मध्यविन्दु

डा. केसीबारे खुलापत्र- प्रधानमन्त्रीज्यू, महान् हुने कि दूर्जन?

प्रधानमन्त्रीज्यू,

सबैभन्दा पहिला को हुन् डा. गोविन्द केसी? परिचय, डा. केसीको जीवनदर्शन, सत्याग्रहको इतिहाससहित अनुरोध गर्छु– तपाईँको राज्यमा मानवता मर्न नदिनुस्।

विज्ञापन

देशले अहिलेका जस्ता, यस्ता सस्ता नेताहरु सयौं जन्माउन सक्छ। तर एउटा डा. गोविन्द केसी जन्माउन देशले अर्को सयवर्ष कुर्नु पर्ने हुनसक्छ!

को हुन् सत्याग्रही डा. गोविन्द केसी?

एक वाक्यको सजिलो र छोटो उत्तर हो– सत्यका माध्यमबाट सत्यको खोजी गरी, सत्यमा पुगी, सत्यमा अटल रहने एक सत्याग्रही हुन्। जसले ‘परोपकारः पूण्याय, पापाय परपीडनम्’ आत्मसात गरेका छन्। देशका एकमात्र जिउँदा साझा सम्पत्ति हुन्।

जसको आफ्नो कोही छैन, त्यसको सबै आफ्ना हुन्छन्। एक अविवाहित व्रम्हचर्य डाक्टरका कोही छैनन् तर सबै आफ्ना हुन्। सत्य र निष्ठ नै उनको धर्म हो।

सत्यवादी डाक्टर गोविन्द केसीबारेका केही तथ्य

अहिले डा. केसी सोह्रौं अनशनमा छन्।

१) डा. गोविन्द केसी अनशन बस्दा कहिल्यै सरकारी तलब खाँदैनन्। सधैं छुट्टी लिएर बस्छन्।

२) डा. केसीको जन्म २०१३ असोज २७ मा रामेछाप जिल्लामा भएको हो।

३) अविवाहित छन्।

४) त्रिविवि शिक्षण अस्पतालमा वरिष्ठ हाडजोर्नी विशेषज्ञ हुन्।

५) २०३० सालदेखि शिक्षण अस्पतालमा सेवा दिन सुरु गरेका हुन्।

६) तलबको कम्तिमा ५० प्रतिशत गरीब र असहायको लागि खर्च गर्छन्।

७) आजसम्म कसैका निजी क्लिनिक र कुनै निजी अस्पतालमा कहिल्यै काम गरेका छैनन्।

८) कहिल्यै पैसामुखी भएनन्, सधैं सेवामुखी भए।

९) सेवाको पहिलो आठ महिना बिना तलव काम गरेर बिरामीको सेवा गरे।

१०) वर्षमा कम्तिमा २ पटक छुट्टी लिएर नियमितरुपमा देशका दूर्गम गाउँवस्ती जान्छन्।

११) सरकारले आफ्ना जनताका लागि सिटामोल पनि दिएको छैन, त्यहाँ गएर निजी खर्चमा स्वास्थ्य शिविर संचालन गर्छन्।

१२) राज्यको कुनै तहमा कुनै पहुँच नभएका गरीब तथा दिनदुःखी जनताको सेवाका लागि उनी देशका पचहत्तरै जिल्ला पुगेका छन्।

१३) जनतालाई निस्वार्थ सेवा र सहयोग गर्ने एक परमपरोपकारी डाक्टर हुन् गोविन्द केसी।

१४) परोपकारी कामका लागि आजसम्म कसैबाट चन्दा, दान र सहयोग लिएका छैनन्।

१५) जाडोमा तराइका गाउँगाउँमा कम्बल बाँड्दै हिँड्छन्।

१६) गर्मीमा जहाँजहाँ महामारी चल्छ त्यहाँ सरकारी हेलिकप्टर, विलासी नेता पुनुभन्दा अघि पुग्छन्।

१७) कहिल्यै सरकारी पैसा, सेवा र सुविधा उपयोग गर्दैनन्।

१८) अनेक खोला र जघाँर तर्दै औषधिमूलोका कुम्ला कुटुरा बोकेर सार्वजनिक सवारी साधनको प्रयोग गर्छन्।

१९) जस्तोसुकै विकट जिल्ला होस् उनी पुगेका हुन्छन्। चाहे त्यो हुम्ला,जुम्ला, जाजरकोट वा दार्चुला होस्।

२०) डा. गोविन्द केसीले २०४८ साल देखि नै गाउँगाउँमा निजी खर्चमा स्वास्थ्य शिविर संचालन गर्दै आएका हुन्।

२१) जनतालाई निस्वार्थ सेवा र सहयोग गर्ने एक परमपरोपकारी डाक्टर हुन् गोविन्द केसी।

२२) उनी कुनै राजनीतिक दलको पेशागत संगठनसँग कहिल्यै आवद्ध छैनन्।

२३) पेशाप्रति सधैं ‘अट्याच’ र संघ–संगठनप्रति ‘नन अट्याच’ छन्।

प्रधानमन्त्री ओलीज्यू, ‘नन अट्याच’ त्यही हुन्छ जसको आफ्नो कुनै स्वार्थ हुँदैन। परमपरोपकारी डाक्टर गोविन्द केसीको भावनामा सधैं ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः (सबै सुखी रहुन्, सबै निरोगी रहुन् अथवा सबैमा मंगलय होस् ।)’ छ। त्यसको पुष्टी उनले गरेका सत्कर्मले गरेको छ।

परोपकार र मानवीय धर्मका सवालमा राजनीति र भूगोलको सिमानामा बाँधिएका छैनन्, डा. केसी । सर्वजन हिताय अर्थात सबैको हित होस् भन्ने ठान्छन् । विपद् पर्दा सुटुक्क देशबाहिर पनि जान्छन् ।

देश बाहिर कहाँकहाँ गए डा. केसी ?

