श्री केपी ओली: देशको प्रधानमन्त्री कि वैश्यबाजारको सस्तो रोलमोडल?

‘म सिंहदरबारमा फोटो झुण्ड्याउनमात्र प्रधानमन्त्री बनेको हैन।’

टेलिभिजनमा एउटा तस्बिरसँगै आवाज बनेर आएका यी शब्द मेरा कानमा अझै ठोक्किरहेका छन्। यी शब्द तिनै प्रधानमन्त्रीका हुन्, जसले खियाले खाएका बिजुलीका खाँबा पनि छोड्नु भएन। अन्ततः तिनमा पनिआफ्ना फोटा झुण्ड्याएरै छोड्नु भो।

विज्ञापन

अहिले सरकार कहाँ छ भनेर कसैले सोधेखोजे बिजुलीका खम्बातिर देखाइदिनु होला। यो चाहना, उनै सर्वशक्तिमान प्रधानमन्त्री खड्गप्रसाद ओलीज्यूको हो।

‘सरकार कहाँ छ भनेर देखाउन नै यति तामझाम गरेका हौं’, शब्द उहाँकै हुन्।

स्व. निर्मला पन्तका बाबुआमा सरकार खोजिरहनु भएको छ। सत्याग्री डा. गोविन्द केसी सरकार खोजिरहनु भएको छ। जनता सरकार खोजिहरेका छन्। धन्य हाम्रा प्रधानमन्त्री ओलीज्यू जो हुनुहुन्छ! सबैलाई सजिलो बनाइदिनु भयो– अब सरकार भेट्न कतै धाउनु पर्दैन। बिजूलीका खाँबासमाउन गए हुन्छ।

काठमाडौंका खिया परेरका बिजुलीका खाँबामा रातारात सरकार झुण्डिएको छ। हरेक समाचारपत्रका छातीमा सरकार टाँसिएको छ। हरेक अनलाइनका भित्तामा सरकार टाँगिएको छ! देशमा नयाँ युग आएको छ। नयाँयुग हेर्दा गज्जब छ तर कुनै घटिया कम्पनीको ‘थर्डक्लास प्रोडक्ट’को विज्ञापनजस्तो ! डोल्मा घडीले पनि यतिविघ्न भद्दा विज्ञापन गरेको छैन होला!

अहिलेको यो नयाँयुगले मेरा आँखामा उहिले त्यो नयाँयुगको दृष्य झल्झली झल्काइरहेको छ। पञ्चायतकालमा पनि यस्तो नयाँयुग आइरहन्थ्यो। पञ्चहरुले राजा–महाराजाहरुलाई वर्षमा दूईचार चोटी यसरी नै खिया लागेका ती बिजुलीका काला खाँबामा झण्ड्याउँथे। निष्प्राण पत्र–पत्रिकामा यसरी नै टाँस्थे। राजतन्त्र वद्नाम गराउन ‘झोले पञ्च’हरु नै काफी थिए।

राजतन्त्रपछिका शक्तिशाली ओलीजीले पनि राजाको रोगन चढाउनु भएछ। उहाँका ओरिपरीका पञ्चभलाद्मीले पञ्चकै कर्म गर्नु कुनै नयाँ पौरख हैन। ओलीजीलाई नंग्याउन तिनै पञ्चभलाद्मी काफी छन्। अरु कुरामा ती कति इमान्दार छन् थाहा छैन तर ओलीजीलाई राजाभन्दा माथि चढाएर रणहारेको सिपाहीभन्दा तल झार्न भने ती इमान्दारीपूर्वक लागेका छन्। सफल पनि भएका छन्। पछिल्लो अवस्थामा एकपछि अर्को रेकर्ड तोड्दैछन् जसले थपना राष्ट्रपतिलाई समेत मुखदेखाएर हिँड्न नसक्ने अवस्थामा पुर्‍याइदिए।

प्रधानमन्त्री ओली खिया लागेका ती बिजुलीका पोलमा जति माथि चढ्नु भएको छ जनताका आँखामा त्योभन्दा धेरै तल झरिसक्नु भएको छ। तपाइँलाई चढाउने हैन, खसाउने काम भएको छ। उठाउने हैन, लडाउने काम भएको छ। पञ्चहरुले राजाको विराट विरुदावली गाएर राजालाई नै खँदारेजस्तै तपाइँका पञ्चभलाद्मीले तपाइँलाई उठ्नै नसक्ने गरी खँदारेका छन्। देख्नु नदेख्नु दृष्टिगोचरको कुरा हो। गोचर हुँदैन भने प्रधानमन्त्रीज्यूले माने हुन्छ, आफूले आफूलाई नै देख्नुभएको छैन, चिन्नु भएको छैन। अरुलाई कसरी चिन्नु ?

