काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले आफूले पार्टी विभाजन गरेर नयाँ दल गठन गर्न लागेको भनेर कुप्रचार गरिएको बताएका छन्।
सोमबार काठमाडौँमा आयोजित ‘वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवाद’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले आफू जीवनभर गुटबन्दीको विरोध गर्दै आएकोले पार्टी फुटाउने वा नयाँ पार्टी खोल्ने कुनै योजना नरहेको बताएका हुन्।
उनले भने, ‘केही मान्छेहरूले झलनाथले अर्को पार्टी खोल्न थालेछ, पार्टी फुटाउन लागेछ भनेर कुप्रचार गरेछन्। म ती कुप्रचारकहरूलाई फेरि एकपटक भन्न चाहन्छु, साथीहरू कुप्रचारको खेल कसैले पनि नखेल्नुहोस्। झलनाथ खनाल कहिल्यै एउटा गुट पनि नबनाएको मान्छे हो। गुट बनाउने कुरा पनि गलत हो भन्दै आएको मान्छे हो।’
उनले अहिलेको लोकतान्त्रिक व्यवस्थाको अधिकतम उपयोग गर्दै समाजवादी लोकतन्त्र स्थापनाका लागि समाजवादी क्रान्ति र समाजवादी रूपान्तरण आवश्यक रहेको बताए।
आन्दोलनभित्र देखिएका विकृति, असमझदारी र विचलनलाई वैचारिक बहसमार्फत समाधान गर्नुपर्ने आवश्यकता रहेको भन्दै उनले ‘वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवाद’ पुस्तक लेखेको बताए।
नेता खनालले वैज्ञानिक समाजवादको स्पष्ट वैचारिक आधार निर्माण गर्नु अहिलेको आवश्यकता रहेको पनि बताए।
भर्खरै
लोकप्रिय