१) सन् २००१ मा भारतको गुजरातमा महाभूकम्प गयो । डा. केसी त्यहाँ पुगे।

२) सन् २००५ मा पाकिस्तान नियन्त्रित कास्मिरमा अर्को ठूलो भूकम्प गयो, त्यहाँ पनि पुगे ।

३) सन् २००८ मा बर्मामा गएको आँधिबेरी जाँदा पनि डा. केसी पुगे ।

४) सन् २०१० मा हाइटीमा गएको अर्को महाभुकम्पका घाइतेको उपचार गर्न पनि डा. केसी पुगे ।

५) सन् २०११ मा बाढीबाट तहसनहस भएको पाकिस्तानमा फेरी पुगे ।

६) देश बाहिर जाँदा पनि यी परोपकारी डाक्टरले सरकारी सुविधा र भत्ता कहिल्यै लिएनन् ।

७) सधैं आफ्नै खर्चमा गए । सधैं कार्यालयमा छुट्टी लिएर गए ।

डा. केसीको सत्याग्रहको इतिहास

१) २०६९ वैशाख २१ देखि ४ दिन

२) २०६९ साउन २७ देखि ६ दिन

३) २०७० पुस २७ देखि १० दिन

४) २०७० माघ २७ देखि ८ दिन

५) २०७१ फागुन ८ देखि १२ दिन

६) २०७२ भदौ ७ देखि १४ दिन

७) २०७२ असोज २ देखि १२ दिन

८) २०७३ असार २६ १५ दिन

९) २०७३ असोज १० देखि १२ दिन

१०) २०७३ कात्तिक २८ देखि २२ दिन

११) २०७४ साउन १९ देखि २३ दिन

१२) २०७४ असोज ९ देखि ३ दिन

१२) २०७४ असोज १९ देखि १४ दिन

१४) २०७४ माघ २५ देखि ६ दिन

१५) २०७५ साउन १४ देखि २७ दिन

१६) २०७५ पुष २५ देखि हालसम्म १४ दिन

कुन प्रधानमन्त्रीका पालामा कति दिन अनशन ?

१) डा. बाबुराम भट्टराई २ पटक १० दिन

२) खिलाराज रेग्मी २ पटक १८ दिन

३) शुशिल कोइराला ३ पटक ३८ दिन

४) पुष्पकमल दहाल प्रचण्ड २ पटक ३४ दिन

५) शेरबहादुर देउवा ४ पटक ४६ दिन

६) केपी ओली ३ पटक हालसम्म ५६ दिन

यसरी हेर्दा सबैभन्दा लामो अनशन वर्तमान प्रधानमन्त्री केपी ओलीको पालामा भएको छ । प्रत्येक प्रधानमन्त्रीबाट प्रत्येक पटक एउटा सत्याग्रहीलाई तडाना दिइएको छ । तर सबैभन्दा बढी ताडना पनि केपी ओलीको प्रधानमन्त्रीत्वकालमा भएको छ । शुशिल कोइराला बाहेक सबै जिउँदै हुनुहुन्छ तर जीवित केलाई भन्ने प्रश्न पनि उठेको छ, प्रधानमन्त्रीज्यू ।

म, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईदेखि खिलाराज रेग्मी, पुष्पकमल दहाल प्रचण्ड, शेरबहादुर देउवा तथा वर्तमान प्रधानमन्त्री केपी ओलीज्यू समक्ष सादर अनुरोध गर्छु– आफूले गरेका वाचालाई वेवारिस सन्तानजस्तो ‘लावारिस’ नबनाउनुस् । ‘लावारिस’, जसलाई जानेर–नजानेर ‘खाते’को उपनाउँले बोलाइन्छ, होच्याइन्छ, घृणा गरिन्छ, दूरदूर गरिन्छ ।

अतः आफ्नै मुखले बोलेको वचनलाई र आफ्नै हातले गरेको हस्ताक्षरलाई आफैंले ‘खाते’को दर्जा नदिनुस् । वारिस बन्नुस् त्यो वचनको । अपनत्व लिनुस् आफ्नै हातको हस्ताक्षरको । आफूले गरेका वाचाको नैतीक दायित्व लिदैं पुरा गर्न र गराउन पहल गरेर आफूलाई मावनको कोटीमा उभ्याउने प्रयत्न गर्नुस् । नत्र इतिहासले तपाइँहरु कसैलाई माफ गर्ने छैन । भोलि लेखिने इतिहासले ती अनुहारमा कालो पोत्ने छ । त्यो कालो कहिल्यै मेटिने छैन।

प्रधानमन्त्रीज्यू, के हो सत्याग्रह ?

सत्य जोड आग्रह अर्थात सत्याग्रह । माथि नै भनिएको छ– सत्यको खोजी गरेर, सत्यका माध्यमबाट सत्यमा पुगेर सत्यमा अडिग रहनु । सत्य अर्थात सत् तथा अस्तित्व । आग्रह अर्थात खोजी । जसलाई सविनय अवज्ञा तथा निशस्त्र प्रतिकार वा निराहार युद्धका रुपमा बुझिन्छ ।

दार्शनिक हेनरी डेभिड थोरोले काटमार, हिंसा, हत्याको युद्धभन्दा माथि उठेर लड्न सिकाए । त्यसलाई उनले ‘सिभिल डिस्अविडेन्स’ भने । त्यही ‘आइडियोलोजी’ भित्र महात्मा गान्धीले सत्याग्रह खोजे । जसलाई आचार्य विनोबा भावे अर्थात विनायक नरहरि रावले सौम्य, सौम्यतर र सौम्यतम आन्दोलनका रुपमा थप व्याखा गरे । भावे, माहात्मा गान्धीका प्रमुख सहयोगी तथा अनन्यमित्र थिए।

सत्य र आग्रहभित्र एक अर्को पद लुकेको छ । त्यो हो– प्रेम । गान्धीले सत्याग्रहको अर्थलाई पूर्णता दिए ।

सत्याग्रह अर्थात प्रेमपूर्ण निशस्त्र लडाइँ जहाँ हिंसाको सम्भावना हुदैन । जहाँ दुष्मन पनि हुदैन । कसैलाई कष्ट नदिई सम्पूर्ण कष्ट आफूले सहेर सबैलाई जिताउने युद्ध हो, सत्याग्रह । सर्वजन हितायको महाभिषेक यज्ञ हो, सत्याग्रह ।

डा. गोविन्द केसी कसैका विरुद्ध लडेका हैनन् तर सबैका लागि लडेका हुन् । प्रधानमन्त्री केपी ओलीका विरुद्ध पनि लडेका हैनन् तर उहाँका लागि पनि लडेका हुन् । व्यक्तिगत आग्रह, दुराग्रह, इच्छा र चाहनाभन्दा धेरै माथि हुन्छ सत्याग्रह ।

प्रधानमन्त्री ज्यू, के हुन् डा. केसीका माग ?

