम्लावासी सम्बन्धित निकायतर्फ लाग्ने भनाइ उनको छ।
अब दुई जिल्लाबीच द्वन्द्व र विवाद गर्नु आवश्यक नरेको र समन्वय, सहमति र सहकार्यमा अगाडि बढ्नुपर्ने भनाइ हुम्लावासीको रहेको छ।
भर्खरै
लोकप्रिय
