- भारतीय सीमा जोगबनीबाट लागुऔषध सेवन गरी विराटनगर प्रवेश गरेका दुई युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
- पक्राउ परेका पेशल घिमिरे र राहुल सरदारले आफूलाई पत्रकार बताउँदै विराटनगरमा प्रहरीसँग भनाभन गरेका थिए।
- नियन्त्रणमा लिएपछि, प्रहरीले उनीहरूले प्रयोग गरेको मोटरसाइकल र फेला परेको पत्रकार परिचयपत्र पनि जफत गरेको छ।
मोरङ – लागुऔषध सेवन गरी विराटनगरमा प्रहरीसँग भनाभन गर्ने क्रममा दुई जना नियन्त्रणमा परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार भारतीय सीमा जोगबनीबाट लागुऔषध सेवन गरी विराटनगर प्रवेश गरेका विराटनगर पुष्पलाल चौकका पेशल घिमिरे र राहुल सरदारलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
कार्यालयका अनुसार आइतबार दिउँसो विराटनगरको दरैयाबस्तीमा पत्रकारको परिचय पत्र देखाउदै प्रहरीसंग भनाभन गर्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिइएको हो। उनीहरुलाई लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले नियन्त्रणमा लिएको हो। यसक्रममा उनीहरूले प्रयोग गरेको प्रदेश १–०२–०४१ प २०९० नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
घिमिरेको साथबाट शब्द एक्सप्रेस अनलाइनको पत्रकार परिचयपत्र फेला परेको बताइएको छ। त्यसैगरी, सरदार जागो मधेश नामक संस्थामा आवद्ध भएको देखिएको छ।
यता नेपाल पत्रकार महासंघ मोरङका सचिव नेत्र पी अधिकारीले आफ्नो संस्थाको परिचय पत्रबारे संस्था आफँै सचेत हुनुपर्ने बताए। प्रहरी नियन्त्रणमा रहेका दुवैजना महासंघ सदस्य नभएको बताएका सचिव अधिकारीले सम्बन्धित संस्थाहरुलाई समेत कार्डमा जारी मितिदेखि सबैकुरा प्रष्ट खुलाएर राख्नुपर्नेमा जोड दिए। हाल पक्राउ परेका दुवैजनाको कार्डमा समयवाधि प्रष्ट नकिटेको हुँदा संस्थाहरुले आफ्नो संस्थाको कार्ड प्रयोग कसरी कहाँ हुँदै छ भन्ने हेक्का राख्नुपर्ने उनले बताए।
यद्यपि, परिचय पत्रमा समयावधि उल्लेख नभएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ परेका दुबै जनालाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखी लागुऔषध सेवन, प्रहरीमाथि अभद्र व्यवहार तथा अन्य सम्बन्धित कसुरमा थप अनुसन्धान भइरहेको छ।
भर्खरै
लोकप्रिय
