- नेपाली कांग्रेसका सभापति गगन थापाले गणेश नेपालीको घटनालाई राजनैतिक बहस वा दोषारोपणको विषय नबनाउन आग्रह गरेका छन्।
- उनले उक्त घटना राज्य सञ्चालनसँग जोडिएको सामूहिक आत्मचिन्तनको विषय बनाउनुपर्ने र यसप्रति इमानदार उत्तर खोज्नुपर्ने बताएका छन्।
- थापाले गणेश नेपालीप्रतिको साँचो श्रद्धाञ्जली भविष्यमा यस्ता घटनाहरू नदोहरिने वातावरणको निर्माण हुनेमा जोड दिएका छन्।
काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले गणेश नेपालीको मृत्युको घटनाले समाज, राज्य र समग्र नेपालीलाई आत्मचिन्तन गर्न बाध्य बनाएको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै थापाले उक्त घटनालाई राजनीतिक बहस वा दोषारोपणको विषय नबनाउन आग्रह गरेका छन्। उनले यो एउटा नागरिकको जीवन, एउटा परिवारको असह्य पीडा र समग्र समाजको मानवीय संवेदनासँग जोडिएको विषय भएकाले सबैले संयमित र जिम्मेवार ढंगले लिनुपर्ने बताएका छन्।
थापाले गणेश नेपालीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। साथै, कठिन घडीमा परिवारलाई साथ दिन र सकेसम्म सहयोग गर्न सबैमा आग्रह गरेका छन्।
उनले विगत वा वर्तमान कसको दोष भन्ने बहसभन्दा पनि यस्ता घटनालाई राज्य सञ्चालनसँग जोडिएको सामूहिक आत्मचिन्तनको विषय बनाउनुपर्ने धारणा राखेका छन्।
थापाले एउटा युवा किन यति ठूलो निराशाको बिन्दुसम्म पुग्छ, आफ्ना पीडा सुनाउन किन आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था सिर्जना हुन्छ, राज्यका सेवा र संयन्त्रले नागरिकलाई किन आड, साथ र भरोसाको अनुभूति गराउन सकेनन् तथा समाज, परिवार, राज्य र नागरिकका रूपमा कहाँ कमजोरी भयो भन्ने प्रश्नको इमानदार उत्तर खोज्नुपर्ने बताएका छन्।
उनले भविष्यमा कुनै पनि नागरिकले यस्तो पीडादायी बाटो रोज्न नपर्ने वातावरण निर्माण गर्नु नै गणेश नेपालीप्रतिको साँचो श्रद्धाञ्जली हुने उल्लेख गरेका छन्।
भर्खरै
लोकप्रिय
