- स्पेनले उत्कृष्ट प्रदर्शन गर्दै समूह विजेता बन्यो र लगातार ३४ खेल अपराजित रहँदै उत्कृष्ट दावेदारका रूपमा उभिएको छ।
- पोर्चुगलले भने संघर्षपूर्ण यात्रा गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ, जहाँ रोनाल्डोको अन्तिम विश्वकप हुनसक्ने चर्चा छ।
- १८ वर्षीय लामिन यामाल स्पेनका उदाउँदा खेलाडी हुन्, जसले अस्ट्रियाविरुद्ध म्यान अफ द म्याच प्रदर्शन गरे।
फिफा विश्वकप फुटबल अन्तर्गत अन्तिम १६ मा सोमबार फुटबलका चर्चित दुई फरक पुस्ताका प्रतिनिधिबीच रोचक भिडन्त हुँदैछ। ४१ वर्षीय स्ट्राइकर क्रिस्टियानो रोनाल्डो नेतृत्वको पोर्चुगलले १८ वर्षीय उदाउँदो सुपरस्टार लामिन यामाल प्रेरित स्पेनको सामना गर्नेछ।
‘आइबेरियन डर्बी’ का रूपमा चिनिने यो खेल गत वर्षको यूईएफए नेसन्स लिगको फाइनलको पुनःभेटका रुपमा समेत मानिएको छ। त्यसबेला पोर्चुगलले युरोपियन च्याम्पियन स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै उपाधि जितेको थियो।
तर यसपटक अवस्था फरक छ। समूह चरणमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको पोर्चुगलभन्दा स्पेनलाई स्पष्ट दाबेदारका रूपमा हेरिएको छ। अनुभवी स्टार रोनाल्डोको टोलीले अन्तिम १६ सम्मको यात्रा सहज बनाउन सकिरहेको छैन्। निरन्तर संघर्षपूर्ण खेलको सामना गर्नु परेको छ।
स्पेन भने प्रतियोगिता अघि बढ्दै जाँदा आफ्नो लय र आत्मविश्वास दुवै बलियो बनाएको छ। समूहचरणको पहिलो खेलमा केप भर्डेसँग गोलरहित बराबरीमा रोकिए पनि त्यसपछि स्पेनले उत्कृष्ट खेल प्रदर्शन गरेको छ। आकर्षक पासिङ, सशक्त आक्रमण र मजबुत रक्षापङ्क्तिका कारण स्पेनलाई १६ वर्षपछि पुनः विश्वकपको क्वाटरफाइनल पुग्ने बलियो दाबेदार मानिएको छ।
अन्तिम १६ सम्मको यात्रा
पोर्चुगल समूह ‘जे’मा पाँच अंकसहित दोस्रो स्थानमा रहँदै नकआउट चरणमा पुगेको थियो। उसले उज्बेकिस्तानलाई हरायो भने कंगो र कोलम्बियासँग बराबरी खेल्यो। अन्तिम ३२ को खेलमा भने क्रोएसियाविरुद्ध एक गोलले पछि परेको अवस्था उल्टाउँदै २-१ को विवादास्पद जित निकाल्दै अन्तिम १६ मा स्थान सुरक्षित गर्याे।
अर्को तर्फ स्पेन भने समूह ‘एच’को विजेता बन्यो। उसले साउदी अरेबिया र उरुग्वेलाई पराजित गर्यो भने केप भर्डेसँग गोलरहित बराबरी खेल्यो। अन्तिम ३२ मा अस्ट्रियामाथि ३-० को प्रभावशाली जित निकाल्दै स्पेनले आफ्नो दाबेदारी थप बलियो बनायो।
स्पेन लगातार ३४ खेलदेखि अपराजित छ। टोलीले २५ खेल जितेको र ९ खेल बराबरी खेलेको छ। अब उसले सन् २००७ देखि २००९ बीच बनाएको लगातार ३५ खेल अपराजित रहने आफ्नै कीर्तिमान बराबरी गर्ने अवसर पनि पाएको छ।
के यो रोनाल्डोको अन्तिम विश्वकप हो?