यो एउटा लेखमा सबैकुरा व्यक्त गर्न सम्भव छैन । सामान्यरुपमा बुझ्न चाहनेका लागि मागका आसय सरल भाषामा प्रस्ट्याउँछु।

१) देशका तीन करोड जनताको जीवनसँग सिधैं सरोकार राख्ने स्वस्थक्षेत्रलाई सरकारको नियन्त्रण र निगरानीमा राख्नु पर्ने ।

२) जनताको स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रलाई सिमित व्यक्तिको पञ्जामा बाँधिन पुगेको हुँदा त्यसलाई मुक्त गर्नु पर्ने ।

३) स्वास्थ्य सेवालाई राष्ट्रले आफ्नो अधीनमा लिई गाउँगाउँमा पुर्‍याउनु पर्ने ।

४) जनस्वाथ्यमा भएको केही व्यक्तिको अवैध चलखेल (माफियातन्त्र) हटाएर जनता उन्मुख स्वास्थ्य नीति ल्याउनु पर्ने ।

५) स्वास्थ्य क्षेत्रलाई धन्धा हैन, सेवाका रुपमा चलाउनु पर्ने ।

६) नक्कली डाक्टरले पैसाका बलमा झन् नक्कली डाक्टर उत्पादन गर्ने मेडिकल कलेज नाउँका ‘मानव वधशाला’ खोल्न बन्द गरिनु पर्ने ।

७) राजनीतिक क्षेत्रमा दिन–प्रतिदिन बढेको भ्रष्टाचारबाट जम्मा गरेको अकुत अवैध सम्पत्ति मेडिकल कलेजका नाउँमा लगानी गरेर वैध बनाउने अपराध रोक्नु पर्ने ।

८) पैसाको सुट्केश बुझाएर डाक्टर बन्ने प्रवृत्ति रोक्न मेडिकल कलेजका क्षमता र सुविधा अनुसार कोटा र शुल्क निर्धारण गर्नु पर्ने ।

९) दूर्गम तथा जेहन्दार विद्यार्थीका लागि छात्रवृत्ती लगायतका सुविधा हुनु पर्ने ।

९) स्वास्थ क्षेत्रमा व्याप्त विकृति हटाउनु पर्ने ।

११) थप विकृत हुन दिनु नहुने ।

१२) संसारका अन्य देशमा जस्तै भरपर्दा, सर्वसुलभ र सस्तो स्वास्थ्यसेवा प्रदान गर्नु पर्ने । स्वास्थ्य सेवा सबैको पहुच हुन सक्ने बनाउने ।

१३) सरकारी विद्यालय भन्दा झन् दयनीय बनेका सरकारी अस्पताल सुधार गर्दै गुणस्तर बढाउनु पर्ने ।

१४) ८० प्रतिशत भन्दा बढी जनता राजधानी बाहिर भएको हुँदा प्रत्येक प्रदेशमा कम्तिमा एक सरकारी मेडिकल कलेज स्थापन गर्नु पर्ने ।

१५) जनताको स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा राजनीतिक पहुँचका आधारमा चलेको चलखेल बन्द गरिनु पर्ने ।

१६) स्वास्थ्य र शिक्षा जस्ता जनताका मौलिक हकलाई व्यक्ति वा निजी व्यापारिक संस्थालाई सुम्पनु नहुने ।

तर प्रधानमन्त्रीज्यू, यी माग डा. केसीका हैनन् !

मागबारे हामीमा भ्रम छ । त्यो भ्रम हो– ‘डा. गोविन्द केसीका माग’ भन्ने शब्दावली र भाष्य । यी माग डा. केसीका हैनन्, किन भने यी कुनै माग उहाँसँग सम्बन्धित छैनन् ।

सारा माग सिधा जनतासँग सम्बन्धित छन् । ती जनता, जो विपन्न छन् । ती जनता, जसको राज्यमा कुनै पहुँच छैन । ती जनता, जो ठूलो संख्यामा गाउँघरतिर बस्छन् । ती जनता, जो राज्यको आधारभूत स्वास्थ्य सेवाबाट सधैं बञ्चित छन् ।

प्रधानमन्त्रीज्यू, यी माग कसरी डा. केसीका भए ? यी माग त जनताका हुन् । यी माग त तीनका हुन्, जसले आफ्ना आवश्यकता र समस्यका लागि प्रतिनिधि चुनेर पठाएका छन् । यी माग हरेक गाउँपालिकाका सदस्यका हुन् । यी माग हरेक वडा अध्यक्षका हुन् । यी माग हरेक प्रमुख र उपप्रमुखका हुन् । यी माग सातै राज्यसभाका सभासद्हरुका हुन् । यी माग राज्य सरकारका हुन् ।

यदि कुनै पनि तहको नेतृत्वले आफूलाई जनप्रतिनिधि ठान्छ भने डा. केसीले उठाएका सम्पूर्ण माग उनीहरुका हुन् । त्यसैल यी माग यी माग सबै सांसदका हुन् । यी माग सरकारका पनि हुन् । यी माग प्रधानमन्त्री स्वयंका पनि हुन् ।

यी कुनै पनि माग व्यक्तिगत रुपमा डा. केसीसँग सम्बन्धित छैनन् । पद, पैसा, मान, प्रतिष्ठा वा कुनै पनि व्यक्तिगत लाभसँग कुनै मागको कुनै सम्बन्ध छैन ।

हो, केपी ओलीज्यू, स्वास्थ्य सेवा सुधार सम्बन्धि माग विशुद्ध जनताका हुन्, जनप्रतिनिधिका हुन् । डा. गोविन्द केसीले जनतका ती मागको त्यो गोवर्धन पर्वतमात्र उठाएका हुन् । ती जनप्रतिनिधिको आँखा खोल्न आफूलाई अर्जून बनाएर उभ्याउन भएका मात्र हुन् ।

प्रधानमन्त्रीज्यू, एकपटक, मात्र एकपटक आग्रह–पूर्वाग्रहको अँध्यारो खाडलबाट बाहिर निस्केर नांगा आँखाले हेर्नु भयो भने पक्कै थाह हुनेछ– यी माग डा. केसीका हैनन्, एउटा सच्चा कम्युनिष्ठका हुन् । डा. केसीले उठाएका मागको चरित्र र कम्युनिष्टको नीति, विधि र सिद्धान्तसँग सतप्रतिशत मेल खान्छन् । साम्यवादी उन्मुख सम्पूर्ण माग पूर्ण समाजवादी छन् ।

प्रधानमन्त्रीज्यू, भोट माग्ने बेलामा कम्युनिष्टलाई गरिबको सहारा भनिन्छ । यहाँ एउटा सामान्य प्रश्न उठ्छ– डा. केसीले उठाएका कुन माग गरीब जनताका पक्षमा छैनन् ? कुन माग पुँजिपति व्यापारी र दलालका पक्षमा छन् ? कुन माग बेथिति, भ्रष्टाचार र दुराचार विरुद्ध छैनन् ? कुन माग सुशासनका पक्षमा छैनन् ?

एक मिनेटका लागि दुषित राजनीतिक पूर्वाग्रहबाट बाहिर आउन सकियो भने स्पष्ट हुन्छ– के हो कम्युनिष्ट भनेको ? कस्तो हुन्छ समाजवादी चरित्र ?

