श्रीमान्! म राज्य हाेइन, जनताको न्यायालयलाई विश्वास गर्न थालेको छु

जसले भ्रष्टलाई भ्रष्ट भन्छ, भ्रष्टहरुका लागि त्यो सबैभन्दा ठूलो अपराधी हुन्छ। श्रीमान्, म राज्यको हैन, जनताको न्यायालयलाई विश्वास गर्न थालेको छु। म जनताको इजलासलमा डा. गोविन्द केसीका पक्षमा खुल्ला बहस गर्दैछु। जहाँ विश्वास हुन्छ, न्याय खोज्न त्यहीँ जान्छ मान्छे।

के भ्रष्टलाई भ्रष्ट भन्नु अपराध हो ? कसैप्रतिको अनादर हो ? हो भने डा. गोविन्द केसीले जुन प्रकृतिको अपराध गर्नु भो, त्यही प्रकृतिको अपराध बुद्ध र महात्मा गान्धीले पनि गर्नु भएको थियो।

विज्ञापन

अहिंसाका जिउँदा विम्ब तथा मानवताका पुजारी महामानव बुद्धका शब्द स्वयं बोलिरहेका छन्, ‘भ्रष्टता र दुष्टता विरुद्ध एउटाले केही बोल्नु पर्छ। एउटाले केही गर्नु पर्छ।’ धम्मपद साक्षी छ।

महात्मा बुद्धले भनेजस्तो डा. गोविन्द केसी तिनै ‘एउटा’ हुन्, जो भ्रष्टता र दुष्टताविरुद्ध बोल्छन्। सुशासनका लागि बोल्छन्। आफ्ना लागि हैन, देश र जनताका लागि बोल्छन्। उनको आफ्नो निजी केही छैन।

श्रीमान्, एउटा कुरामा मुख खोल्दा आफैंलाई लज्जा हुन्छ तर पनि खोल्न बाध्य छु। मेडिकल कलेज नाउँका सयौं ‘धन्धा’चलाएर विपन्न जनता लुटिरहेका नेता कानुनका नजरमा शुद्ध छन्। तिनैका सामू कानुनले घुँडा टेकेको छ तर देशको एउटा सिनियर डाक्टर, जसको केही छैन, घरवार छैन, परिवार छैन, क्लिनिक छैन, जे–जति छ, पेशाप्रतिको निष्ठा छ र धेरैसँग नभएको इमानको पहाड छ। श्रीमान्, त्यो तपाइँका इजलासमा अपराधी ठानिन्छन्! वाह, न्यायका आँखा!

श्रीमान्, झन् लज्जाको विषय त अर्को छ, जुन नेताले अरबौंका लगानीमा ‘मेडिकल कलेज’ खोलेका छन्, तिनै नेता राज्यको खर्चमा पखालाको उपचार गर्न वैंकक र भिटामिन डी खान अमेरिका पुग्छन्। केपी ओलीजी र झलनाथ खनालजीलाई श्रीमान् मार्फत सोध्न चाहन्छु, उहाँहरुका ती अस्पताल कसको उपचार गर्न खोलिएका हुन्?

श्रीमान्, जहाँ पैसाले डाक्टर उत्पादन गरिन्छ, त्यसलाई अस्पताल हैन कारखाना भनिन्छ। स्वाभाविक हो, कारखानमा उपचार हैन, उत्पादन हुन्छ। जगजाहेर छ, डा. केसीको लडाइँ यिनै कारखाना बिरुद्ध हो।

न्यायालयले योभन्दा डरलाग्दो नियति भोगिरहेको चर्चा वारम्बार चलिरहेको छ। न्यायालयको तराजू न्याय जोग्न हो कि पैसा जोख्न हो?जनमानसमा प्रश्न छ।

श्रीमान्, न्यायालयलाई समयमै यो दूर्गतिबाट बचाउनु एउटा नागरिकको कर्तव्य हो कि हैन? डा. केसीले अदातलसँग जोडिएको भ्रष्टता औंल्याएर न्यायिक राज्यको शिर,न्यायालयको गरिमा बचाउने प्रत्यत्न गर्नु भएको छ । के नागरिक कर्तव्य निभाउनु अपराध हो ?

