- अभिनेत्री काजल कर्णले छायांकनका क्रममा मधेसी भएकैले जातीय विभेद र अपमान झेल्नुपरेको आरोप लगाएकी छिन्।
- निर्देशकदेखि मेकअप आर्टिस्टसम्मको दुर्व्यवहारले नेपाली फिल्म उद्योगमा जातीय विभेदको बहस पुनः चर्किएको छ।
- निर्देशक आचार्यले काजलको आरोप अस्वीकार गरे, तर काजलले उनका स्पष्टीकरणलाई खारेज गर्दै विभेदको लडाइँलाई जारी राख्ने बताएकी छन्।
धेरै अभिनेत्रीहरू फिल्म छायांकन स्थलमा कमै बोल्छन्। बोले पनि ‘धेरै जान्ने’ भन्ने आरोप खेप्नुपर्ने वा पाइरहेको काम गुम्ने डर हुन्छ। तर आत्मसम्मानमा चोट पुगेपछि आवाज उठाउन सकिने उदाहरण बनेकी छन्- अभिनेत्री काजल कर्ण।
कर्णले दिपकप्रसाद आचार्य निर्देशित नेपाली फिल्म ‘चिरञ्जीवी भवः’को छायांकनका क्रममा आफूले मधेसी भएकै कारण जातीय तथा क्षेत्रीय विभेद र अपमान भोग्नुपरेको आरोप लगाएकी छन्। उनको खुलासासँगै नेपाली फिल्म उद्योगमा जातीय तथा नश्लीय विभेदको विषय फेरि एकपटक बहसको केन्द्रमा आएको छ।
३५० भन्दाबढी थारू भोजपुरी र मैथिली गीतमा अभिनय गरिसकेकी काजलले सामाजिक सञ्जालमार्फत निर्देशकदेखि मेकअप आर्टिस्टसम्मबाट आफूले मधेसी भएकै कारण मानसिक तनाव र अपमान सहनुपरेको दाबी गरेकी हुन्।
उनकाअनुसार सबैभन्दा पीडादायी अनुभव मेकअप गर्ने क्रममा भयो। मेकअप आर्टिस्टले जानीजानी अनुहारमा कालो रङ लगाइदिएको र त्यसपछि ‘ओइ मधेसेनी’ भन्दै आफूलाई जिस्क्याउँदै हाँसेको उनले उल्लेख गरेकी छन्। ‘मेरो माटो र पहिचानको उपहास गरियो,’उनले सामाजिक सञ्जालमा लेखेकी छन्।
काजलले ‘चिरञ्जीवी भव:’ सुटिङ सेटमा मुख्य अभिनेत्री प्रशंसा रायमाझी र चीफ एडी (सहायक निर्देशक) नेत्रबाट पनि अपमानित हुनुपरेको बताएकी छन्। इटहरीको सुटिङ लोकेसनमा मेकअप रुममा प्रवेश गर्दा प्रशंसा रायमाझीले मेरो रुमको माहोल नबिगार्दिनुस् भन्दै आफूलाई राख्न नदिएको र चीफ एडीले उल्टै आफूलाई थर्काएको उनी बताउँछिन्। डिजाइनरले नाप लिएर पनि अन्तिम समयमा आफ्नै लुगा व्यवस्था गर्न भनिएको र प्रोडक्सन टिमले गाडीको व्यवस्था नगरी बिहानैदेखि सास्ती दिएको उनको गुनासो छ।
साथै काजलले स्क्रीप्टमा नभएको काम गराउँदै आएको बारे पनि लेखेकी छन् । ‘स्क्रिप्टमा नभएको सिन फोहोर उठाउने र कुचो लगाउने दृश्यहरू गराइयो।’
पीडा त्यतिमा मात्र सीमित रहेन। इटहरीमा सुटिङ भइरहेका बेला बाँकी पारिश्रमिक माग्दा कार्यकारी निर्माता शैलेश खत्रीले झूट बोलेर बोलाएको र त्यहाँ पुग्दा आफ्नो ठाउँमा अर्कै कलाकार राखिसकिएको उनले बताइन्। निर्देशक दीपकप्रसाद आचार्यको आदेशमा आफूलाई कुनै पूर्वजानकारी बिना फिल्मबाट हटाइएको र लुगा लिन मात्र बोलाएको भन्दै अपमान गरिएको बताएकी छन्। कलाकार देशका गहना हुन् । मेकरले तिनलाई समान व्यवहार गर्नु पर्थ्यो र पर्छ । तर जात र भूगोलको आधारमा कलाकारलाई गरिने व्यवहारमा काजलले प्रश्न गरेकी छन्-‘के मधेसी हुनु नै हाम्रो गल्ती हो? के हामीले आफ्नो श्रमको मूल्य माग्नु अपराध हो?’