जनताका माग उठाउने एउटा सत्याग्रहीलाई राजनीतिमा मुछ्नु कति जायछ छ ? यो आफैंमा विरोधाभाष मात्र हैन, नैतिक विचलन हो । राजनीतिक अपराध हो ।

नेकपा समर्थित मित्रहरुलाई सादर अनुरोध

मित्रहरु, तपाइँहरु पनि एकपटक, मात्र एकपटक आफूलाई राजनीतिको त्यो दुषित वाद–विवाद, आग्रह–दुराग्रह, रिसराग, कुण्ठा र शत्रुताको घेरा, प्रभाव र दवावबाट बाहिर निकाल्नुस् । तलका बुँदामा जानुस् । सायद आफूले आफूलाई एकपटक चिन्ने मौका पाउनु हुनेछ ।

१) एकछिन् भए पनि एउटा विशुद्ध मानवका रुपमा आफूलाई उभ्याउनुस् ।

२) एकछिन् हावाजस्तो स्वतन्त्र बहनुस् ।

३) डा. केसीले उठाएका माग खुला दिमाग र आफ्ना आँखाले पढ्नुस् ।

४) एकछिन् आँखा चिम्लेर सोच्नुस् डा. केसीको आन्दोलन के हो माग के हुन् ?

५) सक्नुभयो भने ती माग तपाइँलाई आफ्ना र आफ्ना सन्ततीका लागि नै हुन् भन्ने लाग्छ ।

६) तपाइँलाई स्पष्ट हुन्छ– यी सबै माग डा. गोविन्द केसीका हैनन्, तपाइँका हुन्, तपाइँका प्रतिनिधिका हुन् ।

७) यो पनि स्पष्ट हुन्छ, डा. केसीले उठाएका माग सच्चा समाजवादी सोच र विशुद्ध कम्युनिष्ट चिन्तन तथा चरित्रले भरिएका छन् ।

८) तपाइँलाई झन् स्पष्ट हुन्छ– सौह्रौं पटकसम्म डा. केसी आफ्ना लागि भुइँमा लडेका हैनन्, त्यसका लागि लडेका हुन् जसका लागि लडिदिने कोही छैन ।

यदि तपाइँले तपाइँभित्रको ‘म’ जसलाई सत्व भनिन्छ, जसले आफू छु र आफू हुँ भन्ने बोध गराउँछ, त्यसलाई बचाएर राख्नु भएको छ भने तपाइँले पनि त्यही देख्नु हुन्छ जे मैले देखेको छु ।

यदि तपाइँले तपाइँभित्रको ‘म’लाई अरु कसैको दास बनाउनु भएको छ भने तपाइँले पनि त्यही देख्नु हुन्छ जे ती ‘मेडिकल माफिया’ले देखेका छन् ।

मित्रहरु,

आज सबैभन्दा पहिला आफैंलाई प्रश्न गर्नु पर्छ– को हुन् बी एण्ड सी अस्पतालका मालिक दुर्गा प्रसाइँ ? कहाँबाट आयो दशौं अरबौ रुपिया ? कसरी बन्यो त्यो अरबौको अस्पताल ? के हो उनको हैसियत ? के हो उनको योग्यता ? एउटा मेडिकल कलेज संचालनका लागि चाहिने योग्यता के हो ? त्यसको अभावमा भोलि त्यहाँबाट उत्पादन हुने जनशक्ति कस्तो हुन्छ ? त्यसले भोलि जनस्वास्थ्य र समग्र देशको विकास र पद्धतिमा कस्तो असर पार्छ ?

देशको प्रमुख दलभित्र प्रवृत्तिको विकासले भोलि त्यो दललाई कहाँ पुर्‍याउँछ ?

हो मित्रहरु, काँग्रेस वा कम्युनिष्ट जे हुनुस्, आफूलाई सच्चा कार्यकता ठान्नु हुन्छ, देशको एउटा सचेत नागरिक मान्नु हुन्छ र यो देशलाई बचाउनु पर्छ भन्ने सच्चा राष्ट्रवादी सोच राख्नु हुन्छ भने आफ्ना नेतालाई सोध्न सक्नु पर्छ– को हुन् अजय सुमार्गी ? को हुन् उपेन्द्र महतो ? को हुन् दूर्गा प्रसाइँ ? देशविदेशका बैक खातामा कसरी जम्मा भयो त्यत्रो पौसा ? कहाँबाट आयो त्यो पैसा ? किन लुट्यौ, किन लुटायौ मेरो देश ?

एउटा इमान्दार नेताका लागि मातृभूमि र जन्मदिने माता एकै हुन् । मातृभूमिप्रति घात गर्नु भनेको आफ्नी आमलाई घात गर्नु हो ? फेरी पनि अनुरोध गर्छु, फेरी पनि आफ्ना नेतालाई प्रश्न गर्नुस्– किन यसरी घात गर्‍यौ मेरो मातृभूमिलाई ?

के सम्झौता भएको थियो, १५ औं अनशनमा ?

१) विधेयको दफा १२ संसोधन गरी ऐन प्रारम्भ भएको मितिले १० वर्षसम्म काठमाण्डौ, भक्तपुर र ललितपुरमा मेडिकल, डेन्टल र नर्सिङ विषयमा स्नातक कार्यक्रम संचालन गर्नका लागि आसयपत्र प्रदान गरिने छैन ।

२) काठमाण्डौ भित्र आगामी १० वर्ष मेडिकल कलेज खोलिने छैन ।

३) डा. केसीले उठाएका माग र केदारभक्त माथेमाको प्रतिवेदनका आधारमा विधेयक बनाउने ।

४) एउटा विश्वविद्यालयले पाँच (५) वटा मेडिकल कलेजलाई मात्र सम्बन्धन दिने व्यवस्था गरिने ।

५) आसयपत्र प्राप्त गरी पूर्वाधार पुरा गरेका शिक्षण सँस्थाका लागि दुई विकल्प दिने । पहिलो– सरकारलाई सम्पत्ति हस्तान्तरण गर्ने र दोस्रा– चिकित्सा शिक्षा आयोगले तोकेको क्षेत्रमा हस्तान्तरण गर्न चाहेमा सरकारले प्रोत्साहन गर्ने ।

६) पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको जाँचबुझ आयोगको प्रतिवेदन दुई महिना भित्र कार्यान्वयन गर्ने ।

७) स्वास्थ्य क्षेत्रलाई विकृत बनाउने त्रिविवि पदाधाकारी तथा सम्बद्ध व्यक्तिलाई कानुनी कारबाही गर्ने ।

कस्तो थियो सम्झौतापछिको खुशीको दृष्य ?

