- गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीको आत्मदाह प्रकरणमा संघीय सरकारको कुनै भूमिका नरहेको दाबी गर्दै प्रतिक्रियात्मक बयान दिए।
- गुरुङले सांसदहरूलाई नेपालीको स्वास्थ्य उपचारबारे बुझ्न वीर अस्पताल जानु भनेर प्रश्न गर्दै सरकार सञ्चालन सिकाउन चाहेको बताए।
- नेपालीलाई राति एयर एम्बुलेन्समार्फत भारत लैजान चाहेपनि स्वास्थ्य अवस्थाका कारण नसकेको बताएका थिए।
काठमाडौँ- राहदानी विभागअगाडि बिहीबार आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधनपछि प्रतिनिधिसभामा सांसदहरूले प्रश्न उठाएपछि गृहमन्त्री सुधन गुरुङ आत्मदाह प्रकरणमा संघीय सरकारको कुनै भूमिका नरहेको भन्दै टक्टकिएका छन्। प्रतिनिधिसभामा जवाफ दिने क्रममा बहकिएका र प्रश्नभन्दा बाहिर उत्तर दिएका गृहमन्त्री गुरुङ भावुक मात्र देखिएनन्, आक्रोशित पनि देखिए।
उनले आफूले गृहमन्त्रालयमा बसेर गर्नुपर्ने काम गरिरहेको उल्लेख गर्दै संसद्मा घाँटी चिच्याएर बोल्नेमध्ये कतिजनाले बिहीबार वीर अस्पताल गएर नेपालीको स्वास्थ्य उपचारबारे बुझ्नुभयो भनी प्रश्न गरेका छन्।
उनले आत्मदाह गरेका नेपालीको पीडा आफूलाई थाहा भएको तर उनको निधनमा आफ्नो कुनै दोष नरहेको बताएका थिए। ‘उनको बाइकमा ह्विललक ट्राफिक प्रहरीले लगाएको हो कि महानगर प्रहरीले लगाएको होला?’ उनले प्रश्न गरेका छन्।
उनले राति नै एयर एम्बुलेन्समार्फत नेपालीलाई उपचारका लागि भारत लैजान लागेको तर उनको स्वास्थ्य अवस्थाका कारण लैजान नसकिएको बताएका थिए।
उनले सांसदहरूलाई भने- ‘म सरकार कसरी सञ्चालन हुन्छ भनेर सिकाउन चाहन्छु।’
उनले आफूले सहेको धेरै भएको र यसले घुँटन भएको पनि बताए। उनले भने- ‘धेरै भयो मैले सहेको अब घुँटन भइसक्यो, गाह्रो भइसक्यो।’
उनले आफूले गरेकाजस्ता स्टन्टबाजी सबै सांसदहरूबाट पनि चाहेको उल्लेख गर्दै आफू नेपालीको सुरक्षाका लागि रातभर खटेको दाबी पनि गरे।
सुरुमा सभामुख डोरप्रसाद अर्यालले बोल्न समय दिएपछि रोस्ट्रममा आएका गृहमन्त्री गुरुङ केहीबेर बोल्न नसकेर बाहिरिएका थिए। त्यसपछि कानुनमन्त्री सोविता गौतमले उनलाई फेरि रोस्ट्रममा फर्काएकी थिइन्।
भर्खरै
लोकप्रिय