नेपाली फिल्म उद्योगभित्र मधेसी कलाकारले भोग्नुपर्ने सङ्कीर्ण सोचको पर्दाफास उनले गरेकी हुन्। आफूलाई फिल्मबाट हटाइए पनि आफ्नो सपना र हिम्मत नहारेको बताउने काजल आफ्नो पारिश्रमिक पाउनु पर्ने मत राख्छिन्।
सुटिङ सेटभित्र भएको भनिएको व्यवहार, कलाकारको आत्मसम्मान, श्रमको मूल्य र पहिचानसँग जोडिएका गम्भीर प्रश्न उठ्नुका साथै विभेद, अपमान, पारिश्रमिकमा अन्याय र व्यावसायिक दुर्व्यवहारले सामाजिक सञ्जालमा तीव्र बहस सुरु भएको छ।
यतिखेर फिल्मकर्मी, कलाकार, सामाजिक अभियन्ता र आम प्रयोगकर्ताले आफ्ना धारणा राखेका छन् भने, कसैले काजलको साहसको प्रशंसा गरेका छन्। कसले के लेखे त?
कसले के भने ?
काजल कर्णको आरोप सार्वजनिक भएपछि फिल्मकर्मीहरूले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउन थालेका छन्। धेरैले नेपाली फिल्म उद्योगमा कुनै पनि प्रकारको जातीय वा क्षेत्रीय विभेद स्वीकार्य नहुने बताएका छन्।
फिल्म निर्देशक दिपक रौनियारले’तिमी त मधेसी हौ, मधेसीको रङ यस्तै त हुन्छ नि’भन्ने वाक्य उद्धृत गर्दै त्यसप्रति दुःख व्यक्त गरेका छन्।
अंग्रेजीमा लेखिएको आफ्नो प्रतिक्रियामा उनले भनेका छन्, ‘काजल, नेपाली फिल्म उद्योगको एक सदस्यका रूपमा हाम्रो सेटमा यस्तो भएकोमा म लज्जित छु। तपाईंले भोग्नुपरेको अनुभवका लागि म माफी चाहन्छु। बोल्न साँच्चै साहस चाहिन्छ। तपाईं सम्मानबाहेक अरू केहीको हकदार हुनुहुन्न। धन्यवाद। यो कुराकानी धेरै ढिलो भइसकेको थियो।’
चलचित्र निर्देशक केपी पाठकले पनि यस घटनाप्रति सरकार र चलचित्र क्षेत्रका पेशागत संगठनहरूको ध्यान जानुपर्ने बताएका छन्। उनका अनुसार चलचित्र क्षेत्र समावेशी हुनुपर्छ, जहाँ कुनै पनि प्रकारको विभेद स्वीकार्य हुँदैन।
उनले सत्यतथ्य छानबिन गरी आवश्यक कदम चाल्न पेशागत संगठनहरूको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै लेखेका छन्, ‘यस्ता संवेदनशील अवस्थामा आफ्ना सदस्यको पक्षमा उभिने, संवाद गराउने र न्यायपूर्ण निकास निकाल्ने जिम्मेवारी पेशागत संगठनहरूको हो।’