१) पन्ध्रौं अनुशनको २७ औं दिन सरकरी र सत्याग्रहीबीच नौ बुँदे सम्झौता भयो ।

२) सम्झौता प्रधानमन्त्री केपी ओलीको पहलमा भएको थियो ।

३) सम्झौतषाको अभिभावकत्व तथा कार्यान्वयको दायित्व प्रधानमन्त्री केपी ओलीले सार्वजनिकरुपमा ग्रहण गदैै ‘म जे बोल्छु, त्यो पुरा’ गर्छु भन्नु भयो ।

४) प्रधानमन्त्रीका तर्फबाट वार्ताकार विष्णु पौडेल र सुवास नेवाङ्ग हुनुहुन्थ्यो ।

५) सुवास नेवाङ्गले ‘अब डा. गोविन्द केसीले कहिल्यै अनशन बस्नु नपर्ने’ दृढता व्यक्त गर्नु भयो ।

६) नेता नेवाङ्गले ‘सम्झौतालाई संसद मार्फत कार्यान्वयन गर्ने र निष्र्कषमा पुर्‍याउने प्रतिवद्धता’ पनि व्यक्त गर्नु भयो ।

७) पन्ध्रौं अनशनमा सरकार डा. केसीबीच भएको ९ बुँदे सम्झौता संसदमा पढेर सुनाइयो ।

८) स्वागतमा ताली बजाइयो । नैतिक समर्थन गरियो ।

किन बस्नु पर्‍यो, १६ औं अनशन ?

डा गोविन्द केसी अनशन बस्न चाहेका हैनन् वाध्य भएका हुन् । डा. केसी मानव हुन् तर त्यो मानवभित्र एउटा महामानव छ । जसले तीन करोड नेपालीको दुःख देख्छ । त्यसैले उहाँलाई भोकै भुइँमा लडाउँछ ।

कुन कुन बुँदा तोडिए, मोडिए, फेरिए ? कुन कुन बुँदामा सम्झौता भन्दा धेरै बाहिर गयो सरकार ?

१) माथिको १ देखि ५ सम्म उल्लेख गरिएका सम्झौताका मुख्य भाग नै तोडमोड गरिएको छ ।

२) जसरी भए पनि झापा विर्तामोड स्थित वी एण्ड सी अस्पताललाई सम्बन्धन दिने बाटो खोलिएको छ । जहाँ स्रोत नखुलेको अरबौ रुपैयाको लगानी छ । कसको हो थाह छैन ?

३) स्वास्थ्य क्षेत्रलाई विकृत बनाउने त्रिविवि पदाधाकारी तथा सम्बद्ध व्यक्तिलाई कानुनी कारबाहीको साटो पुरस्कृत गरिदैगएको छ ।

४) एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिंदा गुणस्तर नियन्त्रण गर्न र नियमन गर्न नसकिने आयोगको सुझाव विपरित व्यापार गर्न बाटो खोलिएको छ ।

५) भनिएको छ, काठमाण्डौं उपत्यका बाहिरका अन्य शिक्षण संस्थाका हकमा यो प्रावधान लागू हुने छैन । यी संस्थाका हकमा आयोगले निर्णय गरे बमोजिम हुनेछ ।

६) आयोगले निर्णय गर्दा यस ऐनको कुनै पनि कुराले बाधा पुग्ने छैन ।

यहाँनेर प्रश्न उठ्छ संसारका कुन देशका कुन सरकारका कुन अंग, कुन आयोग, कुन नियोग, कुन विभाग ऐन–कानुनभन्दा माथि छ ? छ, कहीँ कुनै एउटा उदाहरण ?

प्रधानमन्त्रीज्यू के गर्न खोजिएको हो देशको पद्धतिलाई ? के साच्चिकै मेडिकल अस्पतालका नाउँमा ‘मानव हलालखाना’ चलाउन खोजिएको हो ? यो बुँदा लगायत १५ औं अनशनमा भएको सम्झौता विपरितको जानुले देशको स्वास्थ्य शिक्षा क्षेत्रमा झन् बढी विकृति र विसंगति निम्त्याउने निश्चित छ । चिकित्सा सेवालाई सुधारमुखी हैन, पूर्णरुपेण धन्धामूखी बनाइने छ । स्वाथ्य शिक्षा क्षेत्र धरासयी हुनेछ । जनताको पहुँचभन्दा बाहिर जानेछ ।

साथै सरकारले सम्झौता विपरित प्रस्तावित राष्ट्रिय चिकित्सा शिक्षा विधेयको बदलामा राष्ट्रिय ‘माफिया’ चिकित्सा शिक्षा विधेयक ल्याउँदैछ भन्ने स्पष्ट देखाएको छ ।

राज्यले किन चिन्‍न सकेन डा. केसीलाई ?

समस्या नै यहीँ छ । सानो छ तर जटिल भैसेको छ । किन भने, एउटा सत्याग्रहीलाई चिन्न सत्यका आँखाले हेर्नु पर्छ । सत्यका आँखा त्यतिबेला मात्र खुल्छन् जतिबेला मान्छेसँग आफ्ना आँखाले हेर्न सक्ने क्षमता हुन्छ ।

माथि पनि उल्लेख गरिसकेको छु– सत्व नै सबैभन्दा ठूलो सत्य हो । सत्व भनेको आफू हो, आफ्नो अस्तित्व हो । जो आफू छु भन्छ, जसले आफू छु भन्न्ने देख्छ, जसले आफू छु भन्ने बोध र अनुभूत गर्छ त्यसले मात्र त्यो आफ्ना आँखाले हेर्न सक्छ । त्यसले मात्र आफ्ना आँखाले देख्न सक्छ । तर राज्यले कहिल्यै डा. केसीलाई आफ्ना आँखाले हेरेन । सधैं माफियाका आँखाले हे¥यो । राज्य स्वयंले सत्व गुमाएकोले एउटा सत्याग्रहीलाई चिन्न सकेन ।

किन पूरा हुँदैनन् ती माग ?

सडक र पुलदेखि कुलो, नहर, खानेपानी, स्कुल, कलेज, विश्वविद्यालय जहाँजहाँ नेताले हात हालेका छन् सबै ध्वस्त भैसकेका छन् ।

१) सबैभन्दा ठूलो वाधक हो– मेडिकल क्षेत्रमा पनि नेतको लगानी हुनु ।

२) त्यो लगानीको स्रोत नखुल्नु ।

३) सत्ताको छायामा बसेर नियमन नगरी धमाधमा मेडिकल कलेज खोल्नु

४) मेडिकल कलेजलाई सेवा हैन, छिट्टै कमाई हुने धन्धाका रुपमा विकास गर्नु ।

५) ती संस्था गुणस्तनहिन मात्र हैन, घटिया हुनु ।

६) राज्य र राजनीतिक दलको नेतृत्व पूर्णरुपले ‘मेडिकल माफिया’ चंगुलमा फस्नु ।

७) व्यक्तिगत स्वार्थका लागि जनहितलाई सधैं वेवास्ता गर्नु ।

८) डा. गोविन्द केसीलाई व्यक्तिगत लाभको बाटोमा वाधक देख्नु र शत्रुवत् व्यवाहार गर्नु ।

