काठमाडौँ – नेपाली कांग्रेसका नेता चन्द्रकान्त भण्डारीले राजनीतिक दलहरूले जात, भूगोल र संघीयताको विषयमा जनतालाई मूर्ख बनाउँदा बनाउँदै आफैँ मूर्ख बनेको भेउ पाउन नसकेको बताएका छन्।
सोमबार काठमाडौँमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। विकास निर्माणका आयोजनामा प्रभावकारी नीति र उपलब्ध प्राकृतिक स्रोत उपयोग गर्न नसक्दा सर्वसाधारण नागरिकले अपेक्षित लाभ नपाएको उनको भनाइ छ।
उनले कालीगण्डकी नदी थुनेर विद्युत उत्पादन गरिए पनि प्रभावित क्षेत्रका नागरिकको जीवनस्तरमा उल्लेखनीय सुधार हुन नसकेको बताए। उनले जल, जमिन र जंगल जनताकै सम्पत्ति भनेर भाषण गरेका राजनीतिक दलहरूले त्यसको उपयोग गरी नागरिकलाई लाभ दिन नसकेको टिप्पणी गरे।
उनले भने, ‘हामीले जल, जमिन, जंगल जनताको भनेर नागरिकलाई मूर्ख बनायौँ। तर हामीलाई आफू मूर्ख भएको थाहा छैन। कहिले जातको नाममा मूर्ख, कहिले छालाको नाममा मूर्ख, कहिले जेन्डरको नाममा मूर्ख, कहिले भूगोलको नाममा मूर्ख, कहिले प्रदेशको नाममा मूर्ख, कहिले संघीयताको नाममा गरेर हामीले जनतालाई मूर्ख बनायौँ। विभिन्न आयोजनामा समेत पैसा भएकाले लगानी गरेर नाफा खाए, जनताका जहाँको त्यहीँ छ।’
उनले किसानले उत्पादनदेखि बजारसम्म अनेक समस्या भोगिरहेको पनि बताए। उनले खेतमा बाली नष्ट गर्ने, अनुदान दुरुपयोग गर्ने र आन्तरिक उत्पादनलाई बजार नदिने गरी तीन थरी बाँदरहरू रहेको व्यंग्यात्मक टिप्पणी गरे।
उनले किसानले उत्पादन बिक्री गर्ने समयमा सीमाना खुला हुँदा भारतबाट आयातित कृषि उपजसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्थाका कारण कृषि क्षेत्र धराशायी हुँदै गएको बताए।
भर्खरै
लोकप्रिय
