काठमाडौँ १ मा मैले जितेको भए सुकुम्वासीमाथि अमानवीय व्यवहार हुने थिएन: प्रवल थापा

+
-
देशसञ्चार AI सारांश
  • सरकारले सुकुम्वासीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्छु भनी थापाथली, शंखमुल क्षेत्रमा डोजर चलायो, तर व्यवस्थापन हुन सकेन।
  • होल्डिङ सेन्टरमा बस्न बाध्य भएकाहरूलाई सरकारले २५,००० रूपैयाँ कोठा भाडा उपलब्ध गराउने निर्णय गर्यो।
  • व्यवस्थापनमा सरकारले कमजोरी देखाएको भन्दै सुकुम्वासीले माइतीघर मण्डलामा प्रदर्शन गर्दा मानव अधिकारकर्मी र राजनीतिज्ञले समर्थन जनाए।

काठमाडौँ– खोला किनारमा रहेका सुकुम्वासीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने भन्दै सरकारले वैशाख १२ गते थापाथली, शंखमुललगायत क्षेत्रमा डोजर चलायो।

सुकुम्वासी बस्तीमा डोजर चलाएर सरकारले विभिन्न होल्डिङ सेन्टरमासमेत दुई महिनाभन्दा बढी समय राख्यो। बस्तीमा डोजर चलाउँदै गर्दा सरकारले १५ दिनमा स्थायी रुपमा व्यवस्थापन हुने हल्लासमेत फैलाएको थियो।

तर तीन महिना पुग्न लाग्दासमेत व्यवस्थापन त हुन सकेन नै, होल्डिङ सेन्टरमा अहिले सुकुम्वासीको बिचल्ली भएको छ। शनिबार राति कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बाढी पसेपछि आश्रय लिइरहेका सुकुम्वासीको बिचल्ली भयो। उनीहरूलाई त्यहाँबाट उद्धार गरेर भक्तपुर सारिएको छ।

अन्य होल्डिङ सेन्टरमा पनि सुकुम्वासीले सास्ती भोग्दै आएका छन्। सरकारले २५ हजार रुपैयाँ काेठा व्यवस्थापन र मासिक १५ हजार तीन महिनाका लागि दिने निर्णय गरेर आफै कोठा खोजेर जान भनेपछि कतिपय होल्डिङ सेन्टरबाट सुकुम्वासीले छाड्न बाध्य भएका छन्।

होल्डिङ सेन्टर छाड्न नसकेकाहरूलाई सरकारले छाड्नका लागि दबाब दिइरहेको छ।

सुकुम्वासी व्यवस्थापनमा सरकारले गैर जिम्मेवार व्यवहार देखाएको भन्दै फौजदारी अभियोगमा कारबाही हुनुपर्नेसमेत माग उठिसकेको छ। उचित व्यवस्थापनको माग गर्दै आइतबार सुकुम्वासीले माइतीघर मण्डलामा प्रदर्शन गरे। त्यहाँ ऐक्यबद्धता जनाउन अधिकारकर्मी केही राजनीतिज्ञसमेतको उपस्थित भएका थिए।

उक्त प्रदर्शनमा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ का नेपाली कांग्रेसबाट फागुन २१ मा उम्मेदवार रहेका प्रवल थापा पनि सहभागी थिए। उनले आफ्ना मतदाताको बिचल्ली भएको र उनीहरूको न्यायका लागि एक्यबद्धता जनाउन आएको बताए।

उनीसँग हामीले संक्षिप्तमा सुकुम्वासी व्यवस्थापनमा सरकार कहाँ चुक्यो? कसरी सुकुम्वासी व्यवस्थापन गर्न सकिन्थ्यो? लगायत विषयमा कुराकानी गरेका छौँ।

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ तपाईंको निर्वाचन क्षेत्र पनि हो। फागुन २१ गते भएको निर्वाचनमा तपाईं रास्वपाकी नेतृ रञ्जु दर्शनासँग पराजित हुनु पनि भएको थियो। अहिले तपाईंकै क्षेत्र थापाथली, शंखमुललगायत ठाउँबाट उठाइएका सुकुम्वासीको बिचल्ली भइरहेको दृष्य देख्नु भएको छ। यस्तो अवस्थामा कस्तो लाग्दै छ?  