रंगकर्मी तथा अभिनेत्री दिया मास्के काजलले आफूले भोगेको अनुभव सार्वजनिक गरेको साहसको प्रशंसा गरेकी छन्। उनले लेखेकी छन्, ‘म यस्तो कुनै पनि प्रकारको दुर्व्यवहारको कडा विरोध र निन्दा गर्छु। बहिनी, तिम्रो साहसलाई सलाम। आफ्नो अनुभव नडराई सार्वजनिक रूपमा राखेर तिमीले धेरै नयाँ कलाकारलाई पनि बोल्ने हिम्मत दिएकी छौ। अन्यायविरुद्ध आवाज उठाउनु नै परिवर्तनको पहिलो कदम हो।’
त्यसैगरी रंगकर्मी पवित्रा खड्काले भाषा, समुदाय, क्षेत्र, भूगोल, रङ, लिङ्ग, जात वा धर्मका आधारमा हुने कुनै पनि प्रकारको विभेद अस्वीकार्य भएको बताएकी छन्।
उनले काजललाई सम्बोधन गर्दै लेखेकी छन्, ‘डियर काजल कर्ण, हामीले पाएको जुनसुकै भूमिका पनि पूर्ण मेहनतका साथ निर्वाह गर्ने हो। तर कुनै पनि प्रकारको विभेद सहनु हुँदैन। तिम्रो यो आँटलाई मेरो पूरा साथ छ।’
कलाकार इस्टु कार्कीले काजलको स्ट्याटस सेयर गर्दै मधेसी पहिचानका आधारमा हुने विभेदमाथि प्रश्न उठाएकी छन्। उनले लेखेकी छन्, ‘म यो पत्रमार्फत प्रश्न गर्न चाहन्छु, के मधेसी हुनु नै हाम्रो गल्ती हो ? के हामीले आफ्नो श्रमको मूल्य माग्नु अपराध हो?’ कार्कीले मधेसको माटोले आफूलाई सङ्घर्ष गर्न सिकाएको उल्लेख गर्दै ‘मधेसको माटोले मलाई लड्न सिकाएको छ, हार्न होइन। म लड्नेछु, आफ्ना लागि र मजस्ता थुप्रै सपना देख्ने मधेसी छोरीका लागि’ भन्ने अभिव्यक्ति पनि सार्वजनिक गरेकी छन्।
कलाकार उषा रजकले भने फरक ढङ्गले विषय उठाएकी छन्। उनले काजल कर्णप्रति समर्थन जनाउँदै निर्देशक दीपकप्रसाद आचार्यमाथि पनि विश्वास व्यक्त गरकी छन्।
उनका अनुसार, यदि ठुलो टिमभित्र यस्तो व्यवहार भएको हो भने निर्देशकलाई त्यसबारे थाहा नभएको पनि हुन सक्ने अनुमान गरेकी छन् । उनले पीडितसँग संवाद, माफी र भविष्यमा यस्ता घटना नदोहोरिने प्रतिबद्धतामार्फत विवाद समाधान गर्न सकिने सुझाव दिएकी छन्। उनको प्रतिक्रिया सामाजिक सञ्जालमा देखिएको तुलनात्मक रूपमा सन्तुलित दृष्टिकोणमध्ये एक मानिएको छ।
काजलको न्यायका लागि सामाजिक सञ्जालमा केही रंगकर्मी बोले पनि चल्तीका फिल्ममेकरहरु भने बोलेका छैनन्। दिपक राज गिरी, रेखा थापा,मनोज पण्डितलगायतले सबै प्रकारका विभेदका विरुद्व बोल्दै आइरहेका हुन् तर यतिञ्जेल उनीहरुले सामाजिक सञ्जालमा कुनै प्रतिक्रिया व्यक्त गरेका छैनन र पेशागत संगठन,चलचित्र निकट सरकारी संघसंस्था र सरोकारवालाहरु पनि मौन छन्।
के भने निर्देशक आचार्यले के भने?
