- कलाकार किरण केसीलाई ‘राता मकै’ नामले चिने पनि उनले बुवाको चाहनाविपरीत क्यारेक्टर कलाकारितामा करियर बनाए।
- मह जोडीसँगको संगतले केसीले गायन, अभिनय र फिल्म निर्माताको यात्रामा सफलता पाएका छन्।
- केसीले ‘राता मकै चोक’ स्थापना गर्दै समाजसेवामा सक्रिय रहेर, सामुदायिक विकासका कामहरूमा महत्वपूर्ण योगदान दिएका छन्।
‘ए राता मकै’ वाक्य, थेगोको रूपमा कलाकार किरण केसीले टेलिभिजन कार्यक्रम हास्य सिरियल ‘जिरे खुर्सानी’मा बोलेका थिए। थेगो बिस्तारै जनजिब्रोमा बस्यो। उनलाई चिन्नेहरूले राता मकै भनेर बोलाउन थाले। असली नाम किरण त बिर्सिए। जनजनमा राता मकै उपनामले चिनिए उनी। उनै राता मकै उर्फ किरण केसी यसपालि देश सञ्चार चौतारीमा गफिन पुगे।
‘अहो एसएलसीमा चार चोटी फेल भएकालाई पनि यत्रो मिडियाले सम्झियो,’ केसीले देश सञ्चार स्टूडियोमा पुग्नेबित्तिकै भने।
पढाइमा फटकपटक फेल भएका केसी जीवनमा भने सधैँ पास भए। तर विदेशतिर यात्रा गर्दा पढाइको महत्व खड्किन्छ। ‘नपढेर पनि नेपालको ६५ वटा जिल्ला घुमेँ। विदेश पनि घुमेँ तर अंग्रेजी बोल्ने ठाउँमा भने नपढेकोमा पीडा हुन्छ।’
उनका बुवा नेपाली सेनाका जागिरे थिए। बुवाको सपना थियो छोरोले पढोस्। जागिरे खाओस्। इज्जत बढाओस्। बुवाले भन्दा ठूलो काम गरोस् तर केसी पढाइभन्दा कलामा रमाउँथे। अभिनय उनका लागि पढाइभन्दा माथि थियो। आफ्नै घरको पछाडिको ढोकाबाट नाटक खेल्नकै लागि काठमाडौँ हिँडिदिन्थे। इमाडोलबाट बस चढेर रत्नपार्क झर्थे। भाडा नभएका दिन खलासीलाई धम्काएर पनि बस चढ्न छोडेनन्। ‘घरबाट नाटक सिक्नकै लागि भागेर हिँड्नु पर्थ्यो। मकै भटमासको खाजा लिएर काठमाडौँ पुगिन्थ्यो। बस चढे पनि भाडा हुन्थेन। बसवाला र खलासीलाई धम्काउने कि त दोस्ती बनाउने गरिन्थ्यो। त्यसैले पढ्न हिँडेको छोरो अभिनयतिर लहसिएँ,’ उनले भने।
राष्ट्रिय नाचघरमा कलाकारको खोजी भएको सूचना उनले पाए। इमाडोलबाट उनी नाचघर पुगे। काम थियो, नाटककार बालकृष्ण समको नाटकमा अभिनय गर्नु। त्यो नाटकमा ‘हिरो’ खेले उनले। त्यही कामले मन जिते पछि उनी नाचघरको जागिरे पनि भए।
जागिरकै सिलसिलामा उनको भेट भयो हरिवंशसँग। कलाकार हरिवंश कुकुरको स्वर नकालेर जागिर सुरु गरेको केसी सम्झिन्छन्- ‘हरिवंशले कुकुरको आवाज निकालेर काम पाएका थिए। मेरो भन्दा बढी तलब पाए। मेरो तलब बढेन।’
यही क्रममा उनले मदनकृष्णसँग भेटे। भजन गाउन खप्पिस कलाकार मदनकृष्ण श्रेष्ठबाट गायनमा लत लागेको बताउँछन् केसी। र आफूलाई बदल्न सकेको ‘जस’ पनि मह जोडीलाई दिन्छन्। ‘जीवनमा असल मान्छे हुन सकेको संगतले हो। म बिग्रिन पनि सक्थें। हरिवंश र मदन दाइहरूको संगतमा हुन्थिनँ भने म आज यहाँ हुन्थिनँ।’
केसी अहिले पनि हरिवंशलाई ‘तिमी’ र मदनकृष्णलाई ‘तपाईं’ सम्बोधन गर्छन्। केसी गायक पनि हुन्। आफ्नो स्वर खासै नरुचाउँदा पनि उनले एलबम निकाले। फिल्मका लागि गीत गाए। भन्छन्, ‘म गायक भएको पनि संगतले हो। म बेला-बेला पुराना गीत गाउँदो रहेछु। तँ गाउन सक्छस् भनेर भने। मैले कोसिस गर्न छोडिन।’
रंगमञ्चबाट अभिनय यात्रा गरे पनि केसीले मह जोडीको टेलिचलचित्रबाट आफूलाई व्यवसायिक कलाकारका रूपमा अगाडि बढाएका थिए। पाँच दशक भन्दा लामो अभिनय यात्रामा उनले मह जोडीका सबै टेलिश्रृंखला र ‘तीतो सत्य’ ‘जिरे खुर्सानी’ जस्ता चर्चित हाँस्य सिरियलमा काम गरेका छन्।