म नेपाली कांग्रेस पार्टीबाट काठमाडौँ १ मा चुनाव लडेको थिएँ। त्यसको मत परिणाम यहाँहरु सबैलाई थाहा छँदैछ। म अहिले यहाँ आएको ऐक्यबद्धता जनाउन आएको हुँ। नागरिकको रुपले म यहाँ उपस्थित भएको छु। जुन सुकुम्वासी बस्तीको समस्या थियो, छ, त्यो समस्या विगत लामो समयदेखि यो क्षेत्रले भोग्दै आएको हो।

मेरो आफ्नो व्यक्तिगत धारणा भन्नुपर्दा, यो व्यवस्थापनलाई चाहिँ न्यायोचित किसिमले व्यवस्थापन गरिएको भए आजको जुन अवस्था सिर्जना भएको छ, जुन अमानवीय हामीले फेसबुकबाट, सोसल मिडियाबाट देखिरहेका छौँ, त्यो व्यवस्थापनमा सरकार पक्षबाट कमजोरी भयो भन्नको लागि म यहाँ उपस्थित भएको छु।

सरकारको यो कस्तो कमजोरी हो जस्तो लाग्छ?

यो व्यवस्थापन गर्नुपर्ने कुरा उहाँहरु (सकुम्वासी)लाई कहाँ लगेर राख्ने हो, को सुकुम्वासी हुन्, को होइनन्छ भन्ने लगत संकलन र डाटा कलेक्सनमै कमजोरी देखिएको छ। होल्डिङ सेन्टरमा लगेर २५ हजार रुपैयाँ दिँदैमा सबै कुरा समाधान हुँदैन। अब यहाँबाट तपाईंको लगभग २ हजार २ सय मतदाताहरु विस्थापित हुनुभएको छ।

उहाँहरु जाँदाखेरि अब त्यो बालबच्चामा पर्न गएको मानसिक एउटा असर र परिवारमा गर्न पर्न गएको एउटा आर्थिक भार, यो सबै कुरा सरकारले पहिले निराकरण गरेर अनि त्यसपछि यसको फुलप्रुफ प्लान लिएर आएर अगाडि आएको भए यो यहाँसम्मको अवस्था आउँदैन भन्ने लाग्छ।

तपाईं सडकमा ऐक्यबद्धता जनाउन आउनुभएको छ। अब सरकार कसरी अगाडि बढोस् भन्ने लागेको छ?

हिजोको कीर्तिपुरको होल्डिङ सेन्टरको दृश्य देखियो, एउटा उहाँहरुको विषयमा आवाज उठाउन जाँदाखेरी राज्यको तर्फबाट शक्ति प्रदर्शन भएको छ। त्यो शक्ति प्रदर्शनलाई राज्यले दम्भ देखाएको रुपमा लिनुपर्छ। राज्यले अहङ्कार देखाएर यो समस्याको समाधान हुन्छ जस्तो मलाई लाग्दैन।

बास उठाइसकेपछि उहाँहरुलाई उचित व्यवस्थापन गर्नुपर्ने सरकार पक्षको जिम्मेवारी हो। अझै समस्या समाधान भएको छैन। यो विषयहरुमा र लगत कलेक्सन, एक्चुअल सुकुम्बासी को हुन् र कसले एक्चुअल भन्दा बाहिर आएका छन् भन्ने कुराको डाटाको स्पष्टता हुनुपर्‍यो। यसको न्यायोचित व्यवस्थापन नै प्रमुख एजेन्डा हो मेरो।

तपाईं भएको भए के यसरी उठाउने नै हुनुहुन्थेन त?

हामी भइदिएको भए उहाँहरुको पहिला यसरी उठाएर अमानवीय व्यवहार हुने थिएन। सारा देशले नै देखिरहेको कुरा हो। मानवअधिकार हनन् हुने किसिमले, उहाँहरुलाई मानसिक प्रभाव पर्ने किसिमले, बालबच्चालाई शिक्षामा, स्वास्थ्यमा नि गाह्रो हुने किसिमले  व्यवस्थापन हुन्थेन। पहिला लगत उठाएर यसलाई न्यायोचित व्यवस्थापन गरिन्थ्यो।

तपाईंलाई पराजीत गरेर रास्वपाकी नेतृ रञ्जु दर्शना अहिले संसदमा हुनुहुन्छ। उहाँको निर्वाचन क्षेत्रका जनताले दु:ख पाउँदा उहाँको भूमिका देखिदैन। तपाईं के भन्न चाहनुहुन्छ?