आफूलाई चिन्नु सबैभन्दा ठूलो कर्म हो। कर्ममध्ये पहिलो कर्म पनि हो, प्रधानमन्त्रीज्यू!

टाढा जानु पर्दैन। कुनै समय माफियाको रणभूमि बनेका सिंगापुरलाई ली क्वानयूले रामराज्य बनाए। त्यस्तै भोकमरी र गरीवीले नर्कको नियति भोगिरहेको दक्षिण कोरियालाई पार्क चुंग हीले इन्द्रको स्वर्ग बनाए। सी जिनपिङ्गको नेतृत्वमा चीनले दिन दुईगुना रात चैगुना उन्नति गरिरहेको छ। अमेरिकाले मंगलग्रहमा यान उतारिसकेको छ। धरतीले नपुगेर मंगलग्रह कब्जा गर्ने दाउमा छ, अमेरिका आज। अमेरिकालाई लखेट्दै पछिपछि कुद्दै छ, चीन। तर, अमेरिका र चीनका बिजुलीका खाँबामा डोनाल्ड टम्प र सी जिनपिङ्गलाई टाँगिएको छैन।

प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफूलाई ठूलो त बनाउनु भो तर असल बनाउन सक्नु भएन। बिजुलीका खाँबामा आफूलाई चढाउनु भो जनजनका मनमन्दिरबाट आफैंले आफैंलाई लघार्नु भो।

नेपालका प्रधानमन्त्री बाहेक आजसम्म सायद संसारका कुनै देशका शासकले यस्तो निचोशैलीको प्रचारबाजी गरेका छैनन्। यहाँसम्म कि उत्तर कोरियाका सन्की राष्ट्रपति किम जोङ्ग उन पनि यो शैलीमा उत्रन लजाउँछन्।

यही फरक छ– हुनका लागि गरेको र देखाउनका लागि गरेको काममा! हुनका लागि गरिएको कामको चर्चा अरुले गर्छन्। देखाउनका लागि गरिएको कामको चर्चा मान्छे आफैंले गर्छ। वैश्यबाजारमा पनि खराब मालको विज्ञापन नै बढी हुन्छ।

अहिले वैश्यनीति र राजनीतिमा फरक छुट्याउन गाह्रो भएको छ। तपाइँ जननिर्वाचित जनसेवक हो कि वैश्यबाजारको मालिक? बिजुलीका खाँबामा झुण्डिएको प्रधानमन्त्रीको तस्बिरसँगै यो पनि प्रश्न पनि झुण्डिएको छ।

प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफूलाई ठूलो त बनाउनु भो तर असल बनाउन सक्नु भएन। बिजुलीका खाँबामा आफूलाई चढाउनु भो जनजनका मनमन्दिरबाट आफैंले आफैंलाई लघार्नु भो।

प्रधानमन्त्रीज्यू, आफूलाई चिन्न र मान्छेको मनमा बस्न सबैभन्दा साह्रो र सबैभन्दा गाह्रो हुन्छ।

प्रधानमन्त्रीसँग सोध्न मन लागेको छ, लज्जा के हो? हुन त अहिले यो एक जटिल प्रश्न भएर आएको छ। किन भने आज देशमा लज्जा आफैं लजाएको छ।

तर पनि मलाई लाग्छ, लज्जा आफैंले वोध गर्ने एकज्ञान हो। जसलाई म सामान्यज्ञान भन्छु। हामीमा यहीँ र यही समस्या छौं। हामी ठूलाठूला ज्ञानका कुरा गर्छौ तर यस्ता सामान्यज्ञानबाट वञ्चित छौं। हामीलाई धेरैकुरा थाह तर आफ्नै मलामी बनेर हिडिरहेको थाह छैन ।

कुखुरो चारआनाको बराबरा थियो, मसला सोह्रआना बराबरको हालियो। देशको प्रधानमन्त्रीलाई वैश्यबाजारको सस्तो नायकको रुपमा चिनाइयो। बीरबलको खिचडीको रोडमोडल बनाइयो। जगत हँसाइयो!