महात्मा गान्धीले भनेका छन्, ‘भ्रष्टलाई भ्रष्ट भन्नु अपराध हैन। म भ्रष्टका फोहरी पैतालाई मेरो मस्तिष्क टेक्न दिन्न।’

मैले चिनेका डा. केसीले त्यही ठान्नु भो, जे गान्धीले ठानेका थिए। मैले मानेका गोविन्दले त्यही गर्नु भो, जे गान्धीले गरेका थिए। डा. केसीले पनि भ्रष्टका फोहरी पैतालालाई आफ्नो मस्तिष्क टेक्न दिनुभएको छैन!

श्रीमान्, देशका भ्रष्ट नेताले देशका नागरिकको मस्तिष्कलाई आफ्ना फोहरी पैतालाले कुल्चेका मात्र छैनन्, नागरिकको चेनतशक्तिको समेत शोषण गरेका छन्।

भ्रष्ट नेताले कार्यकर्ताका नाउँमा मान्छेका टाउकालाई आफ्नो निजी ट्वाइलेट बनाएका छन्। ती भ्रष्ट नेता, जसले अथाह सम्भावना बोकेका देशका ती जवानहरुको मस्तिष्कलाई नष्ट बनाइदिएका छन्। कार्यकता बनेका ती नागरिकको मानवीय चेतनशक्ति नष्ट पारेर विवेकशून्य बनाएका छन्,आफ्नो भेडो बनाएका छन्। देशका नागरिकमाथि योभन्दा ठूलो नैतिक दुराचार के हुन्छ, श्रीमान्?

जो सत्ता र राज्यतन्त्रमा बसेर यस्तै अनेक प्रकारले च्यूत भएका छन्, डा. गोविन्द केसीले तिनै भ्रष्ट र दुराचारी विरुद्ध बोल्नु भएको हो। जुन बोली हरेक नागरिकले बोल्नु पर्ने थियो। देशका हरेक नागरिकले बोल्नु पर्ने कुरा एउटा नागरिकले बोल्नु अपराध हैन, श्रीमान्। उहाँले कुनै अपराध गर्नु भएको छैन।

त्यसैले श्रीमान्, भ्रष्टलाई भ्रष्ट भन्नु न अपराध हो, न कसैप्रतिको अनादर। भ्रष्ट भनेको व्यक्ति हैन, प्रवृत्ति हो। चरित्र हो, आचरण हो। भ्रष्टलाई भ्रष्ट भन्नु प्रवृत्तिको चित्रण मात्र हो, व्यक्तिप्रतिको अनादर हैन। व्यक्ति र प्रवृत्ति फरक कुरा हुन्।

मानौँ प्रधानन्यायाधीश व्यक्ति हुन् भने भ्रष्टाचार प्रवृत्ति हो। तर आफ्नो प्रवृत्तिप्रति व्यक्ति जिम्मेवार हुन्छ। किनभने व्यक्तिले प्रवृत्ति जन्माउँछ, प्रवृत्तिले व्यक्ति जन्माउँदैन। यस अर्थमा भ्रष्टाचरणलाई औंल्याउनु भनेको मान्छेलाई कर्तव्यप्रति जिम्मेवार बनाउनु पनि हो।

डा. केसी, बुद्ध र गान्धीले भनेजस्तै भ्रष्टलाई भ्रष्ट भन्नै पर्छ। भ्रष्टलाई भ्रष्ट भन्नु र सामाजिक बहिस्करण गर्नु हरेक नागरिकको पहिलो र परम कर्तव्य पनि हो। राष्ट्रप्रतिको धर्म पनि हो। नागरिक अधिकार पनि हो। आफू स्वाधीन देशको सचेत नागरिक हुनुको प्रमाण पनि हो। र, यो आजको आवश्यकता पनि हो।