हामीले चुनाव लडेको जनतालाई चाहिने सेवा गर्ने हो, जुनसुकै पार्टीबाट लडेपनि आफ्नो आस्था आफ्नो ठाउँमा हुन्छ। हामीले भनेको जनतालाई सेवा दिने, जनतालाई न्याय गर्ने भनेर नै चुनाव लडिन्छ। न्याय दिनेमा उहाँ (रञ्जु)को आवाज बुलन्द हुनुपर्ने थियो। अमानवीय, क्रूरताको आवाज संसदबाट उहाँले उठाउनुपर्छ।

यदि तपाईं रञ्जु दर्शनाको ठाउँमा भइदिएको भए के गर्नुहुन्थ्यो त?

मैले अघि नै भने, त्यो ठाउँ भइदिएको भए पहिला बस्तीसँग सम्बन्धित निकायसँग बसेर एक्चुअल लगत संकलन गर्ने काम गरिन्थ्यो।

जबसम्म यो न्यायको ढोका खुल्दैन र यो घच्घच्याउने काम जारी रहन्छ, न्यायको लागि हामी सधैँभरि साथ दिन्छौँ।

रञ्जुले पार्टीसँग सक्नुभएन नि त!

सक्दिन भन्न मिल्दैन। गर्नुपर्‍यो  नि त। पार्टीसँग सक्दिन भन्ने कुरा त अहिले म पार्टीको निर्णय लिएर यहाँ आएको होइन नि त। म त एउटा नागरिकको हिसाबले मानवअधिकारको हनन् भयो, त्यो किसिमले आएको हो नि। मलाई पार्टीले यहाँ जाऊ भनेर भनेको होइन।

त्यस्तै गरेर उहाँ (रञ्जु)ले आफ्नो पार्टीमा नि यो विषय उठाउनु पर्‍यो नि। यत्रो हजारौँ मान्छे विस्थापित हुँदा, हजारौँ मान्छे, बालबालिका वञ्चित हुँदाखेरि नि यति पनि आवाज उठाउन नसक्ने भए त त्यसको के अर्थ रह्यो र?

आफ्नो मतदाताहरु अलपत्र परेको देख्दा कस्तो लाग्दो रहेछ, एउटा प्रतिनिधि भएको हिसाबले?

आफ्नो मतदाताको मात्र कुरा भएन यो। म त अब तपाईंको चुनाव उठ्नु भन्दा नि उहाँहरुसँग सम्पर्कमै थिएन नि त। यो अहिले चुनाव उठेर मतदाताको रुपमा उहाँहरु, म उम्मेदवारको रुपमा आएँ।

तर, हामी त सबै सिटिजन यही क्षेत्रको थियौँ। पीडा हुन्छ। एकदमै ठुलो पीडा हुन्छ। अहिले म आवाज उठाउने ठाउँमा छैन। त्यो कारणले गर्दाखेरी उहाँहरुको यो दुःखमा कसरी साथ पुर्‍याउन सकिन्छ भनेर नै ऐक्यबद्धता जनाउन आएको हो।

निश्चय नै यो देशमा जुनसुकै देशैभरी, राज्यभरि आफ्नो जनतालाई समस्या पर्दाखेरी म समाजसेवी भएको कारणले पनि यस्तो पीडा हुन्छ, ठुलो पीडा हुन्छ।

यो सडकमा कहिलेसम्म साथ दिनुहुन्छ त?

यो सुरुवात हो। अब हेर्दै जाऊँ न, साथ त दिइहालिन्छ नि। जबसम्म यो न्यायको ढोका खुल्दैन र यो घच्घच्याउने काम हाम्रो नि जारी रहन्छ, यस्तो आज आयो अनि त्यसपछि भोलि यसमा ऐक्यबद्धता नहुने भन्ने हुँदैन। न्यायको लागि हामी सधैँभरि साथ दिन्छौँ।

तपाईं यो क्षेत्र नम्बर १ को उम्मेदवार हुनुहुन्थ्यो। तपाईंको मतदाताहरु अहिले जुन बिचल्लीमा पर्नुभएको छ सुकुम्बासी क्षेत्रको, उहाँहरुले तपाईंलाई खोजेको या केही तपाईंसँग गुनासो गरेको गर्नुभएको छ कि छैन?

गर्नुभएको छ। सुरुदेखि नै छौँ। हामी तपाईंको भत्काउँदाखेरी उहाँहरुसँगबसेरै सरसल्लाह गरी नै राखेका छौँ। तर अब, त्यो निकायमा, त्यो ठाउँमा हामीले चाहेर पनि दिन सक्ने अवस्था छैन र हामीले आफ्नो व्यक्तिगत तवरबाट, हाम्रो आफ्नो टिमबाट गर्नुपर्ने कुराहरु उहाँहरुलाई सहयोग गरि नै राखेका छौँ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…