मध्यविन्दू

प्रधानमन्त्रीज्यू, देश अझै बलात्कृत नहोस्!

मान्छे जे हो बोलीले हैन, कर्मले हो। कर्म अधम पनि हुन्छ, उत्तम पनि हुन्छ। जसलाई कुकर्म र सुकर्म पनि भनिन्छ।

सर्वशक्तिमान प्रधानमन्त्री खड्गप्रसाद ओलीज्यूलाई प्रश्न गर्न मन लागेको छ। प्रधानमन्त्रीज्यू, तपाईँ के हो? बोलीले के र कर्मले के ? देशको व्यथा–व्यवस्था कुन दिशामा जादै छ अधम् कि उत्तम?

बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो। चार महिना हुँदैछ, अपराधी समातिएका छैनन्। किन समातिदैनन् अपराधी?

दूईतिहाइ बहुमतको बज्रधातूको निर्मम कुर्सीमा पदासीन परमशक्तिशाली प्रधनमन्त्री भन्नु हुन्छ, ‘सबैका पछाडि सरकारले पुलिस लगाउन सक्दैन। अपराधी पक्रान बाह्र वर्ष पनि लाग्न सक्छ।’

प्रधानमन्त्रीज्यू, यस्तो बोलीले कस्तो मान्छेको परिचय बोकेको हुन्छ? यस्तो बोलीले कस्तो कर्मको कस्तो फल फलाउँछ? नेपाल बाहेक कुन देशका कुन प्रधानमन्त्रीले बोल्दा हुन् यस्तो बोली? बलात्कार र हत्या जस्तो चरम कुकर्मका बारेमा यस्तो बोल्ने साहस कुन प्रधानमन्त्रीले गरेका हुँदा हुन्? कुन प्रधानमन्त्रीले गर्दा हुन्? तपाईँको यो अदम्य साहलाई के भनौँ? बहादुरी भनौँ वा रुग्ण मानसिकताको दूरुह दुस्साहस? मलाई लाग्छ, देशको प्रधानमन्त्री दयाको पात्र हुनु हुँदैन।

मानौँ अब देशमा बलात्कार र हत्या अपराध हैन, सामान्य घटनामात्र हो। यसको प्रमाणीकरण सरकारका बोली र व्यवहारले गरिदिएको छ। तर, प्रधानमन्त्रीज्यू एउटा कुरामा स्पष्ट हुन अनुरोध गर्छु, बलात्कार निर्मलाको हैन, राष्ट्रको भएको छ। हरेक बालिका, किशोरी र युवतीसँगै राष्ट्र पनि बलात्कृत हुँदै आएको छ। हत्या निर्मलाको हैन न्यायको भएको छ। न्यायको हत्या गर्नु भनेको देशलाई मृत्युवरण गराउनु हो। भूगोलमा मात्र देश बाँचेको हुदैन, भूगोलभन्दा बढी भावनामा देश बाँचेको हुनुपर्छ।

प्रधानमन्त्रीज्यू, तपाईँहरुको भावनामा देश बाँचेको भए आज सायद यसरी न्याय मर्ने थिएन। राष्ट्र यसरी बलात्कृत हुने थिएन। देशको यो दूर्भाग्य र दूर्दिन सहेर बाँच्न बाध्य जनताका आँखामा अब विश्वास मरिसकेको छ। त्यो विश्वासको हत्या कसले गर्दैछ, प्रधामन्त्रीज्यू?

एउटा प्रहरी अधिकृतले त्यत्रो निर्मम अपराधको प्रमाण नष्ट गरे। सरकारले बर्खास्तको नाटक मञ्चन गरेर बाँकी भगवान् भरोसा बनाइदिएको छ। कलिली किशोरी निर्मला बलात्कृत भइन्। ज्यान गुमाइन्। मातापिता धर्नामा छन्? के अब मातापिताको प्राण पनि राज्यले हरण गर्ने? खोइ न्याय बाँचेको प्रमाण? खै, देश जिउँदो रहेको सबुत? कुन राज्यमा यस्तो हुन्छ, प्रधानमन्त्रीज्यू?

प्रमाण नष्ट कसले गर्छ, किन गर्छ? प्रधानमन्त्रीज्यू सामान्यज्ञान लाउनुस्, स्पष्ट छ– प्रमाण नष्ट त्यसले गर्छ जसले अपराध गरेको छ। यो पनि स्पष्ट छ, जसले प्रमाण नष्ट गर्छ, त्यसले अपराध गरेकै हुन्छ। कुनै पनि अपराधको प्रमाण नष्ट गर्नु झन् ठूलो अपराध हो, जघन्य अपराध हो। ती प्रहरी अधिकृतको बर्खास्तीले के स्पष्ट पार्छ भने उनी जघन्य अपराधी हुन्। अपराधी भएकै कारणले बर्खास्तीमा परे।

