- जखेरा तालको मनमोहक दृश्य चुरे पहाडको फेदमा अवस्थित भएर पर्यटकहरूलाई आकर्षित गरिरहेको छ।
- वैशाख र जेठ महिनामा झण्डै दुई लाख आन्तरिक तथा बाह्य पर्यटकहरू ताल अवलोकन गर्न आए।
- तालमा पाँच वटा डुङ्गा छन्, तर कम सङ्ख्याका कारण केही पर्यटक दुःखी हुन्छन्।
दाङ – यहाँस्थित जखेरा तालको मनमोहक दृश्यले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याइरहेको छ। दाङको लमही नगरपालिका–३ मा पर्ने जखेरा सरोवर उत्कृष्ट पर्यटकीय केन्द्रका रुपमा परिचित छ।
चुरे पहाडको फेदमा अवस्थित छ, जखेरा। नजिकै मुसुण्डी गाउँ, उतरतर्फ चुरे पहाड र पहाडको बीचमा सरोवर। यस्तै दृश्यले यहाँ आउने जो कोही लठ्ठ पर्ने गरेको बताइन्छ।
वैशाख, जेठ महिनामा ताल अवलोकनका लागि झण्डै दुई लाख आन्तरिक तथा बाह्य पर्यटक आएका तालका कर्मचारी ओमभक्त चौधरीले जानकारी दिए।
सरोवरमा घुमघाम र वन भोजका लागि आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ। झण्डै आठ बिघा क्षेत्रफलमा फैलिएको छ, ताल । गहिराइ सात फिट रहेको छ। उत्तरतर्फ गणेश तथा पूर्वमा सिद्देश्वर महादेवको मन्दिर पनि।
जलाशयमा ढुङ्गाबाट सयर गर्न सकिन्छ, तालका बीचमा मन्दिरको पूजा पनि। पूर्वमा भगवान् गौमबुद्धको मूर्ति, वरपर बनभोज स्थल, बगैँचा, जलविहार, प्राकृतिक पदयात्रा, चरा तथा अन्य जीवजन्तुको अवलोकन यहाँ गर्न सकिन्छ। सरोवरमा पाँच वटा डुङ्गा छन्। सङ्ख्या कम भएकाले ढुङ्गा चढ्न नपाई केही पर्यटक दुःखी पनि भएका छन्। एक व्यक्तिले तालमा ढुङ्गा चढेर जलविहार गरेमा रु एक सय तथा मन्दिर दर्शनका लागि रु ५० शुल्क निर्धारण गरिएको छ।
तुलसीपुरबाट आएकी ४८ वर्षीया निरा कँुवरले तालको अवलोकनबाट आनन्दित भएको बताए। उनले तालको सरसफाइमा ध्यान पुगेको छैन भनिन्।
तुलसीपुरका अर्की ३७ वर्षीया शारदा देवी ओलीले जलाशयको आकर्षण देखेर मन लोभिएको बताइन्।
जनश्रमदान र राज्यका निकायले गरेको सहयोगले उक्त जलाशय जिल्लाकै मुख्य पर्यटकीय केन्द्रका रुपमा विकास भएको छ। स्थानीय थारु भाषामा जुन ठाउँमा आकाशे पानी सङ्कलन हुन्छ, त्यस ठाउँलाई जखेरा भनिन्छ।
विसं २०३० मा साविकको सोनपुर गाविस हालको लमही नगरपालिका– ३ मा जखेरा ताल रहेको छ। जखेराको संरक्षणका लागि स्व दिपु चौधरीको भूमिका महत्वपूर्ण थियो।
उनले सोनपुर, टिकुलीगढ, फल्कापुर, श्रीगाउँका स्थानीय बुद्धिजीवीसँग सहकार्य गरी खेर गइराखेको आकाशे पानी सङ्कलन गर्न थाल्नुभयो। क्रमशः पोखरी बन्न पुग्यो। सो पोखरीमा वन क्षेत्रबाट बगी आएको पानीसमेत जम्मा हुन थाल्यो। सिँचाइ सुविधाका लागि सङ्कलन गरिएको ठूलो पोखरी अन्ततः लामो समयपछि जखेरा तालका नाममा परिचित छ।
दाङको लमही बजारबाट छ किलोमिटरपूर्व र सुनडबरी गाउँबाट उत्तर दुई किलोमिटर टाढा जखेरा ताल पर्छ।
पूर्वपश्चिम राजर्मागबाट नजिकै रहेकाले भारत, तथा तेस्रो मुलुकबाट पनि जखेराको अवलोकनका लागि पर्यटक आउने गर्छन्।
– नारायणी रजौरे/रासस
भर्खरै
लोकप्रिय