९) अनशनको चरमोत्कर्षमा सम्झौता गरेर तत्कालका लागि समस्या टार्नु र त्यसबाट उम्कन खोज्नु ।

१०) देश र जनताका समस्या भन्दा पनि नेतृत्व सधै सरकार बनाउने, टिकाउने र गिराउने खेलमै व्यस्त रहनु ।

११) त्यसका लागि जुनसुकै सम्झौत गर्न पनि नहिच्किचाउनु ।

१२) राष्ट्र र जनहितका लागि फराकिलो र दूरगामी चेत र चिन्तन भएको नेतृत्व देशले कहिल्यै नपाउनु ।

१३) बहुमतको एकमाना सरकार कहिल्यै नहुनु । सधैं कामचलाउ र खिचडीजस्तो सरकार हुनु ।

१४) मूलतः आफू एउटा दल र गुटको मबात नेता हैन, सम्पूर्ण राष्ट्रको प्रधानमन्त्री हुँ भन्ने ज्ञान कुनै कुनै प्रधानमन्त्रीलाई कहिल्यै नहुनु ।

डा. केसीप्रति किन सधैं सरकारको वक्रदृष्टि ?


प्रधानमन्त्रीज्यू, लेखक नाउँका लेखन्दास बाहेकका हामी लेखक र पत्रकार नाउँका धेरै पत्रुकार बाहेकका केही पत्रकारमित्रलाई सत्तापक्षले सधैं प्रतिपक्ष मात्र हैन, शत्रुपक्ष देख्छ । सत्याग्रही डा. गोविन्द केसीलाई पनि प्रत्येक सरकारले उही आँखाले हेर्छ । सधैं शत्रुपक्ष देख्छ । काँग्रेस सरकारमा हुँदा कम्युनिष्टले उचालेको भन्छ । कम्युनिष्ट सरकारमा हुँदा काँग्रेसले बोकेको हिडेको भन्छ । प्रायशः प्रत्येक अनशसमा अनपेक्षित दबाब बढेपछि सम्झौता गर्छ तर पालन गर्ने इमान्दारिता कहिल्यै देखाउँदैन । आफूले गरेको सम्झौता सधैं आफैंले अवैधानिक ठान्छ– आफैंले जन्माएको सन्तानलाई आफैंले ‘सडकछाप लावारिस’ बनाएजस्तै बनाउँछ !

डा‍. केसीको अनशनको बल र उपलब्धि


केही समय अघिसम्म सम्पूर्ण राज्य, राज्यका अंग, सबै राजनीतिक दल ‘लोकमानयुग’का दास बनेको तथ्य कहिल्यै छुप्दैन । यदि ती सत्याग्रही डाक्टर गोविन्द केसीले लोकमान बिरुद्ध आन्दोलनको अग्नीबाँण नछोडेको भए सम्भवत अहिलेसम्म लोकमानयुग’ चलिरहन्थ्यो । चाहे त्यो दुईतिहाईको सरकार किन नहोस् । दोस्रो कार्यकाल थप्न सबै एकमत हुन्थे, जसरी नियुक्ति गर्न एकमत भएका थिए ।

यहाँनेर तात्कालीन प्रधानन्यायाधीश शुशिला कार्की पनि स्मरणीय हुनुहुन्छ । न्यायालयको सर्वोच्च पदमा रहनु भएकी एउटा न्यायाधीशको विवेकपूर्ण निर्णयले लोकमान कार्कीको वहिर्गमनलाई सजिलो मात्र बनाएन, त्यो युगलाई समाप्त गरिदियो । लोकमान प्रवृत्तिकै मेसोमा जोडिन आउने अर्का पात्र हुन् गोपाल पराजुली । पराजुलीसँगै मिल्दाजुल्दा अर्का पात्र हुन्– गोपाल खड्का । जो आज बल्ल कारबाहीमा परेका गोपाल खड्का ।

सोह्रौ औं अनशनसम्म आइपुग्दाको उपलब्धीलाई यसरी बुँदागत गर्न सकिन्छ ।

१) लोकमान युगको समाप्ति ।

२) पूर्वप्रधान न्यायाधीश गोपाल पराजुली बहिर्गमन ।

३) चरम भ्रष्टाचारको आरोप लागेका नेपाल आयल निगमका पूर्व महाप्रवन्धक गोपाल खड्कामाथि छानबिन र करबाही माग ।

४) फलतः आज गोपाल खड्का कारबाही र अनुसन्धानको घेरामा ।

५) स्वाथ्यविज्ञान प्रतिष्ठिानमा राजनीतिक हस्तक्षेपको अन्त्य ।

६) राजनीतिक पहुँचका भरमा अयोग्यलाई नियुक्त गर्ने प्रकृयाको अन्त्य ।

७) वरिष्ठता र योग्यताका आधारमा स्वाथ्य विज्ञान प्रतिष्ठानका प्रमुख लगायत डीनको नियुक्ति ।

८) राजनीतिक नेतृत्वको लगानीमा राजधानी भएका गुणस्तरहिन र मापदण्ड विपरितका संस्थामाथि रोक र नियन्त्रण ।

९) राजनीति शक्ति र पहुँचका आडमा जथाभावी सम्बन्धन दिन बन्द ।

१०) राजधानी बाहिर कागजमा खोलिने तरखरमा रहेका कतिपय मेडिकल कलेजमाथि छानबिन ।

११) क्षणिक लगानी गरेर अधिक फाइदा लिने प्रवृत्ति दुरुत्साहित ।

१२) बी एण्ड सी अस्पताललाई सम्बन्धन नदिने मन्त्रीपरिषद्को निर्णय (तर त्यही अहिले उल्टाइयो)

१३) नक्कली अस्पताल, नक्कली शैया, नक्कली डाक्टर, नक्कली प्रोफेशर (खडेबाबा), नक्कली बिरामी देखाई सिट बढाई मनलाग्दी शुल्क असुल्ने प्रवृत्तिमाथि नियन्त्रण र अनुगमन ।

१४) मनलाग्दी शुल्क लिने र पैसाका भरमा भर्ना लिने कार्य बन्द । कलेजका कोटा तथा शुल्क निर्धारण ।

१५) जेहेन्दार तथा गरीब विद्यार्थीका लागि ७५ प्रतिशतसम्म छात्रवृत्ति ।

१६) विद्यार्थीको क्षमता तथा योग्यताका आधारमा भर्ना ।

१७) अनिवार्य प्रवेश परीक्षा । (यो पनि पहिला पैसाको बिटाको भरमा हुदै थियो ।)

१८) सम्बन्धन सम्बन्धि नियमन ।

१९) स्वास्थ्य सेवा र शिक्षालाई विकेन्द्रीत गर्नु पर्ने माग ।

२०) सातै प्रदेशमा कम्तिमा एक सरकारी मेडिकल कलेज स्थापना गर्नु पर्ने निर्णय ।

प्रधानमन्त्री ओलीसमक्ष केही प्रश्न

प्रधानमन्त्रीज्यू,

१) एउटा सत्याग्रही, जो एउटै विषय र वस्तुका लागि सोह्रौं पटक अनशनमा छ, त्यसका विरुद्ध एउटा भाडाको मानिसलाई अनशन भनेर भुइँमा लडाउनु वास्तवमै अनशन हो कि अन्टसन्ट हो ?