त्यसैगरी उनले फिल्म निर्माणमा पनि हात हाले र त्यसलाई निरन्तरता दिइरहेका छन्। ‘तँ त साह्रै बिग्रिस् नि बद्री’ उनैले निर्माण गरेको फिल्म हो। फिल्म सुपरहिट भयो। क्रमश, ‘सत्रु गते’ ‘दाल भात तरकारी’ ‘बीर बिक्रम’ ‘छक्का-पञ्जा’लगायतका फिल्ममा निर्माताका रूपमा काम गरे।
केसीले ‘२ निमेष’ ‘ज्वाला’ जस्ता टेलिश्रृंखला पनि बनाए। अहिले त उनको छोरो उनको बाटोलाई पछ्याइरहेका छन्। र, निर्देशन कर्म गरिरहेका छन्।
पछिल्लो समय साङ्गीतिक भिडिओमा मोडलको रूपमा प्रस्तुत भइरहेका केसीले एकसाथ तीन गीत तयार गरे। उनले नेपाल भाषाको ‘छन्त खं सँ’ र नेपाली भाषाको ‘होला होला भन्दै’मा गायनसँगै अभिनय पनि गरे। यस्तै ‘ए रात’ बोलको गीतमा उनको अभिनय मात्र छ। यस्तै ‘कस्तो जमाना आयो’ ‘ताराबाजी लैलै’ मा पनि काम गरे।
राता मकै गेट
जीवनमा कलाकारिता भन्दा अरु केही गर्न मन छ भने उनलाई सामाजसेवा हो। समाजसेवा उनको लगाव हो । र समाजसेवा उनले आफ्नै गाउँटोलबाट गरे। ललितपुरस्थित महालक्ष्मी नगरपालिकाको इमाडोलमा उनको घर छ। घर नजिकै चोक छ, जहाँ उनले आफ्नै उपनामको ‘राता मकै गेट’ बनाए। यो गेट बनाउनुको कथा पनि गहिरो छ। ‘मेरो घर नजिकै एउटा चोक छ। त्यो चोकलाई धेरैले राता मकै चोक भनेर चिन्न थालेका रहेछन्। नपत्याएर चोकमा लुकेर सुनें । माइक्रो बस कराउँछ राता मकै चोक राता मकै चोक। म दंगदास भएर घरमा सुनाएँ। मेरी श्रीमतीले पत्याइनन्। पछि अन्य मान्छेले भनेपछि थाहा पाइन्। जब स्थानीयले चोकको नाम नै राता मकै चोक राखिदिए पछि मैले गेट बनाउन के भयो र,’ उनले भने। झन्डै छ लाखको लागतमा बुवा दुर्गाबहादुर केसी र आमा इन्द्रकुमारी केसीको सम्झनामा उनले गेट बनाएका हुन्।
फूर्तिला किरण उमेरले सत्तरी नजिक पुग्दै छन्। अभिनय छोडेका छैनन्। स्थानीय तहको समाजसेवामा केसीले अतुलनीय काम गरेका छन्। उनले स्कुलको भवन बनाएका छन्। प्रहरीको कार्यालय बनाइदिए। त्यसैगरी सात दोबाटोमा प्रहरी वृत्तको भवन बनाए। मन्दिर र सडक पनि बनाएका छन्। अहिले त राता मकै चोक। राता मकै मार्ग पनि स्थापित भइसकेको छ। उनी भन्छन्, ‘आफूले सक्दो मात्रै गरेको हुँ। देश बन्न हरेक नागरिकले हातोमालो गर्न आवश्यक छ।’
मनकारी राता मकै समाजसेवीको भाव आफ्नै हजुरमुवाबाट आएको बताउँछन्। त्यसैले उनी अहिले पनि केही न केही गरिरहेका छन्।
उनले अहिले फिल्म र पत्रपत्रिकामा काम गरेका स्रष्टालाई सम्मान पनि गर्दै आइरहेका छन्। दुई दशकदेखि असार १५ गते आफ्नै क्षेत्रमा कर्म गरिरहेकालाई नगर राशीसहित सम्मान गर्दै आइरहेका छन्। भन्छन्, ‘मलाई यस्ता काम गर्न साह्रै आनन्द लाग्छ।’
उनी अभिनय गर्छन्। गीत गाउँछन्। समाजसेवा पनि गर्छन्। समय–समयमा सामाजिक सञ्जालमा सामाजिकसँगै राजनीतिक विषयमा आफ्ना धारणा सार्वजनिक गरिरहन्छन्।
उनी प्रधानमन्त्री बालेन्द्र साहसँग धेरै आशाबादी सुनिए कार्यक्रमका क्रममा । ‘मुलुकले राम्रो प्रधानमन्त्री पाएको छ। शक्तिशाली प्रधानमन्त्री सदनमा पनि जानु पर्छ,’ उनले भने, ‘उहाँ अभिभावक हो। मेरो नाती नातिनीको भाग्य कोर्ने भाग्य विधाता हो उहाँ। भतिजो सहर प्रधानमन्त्री पाउँदा खुसी छु।’
केसी मुलुकप्रति गम्भीर सुनिए। राष्ट्रलाई कमजोर पार्ने काम नागरिकले नै गरेको बताउँछन् उनी। त्यसैगरी उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पनि खुलेर प्रशंसा गरे। उनले लामिछानेसँग अमेरिकामा लामो यात्रा गरेको पनि स्मरण गरे। उनी भन्छन्, ‘बालेन र रविले यो सरकारलाई पाँच वर्षसम्म सँगसँगै लैजाऊन्। पूर्वाग्रह राखेर प्रतिशोध नसाँचू्न। शुभकामना छ।’
भर्खरै
लोकप्रिय
