- विराटनगरमा २९ वर्षीय रुविन कार्कीले चक्कु प्रहार गर्दा दुई प्रहरीसहित तीन जना घाइते भएका छन्।
- परिवारका सदस्यले कार्कीलाई सुधार गृह पठाउन खोज्दा घटना भएको र तीनै जनाको टाउकोमा सामान्य चोट लागेको छ।
- घाइतेलाई अस्पताल लगिएको छ र कार्कीलाई हतियारसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।
मोरङ – सुधार गृह पठाउनका लागि घरका परिवार सदस्यले तयार गरिरहँदा विराटनगरमा एक ब्यक्तिले चक्कु प्रहार गर्दै दुई प्रहरीसहित तीन जनलाई घाइते बनाएका छन्। विराटनगर वडा नम्बर एकमा २९ वर्षीय रुविन कार्कीले आइतबार गराएको घटनामा स्थानीय तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
मोरङ प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक मकेन्द्रकुमार मिश्रका अनुसार घाइते हुनेमा विराटनगर भट्टा चौकस्थित सिआरभीका प्रहरी सहायक निरीक्षक भोजराज रेग्मी, प्रहरी जवान हिमाल घिमिरे र नेपाल सुधार गृहका कर्मचारी सन्तोष सापकोटा रहेका छन्।
तीनै जनाको टाउकोमा सामान्य चोट लागेको उनले बताए। लागुपदार्थको लतमा फसेका कार्कीलाई सुधारका लागि घरका सदस्यले काठमाडौं पठाउने क्रममा सो घटना भएको हो। यसका लागि काठमाडौंबाट साथीभाई नेपाल सुधार गृहबाट प्रतिनिधि समेत कार्कीलाई सम्झाउन घर पुगेका थिए। तर, कोठा बन्दगरि आत्महत्याको प्रयास गर्न थालेपछि सिआरभीको टोली सो घरमा पुगेको थियो।
यसक्रममा प्रहरी, स्थानीय र परिवारका सदस्यले सम्झाउने क्रममा कार्कीले खाटमा लुकाइ राखेको चक्कु निकालेर अन्धाधुन्ध प्रहार गरेको प्रहरीले जनाएको छ। चक्कुप्रहारबाट घाइते भएका तीनै जनालाई स्थानीय अस्पतालमा उपचारका लागि पुर्याएको र प्रहरीको थप टोली घटनास्थल पुगेको थियो।
मोरङ प्रहरीका सूचना अधिकारी मिश्रले घटनामा संलग्न कार्कीलाई धारिलो हतियारसहित हाल नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको बताए। रामेछाप जिल्ला घर भएका कार्कीको परिवार पछिल्लोसमय मोहन भट्टराईको सो घरमा भाडामा बस्दै आएका थिए।
भर्खरै
लोकप्रिय