२) सरकारले पटकपटक गरेको सम्झौता वैधानिक दस्तावेज हो कि हैन ? हो भने त्यसको नैतिक दायित्व ग्रहण गरेर पुरा किन गरिदैन ?

३) वैधानिक हैन भने सरकारले अवैधानिक कार्य किन ग¥यो ? अवैधानिक कार्य गर्ने सरकारलाई वैधानिक मान्ने कि नमान्ने ?

४) डा. गोविन्द केसीले उठाएका माग पुरा गर्छ भनेर सरकारले गरेको यो निर्णय वैधानिकता पाउँदैन भने त्यही सरकार गरेका अरु यावत् निर्णयले कसरी वैधानिकता पाउँछन् ? त्यो सरकारले गरेका सबै निर्णय स्वतः अवैधानिक भए कि भएनन् ?

५) यो अवस्थामा सरकार स्वयंमको वैधानिकता के हुने ?

६) बी एण्ड सी अस्पताललाई सम्बन्धन नदिने भनेर मन्त्रीपरिषद्ले गरेको निर्णय किन उल्टाइयो ?

७) आज त्यसलाई किन उल्टाइयो ?

८) निर्णय उल्ताएर त्यही संस्थालाई सम्बन्धन दिनका लागि यो हदसम्मको बेइमानी किन गरियो ? यो आफैंमय अपराध हो कि हैन ?

९) ‘भ्रष्टाचार गर्दिन, भ्रष्टाचारीको मुख पनि हेर्दिन’ भन्नु भएको हो कि हैन ?

१०) हो भने, झापाको बी एण्ड सी अस्पताल लगायत अन्य धेरै ‘कथित मेडिकल कलेजमा भएको लगानीको स्रोत के हो, सरकारले प्रमाणित किन गर्दैन ?

११) ‘मेरा छोराछोरी छैनन् जे गर्छु देश र जनताका लागि गर्छु’ भन्नु भएको हो कि हैन ?

१२) हो भने के जनताले प्रधानमन्त्रीज्यूबाट जवाफ पाउन सक्छन्, डा. केसीले उठाएका माग मध्ये कुनचाहीँ देश र जनताको हित बिपरित छन् भनेर ?

१३) तपाइँले भन्ने गरेका समृद्धि र सुशासनका लागि के डा. केसीको आन्दोलन सहयोगी छ कि छैन ? छैन भने कारण दिन सक्नु हुन्छ ?

१४) के यो विधेयक डा. केसीकै अनशनको बलमा आएको हो कि हैन ?

१५) हैन भने खारेज किन गर्नु हुन्न ?

१६) हो भने पटकपटक सम्झौता गरेर पनि फेरी किन बेइमानी गर्ने ? फेरी किन यत्रो षडयन्त्र गर्ने ?

१७) आज संसदलाई आदेश दिन सक्दिन भन्नु भो तर त्यही संसदमा हिजो त्यही सम्झौता पढेर किन सुनाउनु भो ? किन ताली बजाएर स्वागत गर्दै सहमति जनाउनु भो ?

१७) तर के साच्चिकै तपाइँले आदेश दिन सक्नु हुन्न ? के देशको संसद साच्चिकै विधि र विवेकमा चलेको छ ?

१८) चलेको भए डा. गोविन्द केसीले सोह्रौं पटक अनशन बस्नु पर्थ्यो ?

१९) डा. केसीसँग भएका सम्झौता कार्यान्वय गर्न संसदको सर्वोच्चताले छेक्क भने ‘वाईड बडी घोटाला’का विषमा त्यही संसदको उस्तै निकायले गरेको निर्णय किन ठाडै अमान्य भयो ? किन कसैलाई कारवाही भएन ?

२०) त्यही संसदमा एउटा ‘अपराधी’ (जसलाई देशको अदालतले अपराधी करार गरेर जेल हालेको छ । जसलाई प्रधानमन्त्री स्वयंले हिजो अगराधी धोषित गर्नु भएको थियो ।) रेशम चौधरीलाई किन शपथ खुवाइयो ?

२१) जनप्रतिनिधिको सपथ खुवाएर किन फेरि जेल हालियो ?

२२) जनताको सर्वोच्चता बोकेको त्यो संसदले भन्न सक्छ– रेशम चौधरी जनप्रतिनिधि हुन् कि अपराधी ?

२३) त्यो सर्वोच्च संसदले कारण दिन सक्छ– रेशम चौधरी अपराधी हुन् भने किन शपथ खुवाइयो ? उनी अपराधी हैनन् भने किन जेल हालियो ?

२४) प्रधानमन्त्रीज्यू, खै संसदको सर्वोच्चता ?

२५) यो सबै संसदको सर्वोच्चता हो कि सत्ताको दासता ?

आज चोरको पर्यायवाची शब्द नेता बनेको छ । त्यसै बनेको हैन । देशमा ब्रम्हलूट चलेको छ । सिंहदरबाभित्र टुकुचा बगेको छ । के यसैलाई सुशासन मान्ने ?

तर सम्पूर्ण मागको श्रेयको भागिदार केपी ओली !

डा. गोविन्द केसीले उठाएका मागलाई उपेक्षा गरेर हिजोको माओवादी र एमालेका केही नेताको अनैतिक लाभसँग सरकारले आफ्नो नैतिक हैसियत साट्दै छ । यो विनिमयसँगै सरकार अपवित्र र अनैतिक पनि बन्दैछ ।

डा. केसीले उठाएका माग पुरा नगरे त्यसको सम्पूर्ण लाभ केही सिमित व्यक्ति र केही नेताको भागमा जान्छ भने सम्पूर्ण हानी प्रधानमन्त्री, सिंगो सरकार र पुरै दलका भागमा आउँछ । जसको क्षति अपुरणीय हुन सक्छ ।

डा. गोविन्द केसी एउटा व्यक्ति हुन् तर त्यही एउटा व्यक्तिको निष्ठापूर्ण प्रयासमा भएको निशस्त्र आन्दोलनको प्रभाव आज देशबाहिरसम्म फैलिएको छ । डा. केसीको आन्दोलनको पृष्टभूमिलाई केलाएर वर्तमानसम्म आउँदा एउटा फरक चित्र कोरिएको छ । नेपालमा भएका ठूल्ठूला आन्दोलन भन्दा बढी प्रभावकारी, जनसहभागितमूलक र दूरगामी महत्वको आन्दोलनका रुपमा उभिएको छ ।