प्रधानमन्त्री ओलीकै शब्दमा भन्ने हो भने यो सामाजिक सुरक्षा ‘तामझाम’ मात्र हो। तर किन गर्छ मान्छेले तामझाम ? सस्ता किरिम–पाउडर त्यसैले धेरै पोत्छ, जोसँग देखाउन लायकको साधरण सुन्दरता पनि हुदैन। जो कुरुपताको बोझ र हिनताले भित्रभित्रै थिचिएको हुन्छ।

समृद्धिको रोलमोडल बनाएर देशका कार्यकारी प्रमुखलाई जगत हास्नेगरी टाँगिरहदा एशियाकै गरिब मुलुकमध्येमा नेपालको नाउँ अगाडि आएको छ। यो वास्तविकताले त्यो तस्बिरलाई जिस्क्याएको मात्रै छैन, नेपाली जनताको हृदयमा नराम्रो थप्पड पनि हानेको छ। प्रधानमन्त्रीज्यूलाई सायद थाह छैन, त्यसको बोधार्थ यही लेखमार्फत दिन चाहन्छु। थाह भए अवश्यै यो तामझाम उहाँले गर्नु हुने थिएन! यस्तो भद्दा विज्ञापन गरेर आफैंलाई डुबाउने मतिमा प्रधानमन्त्री लाग्नु हुने थिएन।

समृद्धि नारा, छापा र बिजुलीका पोलमा हैन, कर्ममा हुन्छ। कर्म शुद्ध हुनु पर्छ। निर्मला पन्त बलात्कारकाण्ड, गोरे सुनकाण्ड र वाइड बडी जहाज खरिदकाण्ड जस्ता काण्डैकाण्डले सरकार समृद्ध भएको छ। बिजुलीका ती पोलसँगै यो अर्को प्रश्न ठडिएको छ– समृद्ध नेपाल नेता?

कुखुरो चारआनाको बराबरा थियो, मसला सोह्रआना बराबरको हालियो। देशको प्रधानमन्त्रीलाई वैश्यबाजारको सस्तो नायकको रुपमा चिनाइयो। बीरबलको खिचडीको रोडमोडल बनाइयो। जगत हँसाइयो!

एउटा टीठलाग्दो सत्य के पनि हो भने, करोडौ खर्च गरेर सामाजिक सुरक्षालाई समृद्धिसँग जोडेर स्यालको हुइँया शैलीमा प्रदर्शन गर्दा समृद्धि शब्दकै चीरहरण भएको छ।

शासकीय धर्ममा निष्ठा र कर्ममा इमान समृद्धिको पहिलो शर्त हो। निष्ठाबिनाको धर्म र इमानबिनाको कर्मको फल के हुन्छ? देशले भोगिरहेको छ।

सधैं गुड–फोर–अल सोच्ने सत्याग्रही डा. गोविन्द केसीसँगपन्ध्रौं पटक भएको सम्झौता कति लागू भयो? सामाजिक सुरुक्षा र समृद्धिलाई डा. केसी रोक्नु भएको छ कि सघाउनु भएको छ?

‘पोल एण्ड पोस्टर’ समृद्धिका रोलमोडल प्रधानमन्त्रीज्यूलाई विनम्रतापूर्वक प्रश्न गर्छु– सरकारले धर्मको पालना र निष्ठाको निर्वाह कसरी गरेको छ, बुझ्न यो नै काफी छैन?

शासन अवधिको छोटो कालखण्डमा काण्डैकाण्डैले समृद्ध बनेको ओलीजीको सरकारले अघि बढाएको सामाजिक सुरक्षाको काम प्रशंसनीय छ, तथापी यो कुनै नौलो योजना हैन। विसौं वर्षदेखि ट्रेडयुनियनहरुले उठाएको मुद्धा हो यो।

अर्को महत्वपूर्ण कुरा के पनि हो भने संविधानमा अंकित भएको विषय पनि हो, यो। सर्वथा नौलो हुँदै हैन। सरकारले एउटा कानुन ल्यायो। कार्यान्वयन बीरवलको खिचडी नै छ। भएको त्यतिमात्र हो। जम्माजम्मी एउटा कानुन ल्याउनु भनेको कुनै अर्को ठूलो सगरमाथा आरोहण गर्नु हैन। स्पष्टरुपमा भन्नुपर्दा सरकारले गर्नु पर्ने काममध्येको एउटा सानो काममात्र हो, यो । यति पनि नगर्ने हो भने सरकारले गर्ने के त?

सामाजिक सुरक्षा जसलाई विश्पव्यापीरुपमा सोसियल सेक्युरिटी भनेर चिनिन्छ। यसमा बुझ्नु पर्ने अर्को कुरा के पनि हो भने यो जनताको आधारभूत आवश्यकता र न्यूनतम् अधिकार भित्र पर्ने कुरा हो। युरोप लगायतका मुलुकमा यी व्यवस्था लागू भएको सयवर्षभन्दा बढी भैसकेको छ। संसारका अधिकांश मुलुकमा सामाजिक सुरक्षा व्यवस्था छ।

अन्त्यमा, कुखुरो चारआनाको बराबरा थियो, मसला सोह्रआना बराबरको हालियो। देशको प्रधानमन्त्रीलाई वैश्यबाजारको सस्तो नायकको रुपमा चिनाइयो। बीरबलको खिचडीको रोडमोडल बनाइयो। जगत हँसाइयो!

मंसिर १४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्