मोरङ – विराटनगर–जोगबनी सीमा नाकाको तीन नम्बर ढाटतर्फ जाने सडकमा सवारी आवतजावत रोकिने गरी सिक्री लगाइएपछि स्थानीय र सवारीचालकले विरोध गरेका छन्।
बिहीबार दिउँसो सो क्षेत्र हुदै रानीको चाइना मार्केटसम्म उपभोक्ता, यात्रुलाई पुग्न असहज हुने गरि सिक्री लगाएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन्।
यस विषयमा विराटनगर भन्सार कार्यालयले आफूहरुलाई कुनै जानकारी नरहेको जनाएको छ।
कार्यालयका सूचना अधिकारी विमलकुमार साहले सो क्षेत्रमा कार्यालयले सिक्री नलगाएको र सिक्री लगाउने विषयमा आफूहरुले पनि बुझ्ने प्रयास गरिरहेको बताए।
त्यसैगरि, सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी बलको टोलीले पनि सडक क्षेत्रमा लगाएको सिक्रीको विषयमा अनभिज्ञता जनाएको छ।
सीमा क्षेत्रबाट यात्रुलाई चाइना मार्केट हुँदै विराटनगर लैजानका लागि सहज हुने गरेको सिटी सफारी चालकहरुको भनाई छ। त्यसैगरि, स्थानीय ब्यापारीहरुले पनि सिक्री लगाएर नेपाली बजारको ब्यापारमा अवरोध पुराउन खोजिएको गुनासो गरेका थिए।
बिहीबार केहीसमय भएको प्रर्दशनसंगै सशस्त्र प्रहरी बलको टोलीले स्थिती नियन्त्रणमा लिएको थियो। प्रर्दशनसंगै सडकमा लगाइएको सिक्रीपनि हटाइएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक गेहन्द्रबहादुर भण्डारीले जानकारी दिए।
भर्खरै
लोकप्रिय