१६ औं श्रृंखलामा आइपुग्दा जनताको साथ र सहभागिता झन्भन्दा झन् बढ्नुले यो आन्दोलनको आवश्यकतालाई मात्र पुष्टि गरेको छैन, यो आन्दोलन विसुद्ध जनताको आन्दोलन हो भन्ने औचित्यताको समेत पुष्टि गरेको छ ।

अन्य क्षेत्रजस्तै देशको स्वास्थ्य क्षेत्र पनि अस्तव्यस्त हुदै गर्दा हिंसा, उदण्डता र प्रतिषोधबाट पूर्ण अलग रही, राष्ट्र« र सार्वजिनक सम्पत्तिमा कुनै क्षति नपु¥याई डा. केसीले सत्याग्रह आन्दोलन सुरु गर्नु भयो । तर एकव्यक्तिको प्रयासबाट देशको स्वास्थ्य सेवामा आएको सुधारको एक भाग पनि कुनै राजनीतिक दलको प्रयासले आजसम्म कुनै क्षेत्रमा हुन सकेको छैन । बरु ध्वस्त भएको छ ।

एउटै मान्छे, एउटै विषयमा यति धेरैपटक, यति धेरै अनशन बसेको इतिहास सायद संसारमै पहिलो होला । अनशनका यी अध्याय नेपालको मात्र हैन, विश्वकै अनशनको इतिहासमय पनि लेखिन्छ । भोलिको इतिहासले महात्मा गान्धीपछि अर्का गान्धीको रुपमा डा. गोविन्द केसी चिनाउने छ ।

अतः सरकार आफूले गरेका प्रतिवद्धताप्रति इमान्दार हुन सके यो सबैको पहिलो श्रेय प्रधानमन्त्री केपी ओलीलाई जानेछ । किन भने भोलि लेखिने इतिहासले डा. केसीका माग कसका पालामा पुरा भयो भनेर खोज्छ, त्यही लेख्छ । दोस्रो श्रेय नेकपा दललाई जानेछ । नेताहरुलाई जानेछ ।

प्रधानमन्त्रीज्यू, नचुकाउनु होस् महान् बन्ने अवसर

समयले सबैलाई समय दिन्छ, जसलाई अवसर पनि भनिन्छ । सुनौलो अवसर कहिल्यै आउँदैन, अवसरलाई नै मान्छेले सुनौलो बनाउने हो । सुनौलो अवसरमा परिणत गर्ने हो । अहिल त्यो अवसर आएको छ । त्यो अवसरलाई प्रम ओलीले सुनौलो बनाउन सक्नु हुन्छ ।

जनताका डाक्टर गोविन्द केसीले उठाएका मागप्रति यो सरकार सकारात्मक भयो भने वर्तमानले मात्र हैन, भोलि लेखिने इतिहासले समेत प्रधानमन्त्री ओलीको जयजयकार मनाउने छ । हरेक वर्ष दीपावली गर्ने छ । ओली महान् भनेर लेख्ने छ ।

समयले केपी ओलीलाई एकसच्चा राजनेताको शिरपोश पहि¥याउँने छ । नेपालआमाको सुपात्रको रुपमा सधैं चिनाउँने छ । तर प्रधानमन्त्रीज्यू, ती सत्पुरुषको सत्याग्रहको सर्वकालीन असरलाई नजरअन्दाज गरेर उपेक्षा गरिए वर्तमानले मात्र हैन, भविष्यले समेत माफ गर्ने छैन ।

डा. केसीको आन्दोलनको पृष्ठभूमिलाई अब कसैले मेटाउँछु भन्दा पनि मेटाउन सक्दैन । सम्पूर्ण शक्ति लगाएर त्यसको प्रभाव रोक्छु भनेर पनि रोक्न सक्दैन । त्यो कहिले पूर्व कहिले पश्चिमबाट बग्ने हावाजस्तो भएको छ । हावालाई छेक्न सकिन्छ तर रोक्न सकिँदैन ।

बुझ्न के जरुरी छ भने डा. केसी मानवीय चेतनाको एउटा त्यस्तो बत्ती भएर जलिरहेका छन् जुन अब कहिल्यै निभ्दैन । मानवीय संवेदनामा, मानवीय चेतना र मनमस्तिष्कमा उनी बलिरहने छन् ।

रक्षा गर्नुस्, निष्ठाका र मानवताका ती पुजारीको । डा. केसी बाँच्नु भनेको नैतिकता–निष्ठा, विधि–विधान र कर्तव्यपरायणता मात्र बाच्नु हैन, मावनता पनि बाँच्नु हो । नत्र तपाइँको राज्यलाई राक्षसीराज्य भनेर संसारले चिन्ने छ । सत्याग्रहको इतिहासमा राक्षसीराज्य भनेर लेखिने छ ।

डा. केसीले अँगालेको सविनय अवज्ञा र निशस्त्र प्रतिरोधलाई अपहेलना गरेर क्रुर यातना दिनु भनेको त्यो राज्यमा दानवीय प्रवृत्ति हावी हुनु हो ।

प्रधानमन्त्रीज्यू, जीवनमा कठीन संघर्ष गनु भएको छ । कठीन दिनहरु बिताउनु भएको छ । धेरै घेरा र चक्रब्यूहहरु तोड्नु भएको छ । एकपल्ट फेरी साहस गर्नुस्, फेरि तोड्नु ती घेरा, जुन तपाइँका बाधक बनेर ओरिपरी ठडिएका छन् ।

जनताका नेता भनेर लेख्न वाध्य बनाउनुस् भोलिको इतिहासलाई । एक मानवतावादी नेता भनेर भन्न वाध्य गराउनुस्, यो संसारलाई । हिरो बन्नुस, सर्वकालीन हिरो बन्नुस् । जीवनपछिको अनन्त जीवन बाँच्नुस् । नेपाली जनजनमा, मनमनमा बाँच्नुस् । दूर्जन हैन, महान् बन्नुस् । हृयदमा बस्नुस् ।

सत्याग्रहमा कोही कसैको दुश्मन हुँदैन । प्रधानमन्त्रीले आफूलाई पनि डा. केसीको दुश्मन ठान्नु हुँदैन । आफूले पनि डा. केसीलाई दुश्मन मान्नु हुँदैन। इतिहास लेखिनेमात्र हैन, इतिहासले लेख्छ पनि । इतिहास लेख्न र लेखाउन एउटा त्याग गर्नु पर्छ, एउटा साहस गर्नु पर्छ ।

शुभकामना, प्रधानमन्त्री केपी ओली ज्यू !

माघ ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्