तर, प्रश्नमाथि प्रश्न ठडिएका छन्। प्रधानमन्त्रीज्यू, मध्यविन्दूमा उभिएर हेर्नुस्, तपाईँले पनि प्रश्नमाथि प्रश्न ठडिएको देख्नुहुन्छ, जसरी मैले देखिरहेको छु। त्यत्रो क्रूर अपराधको प्रमाण नष्ट गर्ने अर्को त्यो जघन्य अपराधका लागि एउटा प्रहरी बर्खास्त गरियो, सकियो? के यही हो यत्रो अपराधको सजाय? यसलाई सजाय मान्ने कि पुरस्कार? यो सरकारले दिएको सजाय हो कि उन्मुक्तिको पुरस्कार? यदि ती प्रहरी अधिकृत अपराधी हुन् भने बर्खास्ती हैन अदालती कारबाहीमा लैजानु पर्छ। हैन भने उनको बर्खास्ती खारेज गरिनु पर्छ।

तर, यहाँ बर्खास्तीको फगत एक नाटक रचियो। यसलाई अपराधीको उन्मुक्तिका लागि सरकार रचित दूर्दान्त एक नाटक भन्न सकिन्छ! भोलि पुनर्वाहाली भयो भने अचम्म मान्नु पर्ने छैन, किनभने यो नाटक थियो। प्रधानमन्त्री स्वयंमले भोलि निर्मला पन्तको बलात्कार पनि भएको थिएन, हत्या पनि भएको थिएन, त्यो आत्महत्या थियो भनेर भन्नु हुन्न भन्ने कुरामा कमसेकम म चैं विश्वास मान्दिन! किनभने उहाँले बोलेको कुनै कुरामा आजसम्म विश्वास लागेको छैन।

मानव सभ्यताकै कलंकको रुपमा उभिएको छ निर्मला हत्याकाण्ड। के भनौँ प्रधानमन्त्रीज्यू, सरकारको यो दूर्गतिपूर्ण उपस्थितिलाई? सत्ताको यो लज्जापूर्ण नग्न क्रिडालाई? तर मानौ, यो आफैंमा एक ऐतिहासिक र साहसिक कर्म हो जुन कर्म परमशक्तिशाली प्रधानमन्त्री ओलीज्यू सर्वशक्तिमान सरकारले गरेको छ!

अस्तिसम्म गोमन जस्तो फणा उठाउने गृहमन्त्री रामबहादुर थापा अहिले प्रधानमन्त्री खड्गप्रसाद ओलीसामू गरुडको छायामा परेको सर्पजस्तो हुनुभएको छ। निरीहताको उपहास नगरौं। दुईतिहाई बहुमतको बलियो सरकार छ। सरकारको नियन्त्रणमा रहेको सिंगो प्रहरी प्रशास छ तर देशभित्रकै एउटा अपराधी समाउन सक्दैन! किन सक्दैन? दुई कारण हुन सक्छन्। एक, सरकार सहित देशको प्रहरी– प्रशासन पूर्णरुपले निकम्मा छ, ल्याकत छैन। दुई, सक्षम छ तर चाहँदैन।

प्रधानमन्त्रीज्यू, न्याय मरेको छैन, देश बाँचेको छ, राष्ट्र बलात्कृत हुनु हुँदैन भनेर जतनालाई अनुभूत गराउन सक्नु हुन्छ भने निकाल्नुस् त्यो अपराधीलाई? त्यो अपराधी जसका कारण सिंगो सरकार, प्रहरी–प्रशासन र संसदीय पद्धति समेत कलंकित हुँदैछ। सक्नु हुन्न भने देशको प्रधानमन्त्रीको कुर्सीमा बस्ने नैतिक अधिकार तपाईँले गुमाइसक्नु भएको छ जस्तो लाग्छ।

हुन त नसक्नु पनि दुई कारण हुन्छन्। त्यसमध्ये एक कारण हो, नचाहनु! यहाँ अर्को एउटा प्रश्न राख्न चाहन्छु, देशको प्रहरीको काम के? सकेसम्म अपराध हुन नदिनु। भए अपराधीलाई पक्रनु। अदालतमा उपस्थित गराएर दण्डसजाय दिलाउनु।

प्रधानमन्त्रीज्यू, न्याय मरेको छैन, देश बाँचेको छ, राष्ट्र बलात्कृत हुनु हुँदैन भनेर जतनालाई अनुभूत गराउन सक्नु हुन्छ भने निकाल्नुस् त्यो अपराधीलाई? त्यो अपराधी जसका कारण सिंगो सरकार, प्रहरी–प्रशासन र संसदीय पद्धति समेत कलंकित हुँदैछ। सक्नु हुन्न भने देशको प्रधानमन्त्रीको कुर्सीमा बस्ने नैतिक अधिकार तपाईँले गुमाइसक्नु भएको छ जस्तो लाग्छ।

त्यसमाथि बलात्कार र हत्याजस्ता ‘क्रिमिनल केस’ सिधै प्रहरीको कार्यक्षेत्रमा पर्छन्। त्यस्तो अपराध गर्ने अपराधीको खोजी गर्नु, पक्राउ गर्नु र कानुनी दायराभित्र ल्याउनु प्रहरीको पहिलो कर्तव्य हो। तर यस्तो अपराध गर्ने अपराधीको खोजी र प्रक्राउ गर्न समिति गठन गर्नु, जाँचबुझ आयोग बनाउनुको कारण के? चोर, डाका, फटाहा, डन–गुण्डा, माफिया, बलात्कारी र हत्याराजस्ता अपराधी पनि पकड्दैन भने त्यो प्रहरीको काम के? किन चाहियो त्यो प्रहरी?

