काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता देवराज गुरुङले गत भदौको जेन–जी आन्दोलनपछि नेपालको संविधान कोमामा पुगेको बताएका छन्।
बिहीबार काठमाडौँमा आयोजित ‘वर्तमान विश्वमा युद्ध र शान्तिको समस्या’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले संविधान नाममा मात्रै सीमित भएको बताए। उनले बहुदलीय लोकतान्त्रिक व्यवस्थाको कार्यान्वयन शून्यप्रायः अवस्थामा रहेको बताए।
उनले भने, ‘नेपालको संविधान, नेपालको डेमोक्रेसी त एक प्रकारले सिध्याइसकेको छ। जेन–जी आन्दोलनदेखि संविधानलाई कोमामा पुर्याइसकेको छ। अहिले संविधान नाम मात्रको छ, कुनै पनि कार्यान्वयन भएको छैन। मल्टिपार्टी डेमोक्रेसी कुनै पनि कार्यान्वयन भएको छैन, नाम मात्रको रुपमा सीमित छ। एक प्रकारले डेमोक्रेसी समाप्त भइसकेको अवस्था छ।’
उनले विश्वमा बढ्दो युद्ध र साम्राज्यवादी हस्तक्षेपविरुद्ध उत्पीडित राष्ट्रहरूबीच बृहत्तर सहकार्य आवश्यक रहेको पनि बताए । उनले नेपालसहित एसिया, ल्याटिन अमेरिका र अफ्रिकाका मुलुकहरू साम्राज्यवादबाट प्रभावित रहेको भन्दै शान्ति, स्थिरता र दीगो विकासका लागि आपसी समझदारी र सहकार्यलाई सुदृढ बनाउनुपर्ने बताए।
उनले विश्वका स्वतन्त्र राष्ट्रहरूले आ–आफ्नो संविधान, कानुन, अर्थतन्त्र र मूल्य–मान्यताअनुसार शान्ति र समृद्धिको मार्गमा अघि बढ्नुपर्नेमा जोड दिए।
भर्खरै
लोकप्रिय
