काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको प्राथमिकता शेयर बजारको अल्पकालीन उत्तारचढावभन्दा मुलुकको दीर्घकालीन आर्थिक हित र दूरगामी नीति निर्माणमा रहेको बताएका छन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले सरकारले स्थिर र परिणाममुखी नीतिमार्फत आर्थिक सुधारको लक्ष्य राखेको बताएका हुन्।
नयाँ सरकार गठन भएको दुई महिना पुगेको सन्दर्भ जोड्दै अर्थमन्त्री वाग्लेले वर्तमान सरकारले मुलुकमा उद्यमशील वातावरण निर्माण गर्न र इमानदार करदातालाई प्रोत्साहन गर्न विशेष जोड दिएको बताए।
व्यवसायीहरूलाई सरकारको सहयात्रीका रूपमा चित्रण गर्दै उनले इमानदारपूर्वक राज्यलाई कर तिर्ने र स्वच्छ प्रतिस्पर्धामा विश्वास गर्ने उद्यमीहरूलाई प्रवर्द्धन गर्नु नै बजेटको मुख्य उद्देश्य रहेको उल्लेख गरे।
उनले उच्च करको दरले लगानी निरुत्साहित हुने तर्क गरे। ३९.५ प्रतिशतसम्मको उच्च सीमान्त आयकर रहेको मुलुकमा वैदेशिक लगानी भित्र्याउन कठिन हुने उनको भनाइ थियो।
उनले भने, ‘हामी एक-एक घण्टामा स्टक मार्केटको इन्डेक्स माथि जान्छ वा तल झर्छ भनेर हेर्दैनौँ, हामी युगौँसम्म प्रभाव पार्ने दूरगामी नीतिहरूमा काम गरिरहेका छौँ।’
भर्खरै
लोकप्रिय