श्रीमान्, यदि देशका हरेक नागरिकले डा. केसीले जस्तै भ्रष्टलाई भ्रष्ट मात्र भन्नसके भ्रष्टाचार र दुराचार शून्यमा झर्न समय लाग्दैन।त्यसमाथि भ्रष्टलाई सामाजिक बहिस्कार गर्न सके धर्मयोद्धा डा. गोविन्द केसीले पन्ध्रौं आमरण अनशन बस्नु पर्नेछैन। भ्रष्टाचारी र दुराचारीसँग भोकैप्यासै भुइँमा लड्नु पर्नेछैन।

श्रीमान्, यहाँनेर स्पष्ट पार्न चाहन्छु, हामीले आफ्नो कर्तव्य निर्वाह गर्न नसक्दा राज्य, राज्यतन्त्र र राजनीतिक दल समेत कर्तव्यच्यूत भएका छन्। संगठित भ्रष्टाचार बढेर संस्थागत हुँदैछ। राजनीतिक र प्रशासनिक भ्रष्टाचार एकअर्कामा परिपोषित हुदैछन्। मर्ज हुँदैछन्।

म कानुनको विद्यार्थी हैन। जहाँसम्म डा. गोविन्द केसीले अदालतको मानहानी गर्नु भयो भन्ने छ, कानुनी नजरमा होला। तर एउटा नागरिकको नजरमा डा. केसीले हैन, अदालतले उहाँको मानहानि गरेको देखिन्छ। देशको एक निष्ठावान् सर्वोच्च नागरिक माथि दुराचार गरेको देखिन्छ।

डा. केसीले अदालतका बारेमा हैन, न्यायक्षेत्रसँग सम्बन्धित भ्रष्ट चरित्रका बारेमा बोल्नु भएको छ। यसको प्रमाण सारा जनता सामुन्ने छ।डा. केसी बोल्नुअघि त्यस्ता चरित्रका बारेमा धेरै सञ्चारमाध्यम बोलका छन्। धेरै नागरिक बोलेका छन्। पटकपटक बोलेका छन्। तर श्रीमान्, कथित मानहानिको साङ्लाले बाँधेर डा. केसीलाई मात्र किन इजलासमा उभ्याइयो? एक सदाचारी सज्जन नागरिकमाथि किन ज्यानमाराजस्तो व्यवहार गरियो? उहाँको मानहानिको क्षतिपूर्ति कसले गर्ने?

माथि नै भनेको छु, प्रवृत्तिले व्यक्ति जन्माउँदैन, व्यक्तिले प्रवृत्ति जन्माउँछ। तर, प्रवृत्तिबाट व्यक्ति जन्माएर भनौं वा चरित्रलाई व्यक्तिमा उतारेर त्यो व्यक्तिले अदालतलाई देशको एउटा इज्जतदार वरिष्ठ नागरिक विरुद्ध प्रयोग गर्छ भने त्यो अपराध हो कि हैन, श्रीमान्?

त्यसमाथि आफ्नै अदालतका एक कनिष्ठ कर्मचारीलाई आफ्नै अदालतमा मुद्दा दायर गर्न लगाएर देशको एक इमान्दार र निरपराध नागरिकलाई जघन्य अपराधी ठानी कठघरामा उभ्याउनु नैतिकरुपले कति विवेकपूर्ण छ, श्रीमान् ? यो आफैंमा एक नैतिक अपराध हुन जान्छ कि जाँदैन? भ्रष्टाचार भनेको नैतिक अपराध हो कि हैन?

डा. केसी हत्यारा हैन। बलात्कारी हैन। डा. केसीले त्यस्तो कुनै अपराध गरेको छैन तर एक हत्यारा र बलात्कारीलाई पक्राउ गरेभन्दा पनि तल्लो स्तरमा गएर उहाँलाई रातारात अनशल स्थलबाट पक्राउ गर्नु स्वयंमा अपराध हो कि हैन? अख्तियारको दुरुपयोग हो कि हैन? यो अपराधको जिम्मेवारी कसले लिने, श्रीमान्?

