काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढीपीडितको नाजुक अवस्था बुझ्न र राज्यसँग जवाफ माग्न पुगेका युवाहरू माजिद अन्सारी, नहेन्द्र खड्का र सरिश्मा थापालगायतमाथि प्रहरीले निर्ममतापूर्वक कुटपिट गरी नियन्त्रणमा लिनु चिन्ताजनक, लज्जास्पद र घोर निन्दनीय भएको भन्दै आपत्ति प्रकट गरेका छन्।
प्रहरीले शनिबार अपराह्न अन्सारी, खड्का र थापालाई लछारपछार गर्दै पक्राउ गरेको थियो।
यही प्रसंगमा गगनले भनेका छन्- ‘करुणाविहीन त छँदै थियो यो राज्य, तर यति धेरै असहिष्णु पनि?’
उनले लोकतन्त्रमा प्रश्न सोध्न पाउनु नागरिकको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै गिरफ्तारी, लाठी वा दमन यसको जवाफ हुननसक्ने जिकिर पनि गरेका छन्।
‘सरकार बलियो र विधिको हिमायती तब हुन्छ, जब उसले फरक मत र आलोचना सुन्ने छाती राख्छ। आलोचनालाई दमन गरेर होइन, संवाद र उत्तरदायित्वमार्फत सम्बोधन गर्नु राज्यको दायित्व हो। फरक मत र जनताको प्रश्न सुन्न नसक्नु बहादुरी होइन, सत्ताको चरम कायरता हो!गिरफ्तार गरिएका सम्पूर्ण युवाहरूलाई अविलम्ब निशर्त रिहा गरियोस्!’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
भर्खरै
लोकप्रिय