खेल यहीँ छ। झेल यहीँ छ। खेल र झेलको मेल यहीँ छ। जहाँ खेल र झेलमा मेल हुन्छ त्यसको नतिजामा सधैँ बेमेल हुन्छ। जुन नतिजामा बेमेल हुन्छ त्यसलाई बिरालाले दिसा लुकाएजस्तो लुकाइन्छ। सरकार स्वयं बिरालो बनेको छ। निमला हत्याकाण्डमा पनि अनेक जाचँबुझ समिति र आयोग बनाइए। सिधैं प्रहरीले ‘ह्याण्डल’ गर्ने ‘क्रिमिनल केस’मा सुरुदेखि नै सरकारी चलखेल भएको जिउँदा उदाहरण प्रशस्त छन्। दर्जनौँ जाँचबुझ समितिर आयोग बने तर सबैका नतिजा गोप्य राखिए।

प्रधानमन्त्रीज्यू, तपाइँको सरकार खोटो छैन र ल्याकत छ भने जवाफ दिन सक्नुपर्छ। ती बाह्रथरी जाँचबुझ समिति र आयोग किन बनाइयो? यो अर्को नाटक किन गरियो? तिनले बुझाएका प्रतिवेदन किन लुकाइयो? सरकार आफैं किन झन् रहस्यमय, कमजोर र प्रमाणहीन बनाउँदैछ, निर्मलाहत्याकाण्डलाई?

न भूतो, न वर्तमाने न भविष्यति! के एउटा बलात्कारी र हत्यराका लागि यो सर्वशक्तिमान् सरकार सति गएको हो? हो भने यस्तो सरकार न भूतमा कहीँ थियो होला, न वर्तमानमा कहीँ छ होला र न भविष्यमा कहीँ हुन्छ होला। प्रधानमन्त्रीज्यू, के यो सबै विडम्बना भोग्न नेपाली जनता अब बाध्य भएका हुन्?

एउटा खराब नेतामा धेरै गुण हुन्छन् तर एउटा असल गुण हुँदैन। एउटा असल नेतामा थोरै गुण हुन्छ तर धेरै असल हुन्छन्। यो सर्वाधिक शक्तिशाली सरकारको कर्म देख्दा लाग्छ, देशले धेरै गुण भएका धेरै नेता पायो तर थोरै र असल गुण भएका नेता एउटै पाएन।

मानिसको जीवनको अत्यपछि अनन्त जीवनको सुरुवात हुन्छ। सत्य, निष्ठा र इमानले मानिसलाई जीवनपछिको अनन्त जीवनमा पनि बचाउँछ। प्रधानमन्त्रीज्यू, समय फर्काउन सकिँदैन तर आफूलाई फर्काउन सकिन्छ।

खेल यहीँ छ। झेल यहीँ छ। खेल र झेलको मेल यहीँ छ। जहाँ खेल र झेलमा मेल हुन्छ त्यसको नतिजामा सधैँ बेमेल हुन्छ। जुन नतिजामा बेमेल हुन्छ त्यसलाई बिरालाले दिसा लुकाएजस्तो लुकाइन्छ। सरकार स्वयं बिरालो बनेको छ।

प्रधानमन्त्रीज्यू, तपाइँले अत्यधिक मतले संसदको चुनाव जित्नु भयो तर अहिले अत्यधिक मनले जीवनको चुनाव हार्दै हुनुहुन्छ। चरित्रको चुनाव हार्दै हुनुहुन्छ। कर्तव्यको चुनाव हार्दै हुनुहुन्छ। तपाईँ आफैंले आफैंलाई पराजित गर्दै हुनुहुन्छ, ढाल्दै हुनुहुन्छ। उठ्नै नसक्नेगरी ढाल्दै हुनुहुन्छ! जब मानिस ढल्न थाल्छ, त्यतिबेला उठाउने कोही हुँदैन। गोर्खाली फौजले हनुमानढोका दरबार घेर्दा राजा जयप्रकाश मल्लसँग उभिएका भाइभारदार एकाएक अलप भएका थिए।

प्रधानमन्त्रीज्यू, देश अझै बलात्कृत नहोस्! सादर अनुरोध गर्दै अन्त्यमा एउटा सामान्यज्ञाको कुरा गर्छु– मान्छेलाई मान्छेले नै च्यूत गराउँछ तर त्यो मान्छे, ऊ आफैं हुन्छ!

कार्तिक ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्