श्रीमान्, यदि न्यायालय न्याय बेच्न हैन, दिनका लागि बसेको हो भने डा. केसीलाई जसरी पक्राउ गरियो त्यो माफिकको अपराधी प्रमाणित गर्न सक्नु पर्छ। हैन भने, प्रकाउ गर्ने आदेश दिने र आदेशको पालना गर्ने प्रहरी प्रमुखलाई अपाराधी घोषित गरी हदैसम्मको कारबाही हुनुपर्छ। देशको सबैभन्दा स्वच्छ र सम्मानित नागरिकमाथि यो हदसम्मको नग्न ज्यादति क्षम्य छैन, श्रीमान्।

डा. केसीले उठाएका कुरा कानुनी भाषामा अदालतको मानहानि गर्ने प्रकृतिका थिए तर अहिले ती सबै औपचारिक भए। तिनले कानुनी मान्यता पाएका छन्। सर्वोच्चको बेञ्चमा टेबुल भएका छन्। मुद्दा बनेका छन्। आरोपितमाथि छानबिन गर्ने आदेश सम्मानित अदालतले स्वयंले दिएको छ। यसबाट यो प्रमाणित हुन्छ, डा. केसीले अदालतको मानहानि हैन, गरिमा बचाउने जुन प्रयास गर्नु भो, त्यसका लागि उहाँ धन्यवादको पात्र हुनुहुन्छ।

श्रीमान्, न्यायिक इतिहासमै अहिले बहालवाला प्रधानन्यायधीश ठूलो विवाद र शंकाको घेराभित्र तानिनु भएको छ। उहाँले अहिलेसम्म कसैलाई न्याय दिन सक्नु भएन होला तर अब न्याय दिने अबसर अएको छ। यो उहाँका लागि धमिलिएको छवि सुधार्ने मौका पनि हो।

श्रीमान्मार्फत प्रधानन्यायाधीश श्रीमान् गोपालप्रसाद पराजुलीलाई अनुरोध गर्छु, तपाईँले अरु कसैलाई हैन, डा.केसीलाई पनि हैन,आफ्नै न्यायालयलाई न्याय दिनुहोस्। पदबाट राजिनामा गरेर न्यायालयलाई न्यायको बाटोमा हिँड्न स्वतन्त्र गरिदिनुहोस्। जनताले पैसा जोख्ने तराजुका ठानेको न्यायालयको तराजुलाई न्याय जोख्ने बनाइ दिनुहोस्।

यदि प्रधानन्यायाधीश पदमा रहिरहने हो भने गरुडको छायामा परेको सर्प जस्तो निरीह बन्छ न्यायालय। श्रीमान्, न्याय निरीह मस्तिष्कबाट हैन, निर्भयताबाट जन्मिन्छ।

श्रीमान्, देशमा भ्रष्ट को हुन्? घामजस्तै छर्लङ्ग छन्। के ठूल्ठूला‘केस’मा न्यायालयले न्याय दिन नसकेको हो, श्रीमान् ? जनता प्रश्न गरिहेका छन्।

मलाई लाग्छ, न्यायालयको प्राण नै न्याय हो। न्यायको ढुकढुकीले नै न्यायालय बाँचेको हुन्छ। प्राण भएन भने मानिस लास हुन्छ, मानिस हुँदैन। न्याय भएन भने न्यायालय के हुन्छ, श्रीमान्?

(यहाँ व्यक्त विचारले न्यायालयको मानहानि हुने भए म पूर्णरुपले जिम्मेवार छु, उपस्थित भएर जवाफ दिन पनि तयार छु। त्यसको सूचना मलाइ मेरो इमेलमार्फत दिन सकिने छ। धन्यवाद।)

Sprakashp9@gmail.com

पुस २९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्