२७ गते शनिबारअपरान्ह निर्देशक दिपकप्रसाद आचार्य ‘काकु’ले आरोप अस्वीकार गर्दै आफ्ना तर्फबाट स्पष्टीकरण सार्वजनिक गरे। उनकाअनुसार काजलको आरोपमा सत्यता नरहेको बताएका छन्। उनले लेखेका छन्-जातीय विभेदको आरोपबारे निर्देशक आचार्यले आफूहरूले कलाकारलाई कुनै जात वा समुदायका आधारमा छनोट नगरेको स्पष्ट पारेका छन् । ‘उहाँ मधेसी समुदायको हुनुहुन्छ भन्ने कुरा मैले उहाँको स्टाटस पढेपछि मात्र थाहा पाएँ’, निर्देशक आचार्यले लेखेका छन्– ‘हाम्रो लागि कुनै जातीय वा क्षेत्रीय समुदाय छैन, संसारमा एउटै समुदाय छ- मानव समुदाय ।’
त्यसैगरी पारिश्रमका बारे उनले लेखेका छन्-बिहान ७ः३० बजेका लागि तय गरिएको छायांकनमा कलाकार काजल कर्ण बिहान ९ बजेसम्म पनि उपस्थित नभई अन्ततः सहायक निर्देशकमार्फत आफू नआउने सन्देश पठाएको दावी गरेका छन्। त्यसपछि करिब ७० सदस्यीय युनिटलाई थप पर्खाइमा नराखी छायांकन अघि बढाइएको उनको भनाइ छ । पारिश्रमिकका विषयमा पनि निर्माण पक्षसँग छलफल गर्दा डबिङपछि भुक्तानी गरिने तेस्रो किस्ता मात्र बाँकी रहेको जानकारी आफूले पाएको उनले उल्लेख गरेका छन् ।
परिवर्तन नेपालका महासचिव देवेन्द्र पाण्डेद्वारा जारी विज्ञप्तिमा जात, वर्ण, लिङ्ग वा अन्य कुनै पनि आधारमा हुने भेदभाव अन्त्य गर्न सबै पक्ष प्रतिवद्ध हुनुपर्ने उल्लेख गर्दै घटनासम्बन्धी तथ्य सार्वजनिक गरी आमजनतामा देखिएको अन्योल अन्त्य गर्न आग्रह गरिएको छ।
निर्देशक आचार्यको स्पष्टीकरणपछि फेरि के भन्छिन् काजल?
निर्देशक आचार्यको ६ बुदे स्पष्टीकरणलाई काजलले थप खण्डन गरेकी छन् । उनले लेखेकी छन् सत्यलाई फिल्मको ‘क्यानभास’ मा जति नै रंग्याउन खोजे पनि यसको वास्तविक रंङ कहिल्यै खुइलिँदैन। ‘चिरञ्जीवी भवः’ को सेटमा मैले जे भोगेँ, त्यो मेरो आत्माले मात्र जानेको छ।’
तर निर्देशक दीपकप्रसाद आचार्य ज्यूको ६ बुँदे ‘स्पष्टीकरण’ पढेपछि मलाई महसुस भयो-फिल्मको पर्दामा कथा बुन्न सिपालु उहाँ, वास्तविकतालाई बंग्याउन पनि उत्तिकै खप्पिस हुनुहुँदो रहेछ। तर स्मरण रहोस्, सेटको लाइट र क्यामराले सत्यलाई सधैँ छोप्न सक्दैन।
सेटमा भएको नश्लीय दुव्र्यवहार, अनुशासनको नक्कली दुहाई, किस्ताको झूटो खेल, पहिचानमाथिको प्रहार, इटहरीको त्यो चरम अपमान, स्क्रिप्ट र नियतजस्ता शीर्षक दिएर घटनालाई स्पष्ट पार्न खोजेकी काजल लेख्छिन्- ‘निर्देशक ज्यू, एउटा भूमिका खोसेर तपाईंले आफ्नो फिल्म त पूरा गर्नुहोला, तर एउटी मधेशी छोरीको आत्मसम्मानमा पुर्याएको चोटको हिसाब कुनै पनि ‘सिनेम्याटिक लेन्स’ ले मेट्न सक्ने छैन। यो लडाइँ अब मेरो मात्र रहेन, यो फिल्म क्षेत्रभित्र हुने हरेक रङ्गभेद र श्रम शोषणविरुद्धको लडाइँ हो।’
भर्खरै
लोकप्रिय
