झापा- झापामा दिनानुदिन भयावह रूपमा बढ्दै गएको लागुऔषधको समस्या न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालयले ‘लागुऔषधविरुद्ध झापा अभियान’ औपचारिक रूपमा सञ्चालन गरेको छ।
स्थानीय तहसँगको सहकार्यमा सुरु गरिएको यस अभियानको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुभारम्भ गरेका छन् भने कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको विशेष आतिथ्यता रहेको थियो।
मागमा कमी, आपूर्ति नियन्त्रण र क्षति न्यूनीकरण गरी तीनवटा रणनीतिसहित सुरु गरिएको यस अभियानअन्तर्गत मुख्य गरेर पाँच प्रकारका कार्यक्रमहरू सञ्चालन गरिने भएको छ।
यसअन्तर्गत पालिकाभित्रका सबै विद्यालयहरूमा टाँस्नका लागि जनप्रतिनिधिहरूलाई सचेतनामूलक पोस्टर र सामाजिक सन्देश प्रवाह गर्ने सामग्रीहरू उपलब्ध गराइने छ।
विद्यार्थीहरूलाई सचेत बनाउन १५० जनाभन्दा बढी शिक्षकहरूलाई लागूऔषधविरुद्ध कक्षा सञ्चालन गर्न तालिम दिइने छ। शिक्षकहरूलाई दुर्व्यसनीका प्रारम्भिक लक्षण पहिचान, आधारभूत परामर्श र ‘रिफरेल सिस्टम’बारे सिकाइने छ।
युवाहरूलाई लक्षित गरी प्रहरी र स्थानीय युवाहरूबीच ५ वटा मैत्रीपूर्ण फुटबल प्रतियोगिता गराइने छ, जसले सामिप्यता बढाउन र सूचना आदानप्रदान गर्न मद्दत गर्नेछ।
राजनीतिक दल, सामाजिक संघसंस्था र नागरिक समाजको सहयोगमा ७१ वटा प्रहरी एकाइहरूमार्फत समुदाय स्तरमा क्लबहरू गठन गरिने छ। यसले सूचना आदानप्रदान गर्ने र उत्कृष्ट क्लबलाई सम्मानित गर्ने लक्ष्य राखेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले लागुऔषधको समस्या नियन्त्रण गरेर मात्र नभई, सबै पक्षबीच सहकार्य गरेर मात्र न्यूनीकरण गर्न सकिने स्पष्ट पारिन्।
कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले झापामा लागुऔषध दुर्व्यसनको अवस्था अत्याधिक रहेको र यसले देशकै भविष्य प्रभावित पार्न सक्ने चिन्ता व्यक्त गरे।
उनले भने, “अबको ५ वर्ष यही रफ्तारमा लागुऔषधको प्रयोग बढ्ने हो भने कोही पनि अछुतो रहँदैन र योग्य नागरिक खोज्न निकै मेहनत गर्नुपर्ने दिन आउनेछ।”
साधारण मानिसका लागि निजी सुधार गृहमा राख्न गाह्रो हुने भएकाले नेपाल प्रहरीको धरानस्थित सुधार गृहलाई केही सस्तो र परिणाममुखी बनाउन यसै आर्थिक वर्षदेखि बजेट छुट्याएर प्रभावकारी ढङ्गले सञ्चालन गरिने जानकारी समेत मुख्यमन्त्रीले दिए।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले झापामा लागुपदार्थ दुर्व्यसन र कारोबार यति तीव्र छ कि अब कुनै पनि अभिभावकले मेरा सन्तति यसमा फसेका छैनन् भनेर ढुक्क हुने अवस्था नरहेको बताए।
समाधानमा ढिलाइ गर्न नहुने भन्दै उनले प्रत्येक अभिभावकलाई आफ्ना सन्तानको गतिविधि र साथीसङ्गतिको ख्याल राख्न सुझाव दिए।
त्यस्तै, प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले लागुऔषध दुर्व्यसन सिङ्गो समुदाय र राष्ट्रकै डरलाग्दो रोग भएको उल्लेख गरे।
कानुन एउटा स्थायी पात्र मात्र भएकाले व्यक्ति, परिवार र समुदायको चेतनाले मात्र यसको नियन्त्रण सम्भव हुने उनको भनाइ थियो।
उनले जिल्ला प्रहरी कार्यालय झापाको यो कदमको प्रशंसा गर्दै जिल्ला प्रशासन कार्यालय आवश्यक सहकार्य र सहयोगका लागि सदैव प्रतिबद्ध रहेको बताए।
भर्खरै
लोकप्रिय
