- कोशी प्रदेश लगानी प्राधिकरणले २ अर्ब ८ करोड ५३ लाख रुपैयाँको पिपिपि मोडलमा चार आयोजना स्वीकृत गरेको छ।
- सुनसरी र उदयपुरमा फोहर मैला व्यवस्थापन, चिस्यान गोदामघर, कृषि प्रशोधन, र ताल संरक्षण परियोजनामा लगानी हुनेछ।
- बसपार्कदेखि भारतीय सीमाक्षेत्रसम्म ६ अर्बको पोड वे निर्माणको लागि प्रतिवेदन तयार गर्न अनुमति दिइएको छ।
मोरङ – विराटनगरस्थित कोशी प्रदेश लगानी प्राधिकरणले प्रदेशको आर्थिक विकासका लागि विभिन्न क्षेत्रका चार वटा आयोजनाको लगानी स्वीकृत गरेको छ।
बिहीबार विराटनगरमा प्राधिकरणले पत्रकार सम्मेलन गर्दै पिपिपि मोडलअन्तर्गत निर्माण हुनेगरी २ अर्ब ८ करोड ५३ लाख रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको जनाएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक सरोज कोइरालाले सो लगानी प्राधिकरणको ३३ औं बैठकले स्वीकृत गरेको जानकारी दिए।
कार्यकारी निर्देशक कोइरालाले चार आयोजनामध्ये सुनसरीको दुहबीमा फोहर मैला ब्यवस्थापन परियोजना र बहुउद्देश्यीय चिस्यान गोदामघर र कृषि उपज प्रशोधन रहेका छन्। उनले फोहर मैला ब्यवस्थापनका लागि ५५ करोड ९५ लाख रुपैंया र चिस्यान गोदामघरका लागि ३४ करोड लगानी हुने बताए।
त्यसैगरी, सुनसरीको रामधुनीस्थित रास ताल क्षेत्रको संरक्षण पूर्वाधार विकास तथा सञ्चालनका लागि ९८ करोड ५८ लाख रुपैया लगानी हुनेछ। उदयपुरको बेलका नगरपालिकामा रामपुर बहुउद्देश्यीय कृषि फार्म कम्पनीले करिब २० करोड रुपैयाको लगानीमा फोहर मैला ब्यवस्थापनसहित मल कारखाना र पशुपालन परियोजनालाई अघि बढाउने उनले बताए।
प्राधिकरणले लगानी स्वीकृत भएका आयोजना चलु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको जनाएको छ।
त्यसैगरी, विराटनगरको बसपार्कबाट भारतीय सीमाक्षेत्र रानीसम्म ६ अर्ब रुपैयाको लगानीमा पोड वे निर्माण गर्न काठमाडौंस्थित एक कम्पनीले प्रतिवेदन तयार बनाउन अनुमति पाएको प्राधिकरणले जनाएको छ।
पत्रकार सम्मेलनमा प्राधिकरणले लिम्चुङबुङ परियोजना, ग्रीन हाइड्रोजन, बायोइथानोल, र गुप्तबराह मोनो रेलजस्ता योजनामा लगानीको सम्भाव्यता खोजी गरिरहेका लगानीकर्तासँग समन्वय गरिरहेको जनाएको छ।
भर्खरै
लोकप्रिय