४१ वर्षको उमेरमा पनि क्रिस्टियानो रोनाल्डो पोर्चुगलका सबैभन्दा प्रभावशाली खेलाडी हुन्। यद्यपि मैदानभित्रको प्रभाव पहिले जस्तो तीव्र नरहे पनि उनको व्यक्तित्व र नेतृत्व टोलीका लागि अझै ठूलो प्रेरणा बनेको छ। साथै उनी बल पाउँदा जुनसुकै समयमा घातक बन्न सक्ने भएकाले स्वभाविक नजर उनीमाथि हुने छ।
विश्वकपअघि नै यो प्रतियोगिता उनको अन्तिम विश्वकप हुन सक्ने चर्चा चलेको थियो। रोनाल्डो स्वयंले भविष्यबारे स्पष्ट केही बताएका छैनन्, तर उनकी दिदीले विश्वकपपछि उनले राष्ट्रिय टोलीबाट सन्न्यास लिने संकेत दिएकी छन्।
त्यसैले अब पोर्चुगलको प्रत्येक नकआउट खेल रोनाल्डोका लागि ‘गर या मर’को अवस्थाजस्तै बनेको छ। यदि पोर्चुगल स्पेनसँग पराजित भयो भने, सम्भवतः त्यो अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डोको अन्तिम खेल हुने छ।
क्लब र राष्ट्रका लागि असंख्य उपाधि जितिसकेका रोनाल्डोको चम्किलो करियरमा विश्वकप उपाधि भने अझै अधुरै छ। यदि यसपटक पनि पोर्चुगलको यात्रा यहीँ टुङ्गियो भने विश्वकप ट्रफी उनको उपलब्धिको सूचीमा कहिल्यै नजोडिन सक्छ।
यामाललाई बल लागेको छ विश्वकप
प्रतियोगिता सुरु हुनुअघि ह्यामस्ट्रिङ चोटका कारण विश्वकप यात्रा प्रभावित हुने चिन्ता रहे पनि १८ वर्षीय लामिन यामाल अहिले स्पेनका सबैभन्दा प्रभावशाली खेलाडीमध्ये एक बनेका छन्।
अस्ट्रियाविरुद्धको अन्तिम ३२ को खेलमा ‘म्यान अफ द म्याच’ बनेका यामालले दुई वर्षअघि युरो २०२४ जिताउने क्रममा देखाएको जादुमयी प्रदर्शनलाई विश्वकपमा पनि निरन्तरता दिएका छन्।
यामाल भन्छन्, ‘म प्रत्येक चरण पार गर्दै स्पेनलाई विश्वकप जिताउन चाहन्छु। हामी कुनै पनि टोलीसँग डराउँदैनौं। हामी स्पेन हौं।’ उनले थपे, ‘अब मात्रै वास्तविक विश्वकप सुरु भएको छ।’
यामालले यस विश्वकपमा हालसम्म एक गोल गरेका छन् भने मिकेल ओयारजाबाल चार गोलसहित स्पेनका सर्वाधिक गोलकर्ता छन्। लगातार ३४ खेल अपराजित रहेको स्पेन सन् २०१० पछि दोस्रो विश्वकप उपाधिको खोजीमा छ।
कसको सम्भावना कति?
अप्टा सुपरकम्प्युटरको अनुमानअनुसार निर्धारित ९० मिनेटभित्र स्पेनको जित्ने सम्भावना ४९.२ प्रतिशत छ। पोर्चुगलको जित्ने सम्भावना २५.६ प्रतिशत रहेको छ। त्यस्तै खेल अतिरिक्त समयमा पुग्ने सम्भावना २५.२ प्रतिशत रहेको अनुमान गरिएको छ।
भर्खरै
लोकप्रिय
