काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको बताएका छन्।
आइतबार काठमाडौँमा पार्टीको उपत्यका प्रदेश समिति एकता समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्व राजनीतिमा कम्युनिष्ट तथा वामपन्थी विचारधाराको प्रभाव क्रमशः बढ्दै गएको दाबी गरेका हुन्।
उनले संयुक्त राज्य अमेरिकादेखि युरोपसम्म कम्युनिष्ट गतिविधिहरू सञ्चालन भइरहेको बताए। उनले ल्याटिन अमेरिकी देशहरूमा वामपन्थीहरूले चुनाव जितेर राष्ट्रपति बनेको र अफ्रिकी मुलुकहरूमा समेत यसको प्रभाव विस्तार भइरहेको उल्लेख गरे।
उनले चीन हाल विश्व राजनीतिको केन्द्रबिन्दु बन्दै गएकोसमेत बताए। उनले चिनियाँ र भियतनामी कम्युनिष्ट पार्टीका अनुभवहरू मात्र नभई गैरवामपन्थी शक्तिहरूले गरेका सकारात्मक कार्यहरूबाट पनि सिक्न हिच्किचाउन नहुने बताए।
उनले भने, ‘अमेरिकामा समेत कम्युनिष्टहरू चल्न थालेका छन्। युरोपका देश देशहरूमा पनि त्यही हिसाबले जुलुस प्रदर्शन भइरहेको छ। ल्याटिन अमेरिकाका देशहरूमा वामपन्थीहरू राष्ट्रपतिमा जितेका छन्, अफ्रिकाका देशहरूमा पनि वामपन्थीको प्रभाव बढिरहेको छ। त्यसो हुनाले अन्तर्राष्ट्रिय राजनीतिमा चुनौती त छन्, तर साम्राज्यवादको हालत के छ? इरानलाई तह लगाउँछु भनेर ठानेका थिए, त्यही इरानसँग सम्झौता गर्न पुगेका छन्। पार नलागेपछि पाकिस्तानको सहयोग लिनुपर्छ कि चीनको सहयोग लिनुपर्छ भन्दै फेरि चीनमै पुगेका छन्। चीनमा पुगिसकेपछि आज चीन विश्व राजनीतिको केन्द्र बन्न पुगिरहेको छ।’
उनले कार्यकर्ताहरूलाई जिम्मेवारीप्रति गम्भीर बन्दै संगठन विस्तारमा जुट्न आह्वानसमेत गरे। उनले काठमाडौँमा रहेर पार्टीको जिम्मेवारी सम्हालिरहेका कार्यकर्ताहरूलाई दोहोरो भूमिका निर्वाह गर्न निर्देशन दिए। कार्यक्षेत्र राजधानी भए पनि आ–आफ्नो गृहजिल्ला र स्थानीय तहका जनतासँग निरन्तर संवादमा रहन उनको आग्रह छ।
भर्खरै
लोकप्रिय
